अघोषित लोडसेडिङको मारमा बाँकेका उद्योगी
Tuesday, March 29th, 2022, 9:25 pm
Kalpristha
केहि महिना अघि सरकारले विद्युत उत्पादनमा वृद्धि भएको भन्दै भारत र बंगलादेशमा विद्युत बिक्रीका लागि आवश्यक गृहकार्य सुरु गरेको थियो । तर अहिले नेपालकै उद्योगीले नियमित रुपमा विद्युत नपाउने समस्या देखिएको छ ।
कमल खत्री
नेपालगन्ज, १५ चैत
अघोषित लोडसेडिङको मार बाँकेका उद्योगीहरु परेका छन् । पछिल्लो साता बाँकेमा विद्युत वितरणमा समस्या देखिएको छ । जसको प्रत्यक्ष मारमा परेका छन बाँकेका उद्योग व्यवसायीहरु ।
विद्युत आपुर्तिमा समस्या देखिएपछि उद्योगहरुको उत्पादनमा पनि असर परेको छ । नेपालगन्जका केहि उद्योगीले नेपाल सरकारलाई विद्युत नियमित रुपमा उपलब्ध गराउन माग गरेका छन ।
नेपाल चेम्बर अफ कमर्स बाँके अध्यक्ष सतिश अग्रवालले विद्युत नियमित नहुँदा साना देखि ठुला उद्योगीहरु मारमा परेको बताए । उनले भने, ‘पछिल्लो साता देखि कुनै जानकारी बिना विद्युत जाने आउने गर्छ । यसको कुनै निश्चित तालिका नै छैन । कतिबेला विद्युत आउँछ कति बेला जान्छ थाहै छैन । यसले उद्योगीहरुलाई निकै अप्ठयारो परेको छ । जसले उत्पादनमा समेत असर गरेको छ ।’
विद्युत नियमित नहुँदा बजारको माग अनुसार उद्योगहरुले उत्पादन गर्न समस्या भएको अध्यक्ष अग्रवालले कालपृष्ठ दैनिकसँग बताए । उनले थपे,‘सरकारले लोडसेडिङ छैन भन्छ तर विद्युत आउने जाने निश्चित छैन । विद्युत प्राधिकरणले लोडसेडिङ गर्नु पर्ने अवस्था छ भने त्यसको तालिका दिए पनि हुन्छ । त्यही तालिका अनुसार उद्योगीले आफनो काम गर्छन । तर यहाँ बिना जानकारी विद्युत काटिन्छ ।’
केहि महिना अघि सरकारले विद्युत उत्पादनमा वृद्धि भएको भन्दै भारत र बंगलादेशमा विद्युत बिक्रीका लागि आवश्यक गृहकार्य सुरु गरेको थियो । तर अहिले नेपालकै उद्योगीले नियमित रुपमा विद्युत नपाउने समस्या देखिएको छ ।
नेपालगन्जका एक व्यवसायीले सरकारले गैरजिम्मेवारी पुर्वक विद्युतका क्षेत्रमा काम गरिरहेको बताए । उनले भने,‘सरकारले देशलाई लोडसेडिङ मुक्त गर्ने भनेर घोषणा गरेको छ । तर त्यसको वैज्ञानिक रुपमा अध्ययन बिनै घोषणा गरियो । यहाँ देशकै उद्योगले विद्युत प्रर्याप्त मात्रा पाएका छैनन । विदेशमा विद्युत बिक्री गर्ने भनेर प्रचार गरियो ।’
नेपाल विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोलीले एक महिना अघि बाँकेमा संचालनमा रहेको अम्बे स्टिल उद्योगको अबलोकन गरेर फर्किएको थियो । उनले उद्योग भ्रमण गरेर फर्कने क्रममा उद्योगलाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउने तयारी रहेको बताएका थिए । तर उनले भने जसरी बाँकेमा विद्युत आपुर्ति सहज देखिएको छैन ।
लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका अनुसार पछिल्लो साता बाँकेमा मात्र नभएर देशभरमा विद्युत वितरणमा समस्या आएको छ ।
नेपाल विद्युत प्राधिकरण अन्तर्गत लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर सुरज गौतमले केहि दिनमा विद्युत वितरणलाई नियमित गराउने प्रयास भएको बताए ।
उनले भने,‘अहिले तत्कालै लोडसेडिङ तालिका बनाउदा पछि समस्या आउने भएकोले तालिका सार्वजनिक नगरिएको हो । उद्योगीहरुलाई समस्या परेको बारेमा हामीले केन्द्रलाई जानकारी गराएका छौं । केहि दिनमै देशभरका लागि एउटा योजना बनाएर काम गर्ने तयारी भएको छ ।’
गर्मी महिना लागेपछि विद्युत उत्पादनमा कमी आउने भएकोेले पनि अहिले क्षणिक रुपमा समस्या देखिएको डिभिजन प्रमुख गौतमले बताए ।
लुम्बिनी प्रदेशको डिभिजन कार्यालयले बाँके, बर्दिया, दाङ, रोल्पा, प्युठान र पुर्वी रुकुममा विद्युत वितरणको काम गर्छ । यस डिभिजनमा ३ सय ५० एमभिए विद्युत क्षमता छ । त्यसमा २ सय १० एमभिए खपत हुने गरेको छ । खपतको करिब १ सय १० एमभिए उद्योगहरुमा वितरण भैरहेको छ ।
गर्मी महिनामा उत्पादन कम तथा खपत बढने भएकोले पनि केहि समस्या हुने गरेको विद्युत प्राधिकरणका अधिकारीहरु बताउँछन ।