नेपालगन्जमा सुरु भयो खोज पत्रकारिता तालिम
Friday, April 8th, 2022, 5:04 pm
Kalpristha
नेपालगन्जमा शुक्रबारदेखि खोज पत्रकारिता तालिम सुरु भएको छ । पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा पाँचदिने तालिम सुरु गरेको हो ।
नेपालगन्जमा सक्रिय पत्रकारितामा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका भण्डारीले पत्रकारिताको तालिमको अभावका कारण नयाँ पत्रकार उत्पादन गर्न नसकिएकाले नेपालगन्जम दक्ष पत्रकारको अभाव रहेको बताए । सोही अनुरुप महासंघ बाँकेले पत्रकारिता तालिमलाई निरन्तरता दिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले घटनाको वास्तविकता नियालेरमात्र समाचार सम्प्रेशण गर्नु पर्नेमा जोड दिए । उनले पत्रकारले लेखेका समाचारले समाजमा प्रत्येक्ष असर पर्ने भएकाले वास्तविकताको उठान गर्नु पत्रकारको कर्तव्य रहेको बताए ।
कार्यक्रममा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले मोफसलमा यस्ता तालिम नहुने बताउँदै महासंघले आयोजना गरेको खोज पत्रकारिता तालिम महत्वपूर्ण रहेको बताए ।
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले आजको पत्रकारिता गतिविधिमा मात्र केन्द्रित रहेको तालिमले पत्रकारमा खोज पत्रकारिता गर्न सहयोग पुग्ने बताए ।
त्यस्तै प्रेस सेन्टर बाँकेका अध्यक्ष दक्त धितालले खोज पत्रकारिता तालिम सबैले सिक्न जरुरी रहेको बताए । उनले वर्तमान परिवेशमा खोज पत्रकारिताको महत्व धेरै रहेको बताए ।
तालिममा सहभागी पत्रकार
महासंघले आयोजना गरेको कार्यक्रम चैत २९ गतेसम्म संचालन रहने छ । कार्यक्रममा खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक किरण नेपाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र नेपाल लाइभ डटकमका सम्पादक रामेश्वर बोहराले सहजीकरण गर्नेछन् ।
तालिममा २५ बढी पत्रकारको सहभागिता रहेको छ ।