अनुसन्धान
Saturday, March 26th, 2022, 12:46 pm
Kalpristha
‘डुङ्गडुङ्ती के गन्हायो ?’
देवसभामा देवादी देव महादेवले आफ्ना सहकर्मीहरुसामु नाक खुम्च्याउँदै जिज्ञासा राखे ।
साँच्ची देवभूमिमा यसरी गन्हाउने वस्तु के हुनसक्छ ? सबै देउदेउताहरु गहिरो चिन्तनमा डुबे ।
‘भ्रष्टाचारको जस्तो गन्ध आयो, महादेव ।’
सभाका एक सदस्यले अनुमान गरे । हो न हो जस्तो लाग्यो, सबैलाई । स्वर्ग लोकमा पनि भ्रष्टाचार ! यस विषयमा विहङ्गम छलफल भयो । कुनै निस्कर्षमा पुग्न सकिएन । अन्तमा देवसभाले देवदूतको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान समिति गठन गर्याे ।
भ्रष्टाचारी को हो ? छुट्टयाउनु फलामका चिउरा चपाउनु बराबर थियो । एउटा उपाय फुर्याे । मर्त्यलोकमै गएर आधारभूत रुपमै अनुसन्धान गर्ने ।
अनुसन्धान समिति मर्त्यलोक झर्याे । छनौटमा मर्त्यलोकको नेपाल खाल्डो पर्याे । समितिको बैठक बस्यो । अनुसन्धानको मापदण्ड तयार गरियो । शीघ्र कार्यान्वयनमा जाने निर्णय भयो ।
सबै तह र तप्काका मनुष्यहरुलाई बोलाइयो । गोलमेच सम्मेलन शुरु भयो । देवदूतले सबै सहभागीहरुका आँखामा पट्टि बाँध्न लगाए । उनले नैतिकता र सदाचारका बारेमा लामै प्रवचन दिए । सहभागीहरुलाई थाहै नदिई उनीहरुका निधारमा आ–आफ्नो परिचय लेखिदिए ।
नेता, मन्त्री , साँसद, प्राध्यापक, वकिल, न्यायधिस, कर्मचारी, उद्योगी , व्यापारी,ठेकेदार, शिक्षक र जनता सहभागी थिए ।
सबैलाई आँखाको पट्टि खोल्ने आदेश भयो । आँखाको पट्टि खोल्दा अनौठो दृश्य देखियो । यत्रतत्र जताततै सुन चाँदी, हिरा जवाहरत, रुपैयाँ पैसा छरिएका थिए ।
सहभागीहरु आ–आफ्नो हैसियत अनुसार गिद्धले सिनो लुछे झै लुछाचुँडी र छिनाझपटीमा व्यस्त थिए ।
तर बिचरो जनता भने उभिएर रमिता हेरिरहेको थियो ।
कोहलपुर