‘निर्वाचनले सडक विस्तारको काम रोकिन्न’
Monday, March 28th, 2022, 8:41 pm
Kalpristha
कोहलपुर–नेपालगन्ज सडक खण्डमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउने कार्य आउँदै गरेको स्थानीय निर्वाचनले प्रभावित नहुने भएको छ ।
डिभिजन सडक कार्यालय नेपालगन्जका अनुसार केन्द्रको निर्णय अनुसार सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउने कार्य निर्वाचनको समयमा पनि रोकिने छैन ।
डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख होम बहादुर एसिले निर्वाचनले अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार्य प्रभावित नहुने बताए ।
उनले भने, ‘निर्वाचनले केहि प्रभावित गर्दैन । केन्द्रको निर्णय अनुसार काम भैरहेको छ । जिल्ला प्रशासन र केहि स्थानीयले संरचना भत्काउनको लागि केहि दिन समय माग्नु भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । उहाँहरु आफैले भत्काउँदा समय पनि कम लाग्छ र खर्च कम हुन्छ । हामीले केहि दिनको लागि समय दिएको छौं । त्यो अवधि सकिएपछि अतिक्रमण गरेर निर्माण गरिएका सबै संरचना भत्काउने योजना छ ।’
डिभिजन सडक कार्यालयले अहिले कोहलपुर देखि जमुनाह भन्सार सम्म अतिक्रमण गरेर निर्माण गरिएका संरचनालाई मार्किङ गर्ने काम गरिरहेको छ । मार्किङ गर्दै सम्बन्धित घरधनीलाई संरचना भत्काउनको लागि पत्र बुझाउने कार्य भैरहेको प्रमुख एसिले कालपृष्ठ दैनिकलाई बताए । उनले भने,‘केही स्थानीयले आफै संरचना भत्काउँदै छन । समय थपेको अवधिमा संरचना नभत्काएका संरचना हामी आफै भत्काउँछौं । अब केहि दिनमै कोहलपुर नेपालगन्ज सडक खण्डलाई फराकिलो बनाउने कार्य सक्ने हाम्रो योजना छ । ’
डिभिजन सडक कार्यालयले सार्वजनिक सुचना निकाल्दै अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउने बारेमा सुचना जारी गरेको थियो । त्यसमा बाँकेका स्थानीय राजनिति दलले पनि सहमति जनाएका थिए । तर केहि व्यक्तिले भने संरचना भत्काउन अटेर गरेर डिभिजन सडक कार्यालयलाई दबाब दिने प्रयास गरेका थिए ।
डिभिजन सडक कार्यालयले नेपालगन्ज गणेशमान चौक देखी कारकाँदो चोक, कोहलपुर बजारको आठ सय मिटर क्षेत्रमा सडकको मध्यभागबाट २१–२१ मिटर दायाँबायाँ र अन्य स्थानमा २५–२५ मिटर दायाँबायाँ निर्माण गरिएका संरचना हटाउने बताएको छ ।
गत बिहिबार देखी डिभिजन सडक कार्यालय नेपालगन्जले सडक क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउन सुरु गरेको थियो ।
सुरुमा सडकले कोहलपुुुर नगरपालिका क्षेत्रबाट संरचना हटाउने काम थालेको थियो । तर कोहलपुरका उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मणराज पौडेल तथा नेपालगन्जमा बाँके चेम्बर्स अफ कमर्सका अध्यक्ष सतिस अग्रवाल लगायतका व्यापारी तथा संस्थाले संरचना भत्काउनको लागि केहि समय दिनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेका थिए । व्यवसायीहरुको अनुरोधमा बाँकेका प्रमुख जिल्ला अधिकारीले केहि दिन संरचना भत्काउने कार्य केहि दिनका लागि रोक्नको लागि सरकारलाई अनुरोध गर्ने बताएका थिए ।