क्रिकेट रंगशाला बनाउन फेरी जुटे नेपालगन्जीया
Tuesday, March 29th, 2022, 2:33 pm
Kalpristha
कानुनी प्रक्रिया नपुगेका कारण त्यो बिचमै रोकियो । कानुन प्रक्रियालाई पुरा गर्दै क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया फेरी सुरु गरिएको छ । फेरी एकपटक क्रिकेट रंगशाला निर्माणका लागि जुटेका नेपालगन्जीया ।
नेपालगन्ज, १५ चैत
नेपालगन्ज क्रिकेटले चिनिएको सहर हो । क्रिकेट लोकप्रिय खेल हो नेपालगन्जको । तर नेपालगन्जको बिडम्ना यहाँ स्तरीय क्रिकेट मैदान छैन् । जसले यहाँका हजारौं प्रतिभाले आफनो क्षमता निर्खाने अवसर पाइरहेका छैनन ।
क्रिकेट रंगशाला निर्माणलागी नेपालगन्जमा पटक–पटक प्रयास नभएको होइन । तर त्यसले सार्थकता भने पाउन सकेको छैन । दुइ वर्ष अघि नेपालगन्ज उप–महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणलाई निकै प्राथमिकतामा राखेर प्रयास सुरु गरेको थियो ।
रंगशालामा आवश्यक पर्खाल र माटो पटनका लागि करिब २ करोड रुपमा नगरपालिकाले छुटयाएको थियो ।
तर कानुनी प्रक्रिया नपुगेका कारण त्यो बिचमै रोकियो । कानुन प्रक्रियालाई पुरा गर्दै क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया फेरी सुरु गरिएको छ । फेरी एकपटक क्रिकेट रंगशाला निर्माणका लागि जुटेका नेपालगन्जीया ।
मंगलबार नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापा संयोजकत्वमा बसेको बैठकले कानुनी प्रक्रियालाई पुरा गरेर रंगशाला निर्माण कार्यलाई अगाडी बढाउने निर्णय गरेको छ ।
नगरपालिका कार्यालयमा बसेको बैठकमा उपमेयर थापा सहित, केन्द्रीय मोहरम पर्व तथा कर्वला समिति अध्यक्ष फिरोज वारसी, लुम्बिी–कर्णाली क्रिकेट विकास समिति अध्यक्ष दुर्गा बहादुर थापा, बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष सरोवर प्रसाई, २ नम्बर वडा अध्यक्ष सुनिल सिंह हमाल लगायतले क्रिकेट रंगशाला निर्माणमा पुनः एकवद्ध भएर बाँकी काम गर्ने निर्णय गरेका छन ।
नेपालगन्ज उप–महानगरपालिका उपमेयर थापाले नगरपालिकाको बोर्ड बैठकबाट रंगशाला निर्माणबारे भएका निर्णयहरु र विगतमा विभिन्न पक्षहरुका बिचमा भएका निर्णयहरुको प्रतिलिपि सहित निर्णय गरेर अगाडी बढने बताइन । सामान्य प्रशासन मन्त्रालय मार्फत मन्त्रीपरिषद बैठकबाट स्वीकृतको लागि प्रक्रिया सुरु गरिने थापाले बताइन । उनले भनिने, ‘क्रिकेट रंगशाला निर्माणका लागि सबै पक्षले सहयोग गर्नु भएको छ ।
विगतमा मुस्लिम समुदायले प्रयोग गरेको जमिनमा क्रिकेट रंगशाला बनाउनको लागि मुस्लिम समुदायका अगुवाहरुले सहयोग गर्नु भएको छ । त्यसका लागि हामी उहाँहरुलाई धन्यवाद दिन्छौं । केहि कानुनी प्रक्रिया पुरा गर्न नसक्दा काम रोकिएको थियो । अब त्यसलाई अगाडी बढाउने काम सुरु भएको छ ।’
नेपालगन्जमा अन्तराष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माणका लागि नगरपालिकाले दुइ वर्ष अघि वडा अध्यक्ष सुनिल सिंह हमालको संयोजकत्वमा कार्यदल बनाएको थियो । त्यसले नेपालगन्ज नगरका सम्भावित स्थानको अध्ययन गरेर वडा नम्बर–६ स्थित फुल्टेक्रामा रहेको जमिनमा रंगशाला निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन पेस गरेको थियो । त्यसपछि फुल्टेक्रामा रहेको १० विगाहा ५ कठां २ धुर जग्गा मध्ये ५ विगाह जमिनमा क्रिकेट रंगशाला निर्माण गर्ने र बाँकी जमिनमा मिर्चवा पुजन, वडा कार्यालय, स्वास्थ्य चौकी र कर्बलाको लागि छुटयाउने सहमती भएको थियो ।
सर्वपक्षीय रुपमा सहमति भएपनि कानुन रुपमा प्रक्रिया नपुगेपछि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सर्वपक्षीय रुपमा भएका सहमतिका निर्णय सहित नगरपालिकाले सामान्य प्रशासन मन्त्रालय मार्फत मन्त्रीपरिषदको बैठकबाट उक्त निर्णय गराएर काम अगाडी बढाउन निर्देशन दिएको थियो ।
बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोबर प्रसाई आवश्यक प्रक्रिया पुरा गरेर नेपालगन्ज नगरपालिकाले स्वामित्व प्राप्त गरेपछि क्रिकेट रंगशाला निर्माणको लागि आफुहरु सहयोग जुटाउन तयार रहेको बताए । केन्द्रीय मोहरम पर्व तथा कर्वला समिति अध्यक्ष फिरोज वारसीले नगरपालिकाले कानुन प्रक्रिया पुरा गर्न ढिलाई गरेको आरोप लगाए । उनले भने,‘क्रिकेट मैदान निर्माणका लागि मुस्लिम समुदायले दिल खोलेर जमिन दिएको छ । त्यसमा नगरपालिकाले कानुन प्रक्रिया मिलाएर काम अगाडी बढाउनु पर्छ । बाँकी जमिनमा पहिले भएको सहमति अनुसार काम हुनुपर्छ भन्ने मात्र हाम्रो माग हो ।’
क्रिकेट रंगशाला निर्माणको विषय नेपालगन्जवासीको साझा मुद्दा भएकोले यसमा सबैको सहयोग आवश्यक रहेको लुम्बिनी–कर्णाली क्रिकेट विकास समिति अध्यक्ष दुर्गा बहादुर थापाले बताए । उनले भने,‘ढिलै भएपनि सकारात्मक रुपमा काम अगाडी बढिरहेको छ । क्रिकेट रंगशाला नहुँदा नेपालगन्जका हजारांै प्रतिभावान खेलाडीले क्षमता देखाउने अवसर पाएका छैनन । क्रिकेट रंगशाला यहाँका हजारौ युवाहरुको सपना हो । जनताको आवश्यकता हो । यसमा सबैको सहयोगको लागि हामी अपिल गर्दछौं ।’