१० दिनमा १० काम गरेका छौंः अध्यक्ष थापा
Monday, March 28th, 2022, 11:34 am
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १३ चैत
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाले छोटो समयमा धेरै काम गरेको बताएका छन । आइतबार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाले पत्रकार सम्मेलन गर्दै १० दिनमा १० वटा काम गरेको बताए ।
विकास समितिका अध्यक्ष किशोर थापाले कार्यक्रममा आफूले कार्यभार ग्रहण गरेको दिनदेखि बिदाको दिन बाहेक अन्य १० दिनको अवधिमा १० काम गरेको बताए । उनले फागुन २५ गते अस्पताल विकास समितिको अध्यक्षको रुपमा कार्यभार सम्हालेका थिए ।
थापाले पत्रकार सम्मेलनमा आफूले पहिलो निर्णय नै खजुरावासीका लागि गरेको बताए । उनले भने, ‘खजुरामा क्यान्सर अस्पतालको सुरुवात गर्ने खजुराबासी हुन । खजुराबासीले क्यान्सर अस्पतालको लागि आर्थिक मात्रै नभएर आफ्नो गाँस गाटेर अन्नदान गरी अस्पताललाई यहाँसम्म ल्याए । सबै खजुराबासीको योगदानलाई कदर गर्न मेरो टिमले खजुराबासीलाई ओपिडि सेवा निःशुल्क गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै खजुराबासीले उक्त सेवा निःशुल्क लिनु भैरहेको छ ।’
अस्पताल विकास समितिले कार्यालय सहयोगीबाट सुरु गरेको छलफलबाट अस्पताललाई नयाँ योजनाका साथ अगाडी बढाउने योजना बनाएको छ ।
अस्पतालका लागि आवश्यक परेका पुर्वाधार तथा उपकरण खरिदका लागि मन्त्रालयले रोक्का राखेको ३० करोड रुपैयाँ रकम निकासा गर्न विकास समिति सफल अध्यक्ष थापाले बताए ।
चैत्र १ गते विकास समितिको दोस्रो बैठकले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको संस्थापक सदस्यहरुलाई ७५ प्रतिशत, साधारण र आजीवन सदस्यहरुलाई ५० प्रतिशत उपचारमा छुट दिने निर्णय गरेको छ । त्यस्तै प्रखरका सदस्यहरुसँग विकास समितिले बैठक आयोजना गरी सल्लाह र सुझावसमेत संकलन गरेको थियो ।
समितिले संस्थापक तथा आजीवन सदस्यहरुको परिचयपत्र निर्माण गरी वितरणसमेत गरेको छ ।
समितिले अस्पतालमा भौतिक प्रगतिलाई निरन्तरता दिन र अत्यावश्यक पुर्वाधार विकासको लागि समेत अस्पताल विकास समितिले कार्य योजना अगाडि बढाएको छ । समितीले अस्पताल हातामा हाईमास्ट लाइट, अक्सिजन प्लान्ट, सेवाग्राहीको लागि अत्याधुनिक शौचालय निर्माणको निर्णयसहित बोलपत्र आव्हान पनि गरी सकेको छ ।
त्यस्तै लिनायक मेसिन राख्ने बंकर भवनको निर्माण कमसल भएकोले फाइल अध्ययन प्रक्रिया अगाडि बढाउदै रिनोभेसनको लागि बोलपत्र आव्हानसमेत भैसकेको अध्यक्ष थापाले जानकारी दिए । उनले लिनायक मेसिन राख्ने बंकर भवनको अवलोकन गराउँदै उक्त भवन मेसिनका लागि उपयुक्त नभएको बताए ।
त्यसैगरी समितिले कर्मचारीको हकहित र सुविधाको लागि कर्मचारी प्रशासन सम्बन्धि नियमावली तर्जुमा कार्य अगाडि बढाएको छ । अध्यक्ष थापाले अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गर्दा प्रखर परोपकार मिसन संस्थामा रहेको १० करोड ६७ लाख रुपैयाँको हर हिसाव चुस्त दुरुस्त भए नभएको हेरिदिन संस्थापक सदस्य ज्युहरुले गरेको अनुरोधलाई समय अभाव कारण सम्बोधन गर्न नसकिएको बताए ।
उक्त रकमका विषयमा परोपकार मिसन संस्थाका महासचिव राजेन्द्र आचार्यले रकम हिना मिना भएको एकिन नभएको बताए । गठन आदेश मार्फत सुशील कोइराला प्रखर अस्पताल सरकारको स्वामित्वमा गएको र सो समयमा रकम पनि सरकारको स्वामित्वमा गएको आर्चायले बताए ।
थापाले छोटो अवधिमा अस्पतालको बृहत विकासको लागि केही गर्ने प्रयास गरेको बताए । उनले आफ्नो १० दिने कार्यदिनमा कर्मचारीहरुको विशेष सहयोग र खजुरावासीको अपार स्नेह पाएको बताए ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार अस्पताल समितिको अध्यक्षमा थापा नियुक्त भएका थिए । र सर्वोच्च अदालतले आन्तरिम आदेश जारी गर्दै पुनःअस्पतालको अध्यक्षमा भक्त बहादुर केसीलाई पदमा रहेर काम गर्ने निर्णय गरेको छ ।
अदालतको उत्प्रेषण आदेशलाई आफूहरुले लोकतान्त्रिक चरित्रअनुसार स्वीकार गरेको
थापाले बताए ।