सडक अतिक्रमण क्षेत्र हटाउन सुरु
Thursday, March 24th, 2022, 9:43 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, १० चैत
डिभिजन सडक कार्यालय नेपालगन्जले सडक क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु बिहीबारदेखि भत्काउन सुरु गरेको छ । डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीका अनुसार नेपालगन्ज–सुर्खेत खण्डमा रहेको जानकी गाउँपालिकादेखि अतिक्रमण हटाउन सुरु गरिएको हो ।
मंगलबार नेपालगन्जको जमुनाहदेखि कोहलपुरसम्मको सडक क्षेत्रमा मापदण्ड विपरित अतिक्रमण गरेर बनाइएका संरचना हटाउने निर्णय भएको संगै सडकले काम सुरु गरेको छ । जिल्ला प्रशासन बाँकेमा सिडियो सूर्यबहादुर खत्रीको अध्यक्षतामा विभिन्न पाटीका व्यक्ति, सुरक्षा निकायका प्रमुख, विभिन्न स्थानीय प्रमुखहरुको उपस्थितिमा सो निर्णय गरिएको थियो ।
सुरुमा सडकले कोहलपुुुर नगरपालिका क्षेत्रबाट संरचना हटाउने काम थालेको थियो । सडकले बिहीबार बिहान डोजरसहित कोहलपुर नगरमा अतिक्रमण हटाउन पुगेको थियो । सो समयमा स्थानीय व्यापारी एवम् कोहलपुर उद्योग वाणिज्य संघको अनुरोधमा एक हप्ताको समय प्रदान गरिएको थियो ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल व्यापारीहरुको समस्यालाई मध्येनजर गर्दै एक हप्ताको समय दिने निर्णय गरिएको बताए । ‘हामीहरु विकासको वाधक होइनौं । तर एक्कासी घर टहरा भत्काउँदा व्यापारीहरुलाई समस्या पर्ने भएकाले आफैंले यसको म्यानेज गर्ने एक हप्ताको समय सिडियो साबसँग मागेका हौं ।’
सडकले कोहलपुरपछि कोहलपुर–जानकी सिमानाबाट संरचना हटाउँन सुरु गरेको छ । बिहीबारमात्रै सडकले नौ स्थानका संरचना हटाएको सब–इन्जिनियर राजेन्द्र पाण्डेले बताए । पाण्डेका अनुसार अतिक्रमण हटाउनका लागि सुरक्षा बल, सडक कर्मचारी गरी १५ बढीको समूह कार्यरत रहेको छ ।
सडकले जानकी हुँदै नेपालगन्जको जमुनाह नाका सम्मका अतिक्रमण संरचना हटाउने योजना रहेको पाण्डेले बताए ।
सार्वजनिक सडक ऐन २०३१ ले मुख्य राजमार्गको मध्यबिन्दुदेखि २५ मिटर दायाँ बायाँ मुख्य सडक र त्यसको दुबै तर्फ ६–६ मिटर क्षेत्र भित्रमा कुनैपनि संरचना निर्माण गर्न नदिनेगरी निषेध गर्ने एवं त्यस्ता संरचना निर्माण भएमा सडक विभागले हटाउन सक्ने व्यवस्था गरेको छ ।
यसअघि डिभिजन सडक कार्यालय नेपालगन्जले सुर्खेत रोडको सडक क्षेत्रको अतिक्रमण हटाउन विभिन्न व्यक्ति तथा संस्थालाई अल्टिमेट पनि दिएको थियो । तर त्यसको कसैले कार्यान्वयन नगरेपछि सडक अतिक्रमण हटाउन सडक बाध्य भएको हो ।
यसअघि सुर्खेत रोडको सडक क्षेत्रमा अतिक्रमण गरिएको विषयमा कालपृष्ठले पुस १५ र २२ माघ १४ लगायतका समयमा समाचार प्रकाशित गरेको थियो । साथै समाचार प्रकासनसँगै सो क्षेत्रमा घर र टहरा पनि निर्माण भई रहेको पाइएको थियो ।