मुख्यमन्त्री केसीको राजीनामा माग
Wednesday, March 30th, 2022, 6:05 pm
Kalpristha
नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ । दलले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारको मिलेमतोमा राज्यलाई डेढ अर्ब बढी नोक्सान भएको भन्दै मुख्यमन्त्री केसीको राजीनामा माग गरेका हुन् ।
संसदीय दलले बुधबार पत्रकार सम्मेलन गरेर राजीनामा माग गरेको छ । दलले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुईवटा निर्माण कम्पनीलाई मात्र प्रतिस्पर्धा गराउनेगरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पु¥याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले उनको राजीनामा माग गरेको हो ।
एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले सरकारले चाहेका निर्माण कम्पनीले मात्रै टेण्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गर्दा नै आर्थिक मिलेमतो रहेको आशंका गरिएकोमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेको राजीनामापछि उक्त मिलेमतोलाई पुष्टि गरिदिएको बताए ।
उपनेता चौधरीले यसअघिका मुख्यमन्त्री शंकर पोखरेल सरकारको पालोमा लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालको रूपमा विकास गर्नेगरी काम अघि बढाइएको स्मरण गर्दै वर्तमान सरकारले त्यही अस्पतालको भवन निर्माणमा आर्थिक मिलेमतो गर्न खोज्नु दुःखद् भएको बताए ।
चौधरीले आर्थिक चलखेलकै लागि वर्तमान गठबन्धन सरकारले यसअघिका प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुब मजगैयालाई हटाएर अनन्तराम घिमिरेलाई नियुक्त गरेको समेत बताए ।
कार्यकारी अधिकृत घिमिरेले सोमबारमात्रै अस्पतालको भवन निर्माणको लागि गरिएको टेण्डर प्रक्रियामा मिलेमतो भएको भन्दै ठेक्का प्रक्रिया नै खारेज गरी राजीनामा दिएका थिए ।