बालबालिकालाई खोप लगाउने तयारी
Saturday, March 26th, 2022, 9:01 pm
Kalpristha
स्वास्थ्य कार्यालय बाँके पाँच वर्षदेखि माथिका बालबालिकालाई कोभिडविरुद्धको फाइजर बायोएनटेक खोप लगाउने तयारी गरेको छ । सोही अनुरुप शनिबार कार्यालयले बाँकेमा खोपको भण्डार, ढुवानी र प्रयोगसम्बन्धी अभिमुखीकरण तथा योजना गोष्ठी गरेको छ ।
नेपाल सरकारले पाँच वर्षदेखि माथिकालाई कोभिडविरुद्धको फाइजर बायोएनटेक खोप लगाउने तयारी गरेसँगै बाँकेले पनि तयारी सुरु गरेको हो ।
स्वास्थ्यका लागि सक्षम प्रणालीको आर्थिक र प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय, बाँकेले स्वास्थ्य संस्थाका खोप फोकल पर्सन, प्रत्येक वडाका खोप कार्यकर्तालाई अभिमुखीकरण गरेको हो । स्वास्थ्यका लागि सक्षम प्रणालीकी रोशनी पुनले नौ चरणमा गरेर खोप फोकलर्सन र वडा वडाका खोप कार्यकर्तालाई अभिमुखीकरण गरिएको जानकारी दिए ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले अभिमुखीकरणमा सहजीकरण गरे ।
सरकारले उमेर समूह छुट्याएर कोभिडविरुद्धको खोप दिइरहेको छ । १२ वर्षदेखि माथिकालाई खोप दिइसकेको सरकारले अब ५ वर्षमाथिकालाई खोप दिने तयारी गरेको छ । नेपाल सरकारले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप किनिसकेकाले त्यो आउने वित्तिकै खोप लगाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।