त्रिकोणात्मक सिरिजमा नेपालको विजयी सुरुवात
Monday, March 28th, 2022, 8:39 pm
Kalpristha
नेपाली क्रिकेट टिमले त्रिकोणात्मक ट्वान्टी–२० अन्तराष्ट्रिय सिरिजमा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमानेपालले पपुवा न्युगिनी (पिएनजी) लाई १५ रनले हराउँदै विजयी सुरुआत गरेको हो । अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ । सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।
सोमबारको जितसँगै २ अंक जोडेको नेपालले पिएनजी विरुद्धको एकदिवसीय सिरिजमा भोगेको हारको बदला समेत लिएको छ । नेपालले पिएनजी विरुद्ध दुइ खेलको एकदिवसिय सिरिजमा २–० ले हारको सामना गरेको थियो । सोमबार नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनायो ।
१२ ओभरमा ७ विकेट गुमाएको पिएनजीलाई नोरमान भानुअले आक्रामक इनिङ खेल्दै पीएनजीलाई जित नजिक लगेका थिए । भानुअले ५२ रनको आक्रामक अर्धशतकीय इनिङ खेल्दा पिएनजी जित नजिक पुगेको थियो ।
१९ औं ओभरको पाँचौं बलमा एलबीडब्लु धरापमा पार्नुअघि भानुअले २९ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ५२ रन बनाए ।
१ सय रनमा ७ विकेट गुमाएको पिएनजीलाई भानुअ र चाड सोपरले ६७ रनको आक्रामक साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । इनिङ दोस्रो ओभरमा करण केसीले ओपनर टोनी उरालाई आउट गर्दै नेपाललाई सानदार सुरुआत दिलाए ।
उरालाई ५ रनमा लोकेस बमको हातबाट क्याच गराए । अर्का ओपनर लेगा सिएकालाई सोमपाल कामीले आरिफको हातमा क्याच थमाए ।
आक्रामक ब्याटिङ गरेका लेगाले १० बलमा ३ चौका र १ छक्काको मद्दतमा २१ रन बनाए । पिएनजीका कप्तान असद भाला १४ बलमा ७ रन बनाउँदा सन्दीप लामिछानेले आउट गरे । चाल्र्स अमिनीलाई २२ रनमा अविनास बोहराले बोल्ड गर्दा सेसे बाउलाई ३० रनमा सन्दीपले एलबीडब्लु धरापमा पारे । रिले हेकुरे ३ रन बनाउँदा जासन किलाले रनको खाता खोल्न सकेनन । चाड सोपरले १३ रनको अविजित इनिङ खेले । नेपालको जितमा करण र सन्दीप लामिछानेले ३–३ विकेट लिए । अविनास बोहराले २ विकेट र सोमपालले १ विकेट हात पारे । यस अघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । आक्रामक सुरुवात गरेका ओपनर कुशल भुर्तेल १ छक्का र ३ चौका प्रहर गर्दा रन आउट हुन पुगे । खेलको पहिलो बलमा छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका भुर्तेल दोस्रो बलमा रनआउट हुनबाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा उनी २० रन बनाउँदा सहज रनआउट भए । दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरेपछि नेपालले ठुलो स्कोर खडा गरेको हो । आसिफले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए । अलेइ नाओको बलमा एज लागेर किपरको हातबाट आउट हुँदा आफ्नो दोस्रो अर्धशतकबाट ७ रनले पछि परे । रोहितले ३४ रन बनाए । चाड सोपरको बलमा एज लागेर क्याच हुनु अघि २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । रोहित र आसिफले बाहेक अन्य खेलाडीले ठुलो साझेदारी गर्न सकेनन ।
आक्रामक सुरुवात गरेको नेपालले ११ औं ओभरमा १ विकेट गुमाएर १ सय ४ रन बनाएको अवस्थाबाट थप ३० रन जोड्न ५ विकेट गुमायो । नेपालले १२ औं ओभर देखि १६ औं ओभरसम्म हरेक ओभरमा विकेट गुमाउन पुग्यो ।
आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए ।
दिपेन्द्र सिंह ऐरी ४ रनमा पेभिलियन फर्किए । चाल्र्स अमिनीको बलमा रिभर्स सट हान्ने प्रयास गर्दा असद भालाको हातबाट क्याच आउट भए ।
रिले हेकुरेको स्लोवर बलमा बोल्ड भएका कुशल मल्लले १ चौका र १ छक्का प्रहार गर्दा ११ रन मात्र बनाए । लोकेश बमले ४ बलमा १ चौकाको मद्दतमा ५ रन जोड्दा आउट भए । १४ रन बनाएका करण केसीले नाओको फुलटस बलमा क्याच हुनु अघि २ छक्का प्रहार गरेका थिए । सोमपाल कामीले ४ बल खेल्दा मात्र १ रन बनाउन सके ।
सन्दीप लामिछाने २ बलमा १ रन बनाउँदा अविजित रहे । पिएनजीका चाल्र्स अमिनी, अलेइ नाओ र चाड सोपरले २र२ विकेट लिए । नोरमान भानुअ र रिले हेकुरेले १–१ विकेट हात पारे ।