प्रतिभावान खेलाडी उत्पादन गर्न खजुरामा फुटबल प्रतियोगिताको तयारी हुँदैं
Saturday, March 26th, 2022, 9:05 pm
Kalpristha
खजुरामा चैतको अन्तिम साता अन्तर विद्यालय यु-१२ फुटबल प्रतियोगिता हुने भएको छ । खजुरा गाउँपालिका-२ मा हुने प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका खेलाडीको सहभागिता रहनेछ । खजुरा युनाइटेड एफसीले आयोजना गर्ने प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहनेछ ।
आयोजक खजुरा युनाइटेड एफसीका अनुसार खजुरा गाउँपालिकामा चुनौतिका रुपमा देखिएको लागूपदार्थ दुव्यर्सनीलाई न्यूनीकरण गर्न र प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
कुलतमा फसेका युवाहरुको सामाजिक कार्यमा लगाउन र फुटबलको माध्यमबाट समाजको विकास गर्ने लक्ष्य सहित जुनियर स्तरको प्रतियोगिता गर्न लागेको खजुरा युनाइटेड एफसीका उपाध्यक्ष सुशिल मल्लले बताए । उनले भने,‘फुटबलमा समाज भएका विकृतीलाई पनि कम गर्न सहयोग गर्छ । खेलकुदले मानिसलाई शरीरलाई स्वस्थ बनाउँदै भविष्य निर्माण महत्वपुर्ण भुमिका खेल्ने भएकोले खजुरामा हामीले जुनियर स्तरबाट प्रतियोगिता गरेर खेलाडी छनोट गर्ने योजना बनाएका छौं ।’
पुर्व फुटबल खेलाडी समेत रहेका उपाध्यक्ष मल्ल हाल रोजगारीका सिलसिलामा जापानमा छन । बिदेशमा भएपनि उनले खजुरा क्षेत्रमा खेलकुद तथा सामाजिक कार्यमा सक्रिय भएर योगदान गर्दै आएका छन ।
जुनियर स्तरको प्रतियोगितालाई शुभराशी एजुकेशन एकेडेमी र अमेरिकाबाट अनिमेस गुरुङ र बाँके बर्दिया मैत्री समाज जापानले प्रायोजन गर्ने उपाध्यक्ष मल्लले बताए ।
प्रतियोगिताबाट १२ वर्ष मुनिका उत्कृष्ट खेलाडीहरुलाई दक्ष प्रशिक्षकबाट नियमित प्रशिक्षण गराउने उद्देश्य राखिएको छ ।
प्रतियोगितामा छनौट भएका २४ जना खेलाडीहरुलाई जुन विद्यालयमा अध्ययरत छन्, सोही विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था मिलाउने आयोजकले बतायो । यसका साथै प्रतिभावान खेलाडीलाई रिमझिम चोकस्थित गौरीनगरको शुक्र भलिबल स्टेडियममा रहेको खेल मैदानमा टे्रनिङ सेन्टर स्थापना गरी ४ वर्षसम्म नियमित प्रशिक्षण दिने योजना रहेको आयोजक क्लबले बताएको छ ।
खजुरा गाउँपालिका र बाँके बर्दिया मैत्रि समाज जापानको प्रायोजन रहेको यस प्रतियोगितामा बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने छ ।
चैत्र २२ देखि संचालन हुने उक्त प्रतियोयगतामा प्रथम र दोस्रो हुने टोलीले क्रमशः रु. २५ हजार र १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खजुरा युनाइटेड एफसीका महासचिव दिपक रानाले बताए ।