सामाजिक सुरक्षा भत्ता : झन्झटिलो प्रक्रिया
Sunday, March 27th, 2022, 10:51 am
Kalpristha
यसरी दिन दिनै एउटै काममा नेपालगन्ज आउनुभन्दा गाउँपालिकाले आफ्नो वडाबाट वृद्ध भत्ता वितरण गरे भए सजिलो हुने ज्येष्ठ नागरिकको भनाई छ ।
रजनी योगी
स्थानीय निकायले ज्येष्ठ नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई बैंकमा जानु पर्छ । तर भन्झटिलो बैंकिक प्रक्रियाका कारण ज्येष्ठ नागरिकले दुःख पाउने गरेका छन् ।
बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ता लिन पालिकादेखि नेपालगन्ज ज्येष्ठ नागरिक आउने गर्दछन् । तर उनीहरुले नेपालगन्ज आउँदा पनि समयमा भत्ता बापतको रकम पाउने गरेका छैनन् । समस्या हो बैंकमा टोकन प्रणालीले ।
बैंकले एक दिनमा ५० जनालाई मात्र भत्ता दिने गरेको छ । तर दिनभरी पालो कुरेर बसेर पनि खाली हात फर्केर जानुपर्ने बाध्यता ज्येष्ठ नागरिकहरुमा देखिएको छ ।
जानकी गाउँपालिका–५ का ६५ वर्षीय दिलभारी रैदास २ घण्टा अटो रिक्सा चढेर नेपालगन्ज आउँदा पनि समयमा भत्ता नपाएको गुनासो गर्छन् । उनी भन्छन्, ‘एकै दिनमा भत्ता पाउन सकिँदैन । यसरी दैनिक नेपालगन्ज आइरहनु पर्ने हुँदा पाएको भत्ता पनि आउने जाने भाडा र खानामा सकिने गर्छ ।’
बैंकको ५० जनालाई मात्र एकदिनमा भत्ता दिने प्रक्रियाले गर्दा ज्येष्ठ नागरिकहरु बिहानैदेखि बैंकमा अगाडि पालो कुरेर बस्ने गरेका छन् । कोही ज्येष्ठ नागरिक त बिहानै ३÷४ बजे उठेर पनि आउने गरेको छन् ।
‘हिड्नु पर्छ खानाको ठेकान हुँदैन । १० नबजी बैंक खुल्दैन, बंैक खुलेपनि पालो पाइदैंन कहिले काँही भोकै पनि घर फकिर्नु परेको छ,’ मेगा बैंकमा भत्ताका लागि बिहानै आएका एकजनाले भने ।
उनले थपे, ‘यहाँ बृद्ध भत्ता लिन आउने ज्येष्ठ नागरिक ६० देखि ९० वर्षसम्मका छन्, कोही त हिड्न नसक्नेहरु पनि छन् उनीहरुलाई घरबाट मोटरसाइकलमा राखेर नेपालगन्जसम्म ल्याइन्छ भने त्यसपछि उनीहरु लौरीको सहायताले हिड्ने गर्छन् ।’
सामाजिक सुरक्षा भत्तामात्रै लिन आउन थालेको तीनसम्म धाउनु परेको ज्येष्ठ नागरिकहरुले बताएए ।
सामाजिक सुरक्षा भत्ता लिन दैनिक आउनु दुखद कुरा हो, यती दुख नगरे भत्ता नै नपाइने अर्का एकजना ज्येष्ठ नागरिकले दुख व्यक्त गरे ।
यसरी दिन दिनै एउटै काममा नेपालगन्ज आउनुभन्दा गाउँपालिकाले आफ्नो वडाबाट वृद्ध भत्ता वितरण गरे भए सजिलो हुने ज्येष्ठ नागरिकको अपेक्षा छ ।
बाँकेका स्थानीय निकायले आफ्ना वडामा पाएक पर्ने बैंकहरुमा ज्येष्ठ नागरिकका भत्ताका लागि व्यवस्था गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाकी उप–मेयर उमा थापामगर सरकारको नीति अनुसार बैंकमा सामाजिक भत्ताका लागि प्रक्रिया गरिएको बताउँछिन् । उनले भनिन्, ‘पहिला वडा–वडाबाट भत्ता वितरण गर्दा रकमको हिनामिना भएको खबर धेरै आएपछि सरकारले बैंकिक प्रणालीबाट सुरक्षा वितरण गरेको हो । तर पनि यसले ज्येष्ठ नागरिकलाई समस्या परेको छ । बैंकहरुले सिमित मात्रामा ज्येष्ठ नागरिकलाई भत्ता वितरण गर्ने भएकाले उनीहरुमा समस्या देखिएको हो ।’