गलफन
Saturday, April 9th, 2022, 10:16 am
Kalpristha
“छिटो कयनपानी गैहाल् । गारापारेका डिङाबाछा ग्वालाबाट फर्किने बेला भो । बारीमा पसे भने माटोढुङ्गो केही बाँकी राख्तैनन्,” आमाले मलाई हकार्नु भयो । कयनपानी खोल्साको छेउमै रहेको हाम्रो बारीमा गाईवस्तु पस्नबाट जोगाउने काम सधैँ ठूल्दाइको हुन्थ्यो, पहिलोपटक हुनुपर्छ, ती गाईवस्तु छेक्न आज म खटाइएँ । आमाको आज्ञा शिरोपर गर्दै म बाँसको घोचो समातेर कयनपानीतिर हस्याङफस्याङ गर्दै उक्लिएँ ।
कयनपानी लघु–वनकुञ्जजस्तै देखिन्छ । आँप, पीपल, उत्तिस, सिसौ, गोलाइँची र बाँसका झ्याम्म रुखहरुले ढाकिएको छ । ठीक बीचमा पानीको मुहान छ । मुहानबाट बग्दै तलतिर झरेको पानी ढुङ्गे धाराबाट धरररर खसिरहेको छ । यही धाराले सोलाबाङबासीहरुको खरो तिर्खा मेटाउँछ, आङ भिजाउँछ र मैला लुगालत्तलाई धोईपखाली गरिसकेर नजिकै रहेको हाम्रो बारीलाई पनि सिंचित गर्छ ।
कयनपानीभन्दा माथि अलिकति समथर र पत्थरिलो जमिन छ । जमिनमा हिँड्दा दमदम आवाज निस्कने भएकोले त्यो ठाउँलाई दमदमे भनिन्छ। दमदमेभन्दा माथि घना सालघारी सुरु हुन्छ । त्यो जङ्गल घाँसदाउरा र चरिचरणको लागि गाउँको मुख्य आधार बनेको छ ।
माथितिर बढ्दै गएको दमदम झन्झन् प्रस्टिँदै छ । आमाको आदेशअनुसार म त्यतातिर नियाल्दै चारआ ँखा चारकान लगाउ ँदै टाउको माथितिर फर्काउँछु । माथिबाट सातआठवटा डिङाबाछा कुल्टुङकुल्टुङ घण्टी बजाउँदै लाम लागेर ग्वारग्वारती तलतिर झरिरहेका छन ् । पन्ध्र–बीसवटा जति भेडाबाख्रा किल्टिङकिल्टिङ घण्टी बजाउँदै अघि लागेका छन् । पाठाहरु अघिपछि गर्दै बुर्लुक्बुर्लुक् सुन्दर नृत्य गरिरहेका छन् । गाईवस्तुको ग्वार्ग्वार् आवाजको मीठो संगीत पाखाभरि फैलिएको छ ।
हेर्दाहेर्दै भेडाबाख्राले आफ्नो गति तीव्र पार्दै गाईगोरुसँगको निकै दुरी बढाइसकेका छन् । अघिल्तिर कुद्न थालेका भेडाबाख्रालाई छेक्न आठ–नौ द्दण्ड । यालमाया वर्षकी एउटी पातली केटी गाईगोरुको पछिल्तिरबाट अगाडि झुलुक्क झुल्किन्छे र पाठाहरुसँगै तलतिर घरी फुरफुर–फिरफिर कुद्न थाल्छे बुर्लुकबुर्लुक् उफ्रँदै। उसले निकालेको मसिनो स्वर कान चिरेर मेरो भित्रभित्रसम्म पुग्छ, “छ्यो ! छ्यो ! पख् ! पख् ! हु¥र्या ! हु¥र्या !”
साँच्चिकै पुतलीभन्दा फरक छैन त्यो केटी । सिन्का जोडिएकाजस्ता खुट्टाका घुँडासम्म बेरिएको छिटको गुन्यू । एकबित्ताको जीउमा टम्म कसिएको छिटकै बुलोज । काँधलाई छुँदै र हावामा नाच्दै गरेको छोटोपातलो खैरो कपाल। कपालमा बाँधिएर फिरफिर नाचिरहेको रातो रिबन । जमिनमा नाचिरहेका नाङ्गा पाइतालाहरु । उसको हिँडाइ र लच्काइ दुरुस्त पाठाझैँ चकचके प्रतित हुन्थ्यो ।
जतिजति भेडाबाख्रा म भएतिर नजिकिँदै गए, उतिउति दमदमेको दमदम मेरो मुटुतिर सर्न थाल्यो । जीउभरि विद्युतीय झड्काजस्तै प्रवाहित हुनथाल्यो। हातगोडा लोलिएकोले हातको घोचोसमेत भुइँमा खस्न पुग्यो ।
माथिबाट अरिङ्गालको गोलोझैँ ओइरिएका भेडाबाख्राहरु कयनपानीको बारलाई फुत्तफुत्त नाघेर बारीमा हुरुरुरुरु पसिहाले । म सम्हालिँदै बारीमा पसिसकेका भेडाबाख्रा धपाउन घोचो टिपेँ र खोल्सा हुँदै दगुर्दै बारको डिलबाट बारीतिर हामफालेँ । भेडाबाख्रातिर प्रहार गर्ने उद्देश्यले घोचो के उठाएको थिएँ, त्यसैबेला त्यो छिचिमिरीजस्ती केटीले पनि बारीमा उसरी नै मेरो अगाडि बुर्लुक्क हामफाली । ऊ र म अब आम्नेसाम्ने थियौँ । उसको हातमा पनि लठ्ठी थियो र मेरो हातमा पनि त्योभन्दा ठूलो लठ्ठी थियो । मेरा नजरहरु बारीमा चरिरहेका भेडाबाख्राबाट पछि हटे र त्यो केटीको अनुहारतिर डोरिए । उसले पनि आफ्ना नजरहरु मेरा नजरसम्म उठाई ।
जब दुवैका आँखा जुधे ऊ खङ्ग्रङ्गै तर्सिई र शरमले हुनुपर्छ खुम्चिई । यो उसको मलाई चिनेको प्रतिक्रिया हुनुपथ्र्यो । अनुहारमा रगत पोखिएसरी रातापिरो भई । म जीउमा आगो खन्याइएसरी रापिएँ । म आफ्नै रापमा बिलाउँदै गएँ र ऊ पनि मेरो नजरमा बिलाउँदै गई ।
“ओइ माइला ! काँ मरिस् ? ती रक्तबलले भर्खरको बारी सिध्याइसके केरै,” आमा घरबाट ठूलठूलो स्वरले चिच्याउन थाल्नुभयो ।
आमाको हप्काइले म झस्किनुपूर्व नै ऊ झस्किई । उसको हातमा रहेको लठ्ठी कुन बेला खसिसकेको रहेछ । उसले लठ्ठी टिपी । मेरो ढुकढुकीलाई बेपरवाह गर्दै आफ्ना भेडाबाख्रा पिट्दै र खेर्दै ऊ बारीबाट खोल्सोमा उक्लिई । फिरफिरेजस्तै फिरफिर गर्दै एकछिनमै अलप भइहाली । मेरो हातबाट पनि लठ्ठी खसिसकेको बल्ल चाल पाएँ र टिपेँ । म हतप्रभ बारीमा केहीबेरसम्म अल्झिरहेँ ।
०००
हो ऊ त्यही केटी थिई । गारापारेका डिङाबाछा चराउने जिम्मा उसैलाई छोडिएको थियो, किनकि ऊ पढ्न जाँदैनथी । हुन त मैले उसलाई यसभन्दा अघि यति सन्मुख देखेकै थिइनँ । तसर्थ, ऊ अरु कोही हुने सम्भावना पनि उत्तिकै थियो । तर, मेरो अन्तस्करणले ठम्याइसकेको थियो कि यो केटी त्यही नै हुनुपर्छ । त्यो अरु कोही हुनै सक्तिनँ ।
ऊ गुवालाबाट भर्खरै फर्किएकी थिई र म गाउँको प्राइमरी स्कूलबाट भर्खरै फर्किएको थिएँ । म स्कूलबाट फर्कनु र ऊ गुवालाबाट फर्कने समय एउटै पर्नुमा कहीँ केही सम्बन्ध थिएन । हामीबीच त औपचारिक सम्बन्धको एक गहिरो खाडल थियो । नाताले ऊ मभन्दा माथि नै थिई । उमेरले पनि त ऊ आठ–नौ वर्षकी मात्र र म दश–बाह्र जतिको थिएँ । अतः विपरीत लिङ्गी आकर्षणको अनुभूति हामी दुवैमा शून्यप्रायः नै थियो ।
तर हामीबीच केही गहिरो साइनो छ भनी मेरो परिवारका हरेक सदस्यले मलाई जिस्क्याइरहन्थे, घोकाइरहन्थे । मलाई त्यो जिस्क्याइले पटक्कै कतै छुँदैनथ्यो । मेरो निम्ति त्यो शुद्ध मनोरञ्जन हुन्थ्यो । कसैले पहिल्यै मलाई जानकारी गराइसकेको थियो कि त्यसको नाम ’देवी’ हो र ऊ हाम्रो घरदेखि पश्चिमतिर अलि परको रातोघरमा बस्छे भनेर । मैले साथीहरुसँग जिस्किँदै भन्ने गर्थेँ, “म त्यै राताघरकी देवीलाई ब्या गर्चु ।”
स्वतःस्फूर्त उच्चारित ’ब्या’ शब्दले त्यो बाल्यपनको मेरो दिलोज्यानमा कहीँ पनि छुँदैनथ्यो । मेरो स्वीकारोक्तिले भने आमाबाको अनुहारमा खुशीका थुप्रै रेखाहरु नाच्ने गरेको देख्दथेँ । उहाँहरुलाई खुशी तुल्याउन पनि भनिदिन्थेँ, “मलाई त्यै केटी चाइन्च ।”
मलाई जिस्क्याउँदा दाइ तथा दिदीहरु अक्सर भन्नुहुन्थ्यो, “त्यो राताघरकी देवी जन्मँदा नै हाम्री आमाले कान्छी बुहारी भन्दै धागो बाँधिदिनुभएको रे ! देवीको आमाले पनि तँलाई मेरो जुवाइँ भन्दै धागो बाँधिदिएकी रे ! त्यै केटीसँग तेरो ब्या हुन्च ।” म घरको कान्छो छोरा भएकोले पनि असाध्यै पुलपुलिएको थिएँ ।
दाइ तथा दिदीहरुका बारम्बारको जिस्क्याहटले मलाई झिँजो लगाउँदैनथ्यो। म बेअसर खितखित खितखित हाँसिदिन्थेँ । मैले दाजुदिदीसँगै असुराका डाँठका बेहुलाबेहुली बनाएर बिवाह गरिदिएको खेल खेल्थेँ । सिन्काहरुका डिङाबाछा बनाउँथ्यौँ । सिङ भाँचिने गरी जुधाउँथ्यौँ । झिँजाहरुका घर बनाएर घरजमको खेल खेल्थ्यौँ । यी खेलहरु खेल्दा हामी भरपुर रमाउँथ्यौँ । त्यो बाल्यकालमा घरजम भनेको सिर्फ असुराको डाँठको खेलौनाको एउटा मनोरञ्जनात्मक खेल हो भन्ने ठानेको हुँदो हुँ ।
मैले केही वर्षअघिसम्म ठान्ने गरेको थिएँ, गारापारे भन्ने असुराका एक झाङ हुन् र उनकी छोरी असुराकी डाँठकी एक हाँगोसिवाय अर्थोक केही होइन । बेहुलाबेहुली त असुराको डाँठको पनि बनाउन सकिन्छ वा धुल्सुको पातको पनि ।
जब म छिप्पिँदै जान थालेँ, त्यसपछि भने त्यो केटी असुराकी खेलौना मात्र नभई आफूजस्तै तर विपरीतलिङ्गी मान्छे हुनुपर्छ भनी बुझ्न थालिसकेको थिएँ । ऊ स्कूल जाँदिन र सिर्फ घँसेर्नी वा गुवालो बनेकी छ रे भन्ने बुझ्दै पनि जान थालेँ । तर ऊप्रतिको आकर्षणको लेस पनि ममा थिएन ।
०००
त्यो त्यही सम्भावित बेहुली हुनुपर्छ जो गुवालीको रुपमा मेरो अगाडि प्रकट भएकी थिई एकछिन अघि । यो अरु कोही हुनै सक्दैनथी । त्यही गुवाली मुटुमा दमदमदमदम गर्दै मलाई ठाउँको ठाउँ तुल्याएर भर्खरै गई । उसले बुझाएर पनि गई कि ऊ सिर्फ असुराकी खेलौना होइन । त्यति मात्र कहाँ हो र ? शरमले झुकेका राताराता नजरले भित्रैसम्म चिमोटेर गई । मीठो दुखाई बल्झाएर गई । मोहक आकर्षण छोडेर गई ।
०००
त्यो समय अलिकति घर्किएको थियो । म खलंगा कलेज पढ्दै थिएँ, ऊ सेरिगाउँमा ऊनका स्विटर तथा गलबन्दी बुन्ने तालिम लिँदै थिई । हामीहरु किशोरवयको खुड्किला चढ्दै थियौँ । यस अवधिबीच धेरै पटक हाम्रो जम्काभेट भैसकेको थियो । जम्काभेटले एकप्रकारको विद्युतीय झड्का हान्न थालेको थियो शरीरका अङ्गप्रत्याङ्गमा । तर हामीबीच बोली भने अझै फुट्न सकेको थिएन । ऊ पनि मसँग बोल्न आतुर थिई, म पनि ऊसँग बोल्न आतुर थिएँ । यो आतुरी दुवैलाई बोध हुँदाहुँदै पनि सीमावद्ध थियौँ । म पनि कलेजका साथीभाइसँग हुन्थेँ र ऊ पनि तालिमे संगिनीहरुसँग हुन्थी । ती साथीसंगिनी नै हामीबीचको सीमा बन्न पर्याप्त थिए ।
एकाबिहानै जब म कलेजको लागि उक्लँदै थिएँ, ऊ मेरो अगाडि अकस्मात् झुल्किई । मलाई देख्नेबित्तिकै लजाउँदै उसरी नै भाग्न खोजी बुर्लुक् बुर्लुक् । उमेरसँगै शरीरमा मासु पनि भरिँदै गएकोले उसको भगाईमा पहिलेजस्तो फिरफिराहट थिएन । थियो त गह्रुँगो फत्रयाक–फत्रयाक मात्र ।
म खितितिति हाँस्न पुगेछु, ऊ फर्किएर मलाई कर्के चियाई । मेरो मुटुको धड्कन झन् झन् बढ्न थाल्यो, दमदमेजस्तै दमदम दमदम । ऊ जिस्काएको ठानी रिसाउली भन्ने डरले सासलाई थाम्दै तुरुन्तै भनिहालेँ, “सँगै गए हुँदैन?उसको लागि मेरो पहिलो वाक्य फुत्क्यो । उसको पनि मेरो लागि प्रश्नबोधक पहिलो वाक्य फुत्कियो, “किन र?”
’किन’ को जवाफ मसँग पनि कहाँ थियो र ?मर्दले मर्दानाको ’किन’ को जवाफ नदिई पनि सुख्खै थिएन । म हतप्रभ उभिएँ र किशोर मानसपटलभरि खोजेँ जवाफ । किन ? किन ?? ….?? मुटुतिर बढिरहेको दमदमले गर्दा ’किन’ को जवाफ ओझेलमा पारेको थियो र सजिलै भेट्टाउन मुस्किल भैरहेको थियो ।
ऊ उभिएकी थिई, म उसको झण्डैझण्डै नजिक पुगिरहेको थिएँ ।
मेरा नजरहरु उसको हातमा पुगेर अड्किए । उसको काँधमा रातो, सेतो र निलो रङको ऊनका डल्लाहरु लड्किरहेका थिए । हातमा सुइटर बुन्ने दुई लामालामा सुइराहरु नाचिरहेका थिए । ऊनबाट सुइटर हुनुपर्छ, सुन्दर आकृति निर्मित हुँदै थियो ।
मैले उसको कठिन ’किन’ को जवाफ दिनुको सट्टा स्वरलाई सक्दो नरम तुल्याउँदै सजिलो प्रश्न सोधेँ, “त्यो के हो ?”
उसले अझै नरम र मसिनो स्वर पार्दै जवाफ दिई, “गलफन !” म मन्त्रमुग्ध हुँदै उसलाई हेरेको हेरेइ भएछु कि उसैले नसोधेको प्रश्नको अलिकति ठूलो स्वरमा जवाफ दिई, “यो गलफन मेरो ठूल्दाइको लागि हो ।”
“हो?”मेरो मुखबाट बाँकी शब्द निस्कन सकेन । उसले शरमले थिलथिलो भइसकेको टाउको सकारात्मक हल्लाई । टाउको मात्र के हल्लिन्थ्यो, जीउ नै थरररर हल्लियो उसको । मेरो पनि मुटु बेसरी हल्लाइदिई । उसको ठूल्दाइ मेरो बाल्यपनको सखा मात्र थिएनन्, कलेजका एकदमै नजिकका साथी पनि थिए ।
ऊ मेरो गतिलाई उछिनेर अघिअघि बढ्दै गई । म पनि निश्चित दुरी कायम राखेर लुरुलुरु पछि लागेँ । गह्रुँगा पाइतालाहरु हलुका हलुका लाग्न थाले, जीउ चङ्गाझैँ हलुको अनुभूत भयो । म पछि लागेको आभासको लज्जाले हुनुपर्छ मेरो भन्दा तेज गतिले पाइला उचाल्न थाली । हामीबीचको दुरी पुनः बढ्न थाल्यो ।मैले हतारिँदै पुनः सोधेँ, “सँगै गए हुँदैन?”
उसले उही कठिन प्रश्न मतिर फ्याँकी, “किन र ?
मैले आफूलाई सम्हाल्दै जवाफ दिएँ, “गलफन !”
उसले हत्तपत्त भनिहाली, “गलफन ? ऊन ल्याइदिनू, म बुनिदिउँला ।”
यति भन्दा नभन्दै ऊ खुरुरुरुरु भागी हाली । मैले ऊ भागिरहेको ध्यानमग्न हेर्दै थिएँ, पछिबाट कसैले ध्यान भङ्ग गरिहाले, “आज त तिमी नै अघि भएछौ !”
जो पछि आयो उसैले भन्न मिल्थ्यो यो वाक्य । तर यो वचनले मलाई अभूतपूर्व घोचिदियो, ’म अघि लाग्न नपाइने कुन विधानमा लेखिएको छ र ? मलाई पछि परेको हेर्न चाहन्छौ तिमी ?”तर भन्न सकिनँ किनकि उनी मेरा निकटतम साथी थिए । साथी मात्र कहाँ थिए र ?उनी त त्यही भागिरहेकी केटीका ठूल्दाइ पो थिए !
अब म सधैँ अगाडि निस्कन थालेँ, आफ्नो साथीलाई पछि पार्ने हेतुले । खोइ ? त्यही केटीलाई भेट्टाउन पो हो कि ? दुवै पनि हुनसक्थ्यो ! साथीले बिहे पनि गरिसकेका थिए । मनमा खेल्थ्यो, विवाहित र अविवाहितबीच मित्रता भैरहन्छ र ? अनि मेरो मन उनीदेखि तर्कन खोज्थ्यो । उनी अझै मसँगै नजिकिन खोज्थे ।
फलस्वरुप कलेजको निहुँ बनाई म अझै बिहानीपख घरबाट निस्कन थालेँ। म निस्कने समय अड्कलेर उसले पनि त्यो अवसर छोप्न थाली । यसले के फाइदा भयो भने अब त्यो केटीको हातमा मेरै लागि बुनिइरहेको गलफन बिहानबिहानै देखिन थाल्यो । त्यो गलबन्दीमा निला सेता पाटा थपिँदै थिए र झन् झन् लामो हुँदै थियो । झन् झन् सुन्दर पनि ।
करिब एक हप्तामा गलबन्दी तयार भएर मैले हात पारिसकेको थिएँ, तैपनि राम्रोसँग नखाई नचुठी बिहानै निस्कने क्रम भङ्ग हुन सकेन ।
उता आफू एक्लिने भयले केटीका ठूल्दाइ पनि झन् झन् बिहान निस्कन थाले । उनको गलामा पनि त्यही केटीले बुनेको गलबन्दी बेरिएको थियो र मेरो गलामा पनि दुरुस्तै उस्तै गलबन्दी बेरिएको हुन्थ्यो । फरक त थियो त उनको गलबन्दीमा रातो रङको पाटा पनि थियो, मेरो गलबन्दीमा सेतो र निलो रङ मात्र थियो । उसको हातमा ऊन थमाइदिँदा उसैले सोधेकी थिई, “रातो ऊन खोइ त ?”
मैले भनेको थिएँ, “मलाई रातो मन पर्दैन !”
उसले उही कठिन प्रश्न सोधेकी थिई, “किन र?”
०००
कलेज पढ्दा पढ्दै मैले रातामाटा स्कूलमा शिक्षकको जागिरी भेट्टाएँ । रातामाटापछि सोलाबाङको स्कूलमा पढाउन थालेँ । स्थायी भएपछि कैलदेऊ पुगेँ, जहाँ त्यही केटीको माइलादाइले पढाउँदै थिए । पढाइको कारण उसको ठूल्दाइ मेरा निकट साथी छँदै थिएँ, जागिरीको कारणले अब म उनको माइलादाइको निकटको साथी बन्नपुगेँ । सम्भावित जीवनसाथीका दाइसँग हुने साथको अनुभूति अरु साथीभाइसँग हुने साथजस्तो हुँदैनथ्यो । अलि भिन्न, अलि सतर्क ! अलि जोखिमपूर्ण !
कलेज तथा स्कूलको बिदाको समयमा म पनि गुवाला जान थालेँ । मेरो गुवालाको कार्यक्षेत्र स्याँलातिर हुन्थ्यो, जुन मेरो गाउँको पश्चिमतिर पथ्र्यो । उसको कार्यक्षेत्र कागमारेतिर थियो, जुन गाउँको पूर्वतिर थियो । यो कार्यक्षेत्रको दुरी यति धेरै थियो कि दुवै मनहरुलाई अत्याइरहन्थ्यो, बिझाइरहन्थ्यो । मेरो औपचारिक मागको पेशी नहुँदानहुँदै पनि यो कठिनाइलाई बुझेर उसले आफ्नो कार्यक्षेत्र अभूतपूर्व परिवर्तन गरिदिई र स्याँलातिरै स्थानान्तरित भइदिई । यसले मजस्तो लाजपात्रेलाई हुनुसम्म सुगम भइदियो । परेका वा लिइएका बिदाका दिनहरुमा दुवैजना स्याँलाको जङ्गलभित्र गाईवस्तु चराउँदै बारम्बार भेटिन थाल्यौँ । तर हामीबीच निश्चित दुरी कायम नै थियो, शारीरिक, सामाजिक, सांस्कृतिक आदि भनौँ न ।
त्यतिबेला स्कूल वा कलेजका पाठ्यपुस्तकहरु सितिमिति नपाइने मुसिकोटमा प्रकाश कोविद र युधीर थापाका प्रेमिल उपन्यासहरु सजिलै पाइन्थे। लालहीरा, मधुमालती, मुकुन्दइन्दिरा आदि पहिल्यै पढी भ्याइसकेको थिएँ । म उपन्यास पठनमा यति ध्यानमग्न हुन्थेँ कि गाईबाख्रा भागेर कसैको बारीमा पसिसकेको सुइँपत्तो पाउँदैनथेँ । म पढाइमा तन्मय भएको बखत मेरा गाईबाख्रा पनि उसैले हेरिदिन्थी । मदेखि टाढा पुगेका गाईबाख्रा खेरखार पारेर नजिकै ल्याइदिन्थी । ऊ म पढिरहेको ठाउँसम्म आइपुग्थी र मभन्दा अलिकति पर टुक्रुक्क बसेर लोभिँदै मैले पढेको हेरिरहन्थी । चाहना थियो होला, ’म पनि यस्तै उपन्यासहरु खुरुरुरु पढ्नसक्ने भैदिए !’ वा त्योभन्दा अघि बढेर सोच्थी होली, ’आफूसँग पनि त्यो क्षमता भैदिए दोहोरो सञ्चारमा कति सुगमता आउँदो हो !’
त्यसो त हामीबीचको सम्बन्धमा पढाइको अन्तरले कुनै भाँजो हालिसकेको थिएन । ’लाल’ बन्दै गएको म र ’हीरा’ बन्दै गएकी उसको बीचमा कुनैकुराले पनि बाधा हाल्न अक्षम हुँदै गएका थिए ।
०००
हाम्रो उमेर समय क्रममा चढ्दै गएकोले हामीलाई ताकेर विवाहका प्रस्तावहरु आइरहेका हुन्थे । मेरो लागि आउने प्रस्तावको चियोचर्चा गर्थी ऊ । कुनै दिन मेरो लागि प्रस्ताव आएको थाहा पाई भने ओठ पिलपिल पार्दै स्पष्टीकरण सोधिहाल्थी, “हिजो तपाईँको घरमा पाहुना आएका थिए रे नि ? के भन्नुभो बाआमाले?”
“पढ्दै छ छोराले । अहिल्यै बिहे गर्ने हतार छैन भन्नुभयो नि !” मेरो स्पष्टीकरणले ऊ ढुक्क हुन्थी ।
उसको लागि आएका प्रस्तावहरु पनि सहजै मैले थाहा पाउँथेँ । मैले पनि स्पष्टीकरण सोधिहाल्थेँ । उसले भन्थी, “हुन्न भनिदिएँ नि ! अरु के भन्नु?” उसले पनि मलाई विश्वस्त तुल्याउँथी ।
उसको र मेरो घरको घरको दुरी कति नै थियो र ?त्यस्तै आधा किलोमिटर पनि थिएन । म शिक्षित कहलिएकोले मकहाँ आउने प्रस्ताव प्रायशः शिक्षित केटीकै हुन्थे । ऊकहाँ आउने प्रस्ताव भने विविध प्रकारका हुन्थे । त्यस्ता प्रस्तावहरु त्यही गलफनमै बिनाअनुमोदन अड्किरहेका हुन्थे ।
०००
मैले आइए सकेपछि बिए पढ्न काठमाडौँतिर हान्निएँ । मसँगै उसले बुनिदिएको ’गलफन’ पनि काठमाडौ पुगेको थियो । काठमाडौको कलेजको सुरुको दिन त्यही गलफन गलामा बेरेर कक्षामा पुगेँ । अलि बढी नै पाखे देखिएछु कि ?सहपाठीहरु मलाई देखेर गलललल हाँसिदिए । त्यस दिनदेखि त्यो गलफन डेराको ह्याङ्गरमै झुण्डिइराख्यो । आमाले बेलाबेला दूरसञ्चार पुगेर फोन गर्नुहुन्थ्यो । उहाँले मेरो सन्चोबिसन्चो सोधिसकेपछि सोध्न बिर्सन हुन्नथ्यो, “के भनिदिने हो गारापारेका परललाई ? छिटो बाटो देऊ भन्छन् ।” बदलामा मैले केही जवाफ दिन सक्दिनथेँ । धेरै झिज्याएपछि भनिदिन्थे, “राम्रो केटो आए दिए भैहाल्यो त ! मैले छेकेर राखेको छुइन क्यारे !”
त्यसबेलाको जमानामा गाउँका चौधपन्ध्र वर्षे अधिकांश केटीको घरजम जोडिइसक्थ्यो । उसले त सत्र वर्ष पार गरिसकेकी थिई । त्यो उमेर विवाह गर्ने उमेरभन्दा धेरै ढिला भैसकेको ठानिन्थ्यो । सायद, ’कुर्दाकुर्दा पोई नपाएरै द्दज्ञछ यो बूढिने भई !” भनेर उसकी साथीसंगिनीले उसलाई हैरान पारिरहेका थिए होलान् ।
काठमाडौँका सहपाठीहरुले आफ्ना गर्लफ्रेन्डलाई ’गलफन’ भन्दा रहेछन्। प्रायः विद्यार्थीहरुका एकएक ’गलफन’ हुन्थे । उनीहरुको गफमा ’गलफन’ले नै प्राथमिकता पाउँथ्यो । मैले भने त्यही गलफनलाई नै गर्लफ्रेन्डको प्रतीकको रुपमा लिएँ । आफैँसँग गलामा झुण्डिएर आएको गलफनसँग निशब्द वार्तालाप गर्न थालेँ । गलफनको निलो र सेतो रङबीचमा लालरङ पनि भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।
गलफनले अनुहार लाललाल तुल्याउँदै बोलिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । दिनमा खेल्ने मनले भन्थ्यो, ’मैले आफ्नो भविष्य उज्ज्वल तुल्याउन शिक्षित केटी नै खोज्नुपर्छ । यसले मेरो जीवन पनि सहज हुनेछ र बच्चाको भविष्यमा पनि सकारात्मक प्रभाव पर्नेछ ।” जब साँझ पथ्र्यो, ह्याङ्गरमा झुण्डिरहेको गलफन सर्दैसर्दै आँखामै झुण्डिन आइपुग्थ्यो । आफ्नो विगतका पानाहरु फरररर पल्टाएर मलाई हैरान पाथ्र्यो । त्यो रोमाञ्चक विगत झलझली सम्झाइदिन्थ्यो, ताजा पारिरहन्थ्यो । आफ्नै मनलाई ढाढस दिँदै भन्थेँ, ’उसले सपनाको राजकुमार मलाई नै छानिसकेकी होली । उसलाई नअपनाउनु उसको मनमा ठेस लाउनु हो, धोखा दिनुसरह हो । उसले पढिन भन्ने आधारमा मात्र उसलाई छोडिदिनु न्यायसङ्गत होइन । उसले त आजसम्म पर्खी बसेकी छ !”
०००
जब म काठमाडौँको अध्ययन सकी घर फर्किएँ, ऊप्रति अरु युवकहरु पनि आकर्षित रहेको आभास पाएँ । ऊ पनि उनीहरुप्रति नै आकर्षित हुँदी हो । उमेर नै त्यस्तो थियो । मैले धेरै समयको अन्तरालमा उसको संगत छोडिदिएपछि मेरै जप, तप, व्रतमा बस्ने पार्वती बन्नु उसलाई यो कलियुगमा कहाँ सम्भव थियो र ? सम्बन्ध पनि बारीको विरुवाजस्तो न हो, मलजल दिइराखे पो हुर्कन्छ त ! त्यो जमाना न मोबाइलको थियो, न त हामीबीच पत्राचार हुनसक्थ्यो । हामीबीच प्रत्यक्ष बोलचालबाहेक दिल फुकाउनको लागि द्वितर्फी सञ्चारमा सहज तुल्याउन कुनै माध्यम बाँकी रहेको थिएन । समयको दुरीले गर्दा पछिल्लो समयमा हामीले एकसाथ दिलबारीमा पसेर मनग्गे भुल्ने मौका नै पाएका थिएनौँ । हामीले हाम्रो दिलबारीमा हुर्किएको कलिलो विरुवा बिनामलजल, बिनारेखदेख मुर्झाइरहेको थियो ।
घर फर्किएपछि पुराना डोबहरु खोज्दै मैले कैयौँचोटी कयनपानीतिर ओहोर द्दज्ञट । यालमाया दोहोर गरेँ । बाल्यकालमा घरबाट निस्कियो कि पाखापखेरामा देखिइहाल्ने ऊ यसपटक मेरो नजरमा कतै परिन । उसको अभाव मलाई खट्किए पनि मेरो अभाव उसलाई खट्किन छोडेछ । मैले के बुझेँ भने हाम्रो प्रेमिल सम्बन्धमा आकाशपातालको फरक परिसकेको रहेछ । लाग्यो, म गाउँमा फर्किएको थाहा पाउँदापाउँदै पनि उसले मलाई पटक्कै बालमतलब दिइन । न उसका बाआमा मलाई भेट्न आए, न त उसका दाजुहरु नै । काठमाडौँमा छँदा फोनमा बारम्बार त्यही केटीको प्रसंग झिक्ने मेरा आमाबाले पनि घर फर्किइसकेपछि त्यो प्रसंग निकाल्दै निकाल्नुभएन । यसले गर्दा मनमा अरु उच्चाट बढ्यो, अरु छट्पटी बढ्यो । मेरो पालो मैले पनि गलाबाट निकालेर कुनातिर मिल्काइदिएँ गलफन–सलफन् ।
दिलबारीमा हुर्किएको प्रेमिल विरुवालाई निरन्तर मलजल पु¥याउन नसक्नु मेरै कमजोरी हो भनेर मनलाई तेह्रौँ गरेर सम्झाए पनि मनले मान्दै मानेन । बरु डाहा, क्षोभ र घृणाको ठूलै भारी भिराइदियो । त्यसैको भारीको मारवश् अकस्मात् आमाबालाई भनिदिएँ, “त्यस केटीलाई म बिहे गर्दिनँ ।”
“के भयो र ? उनीहरु तेरै लागि पर्खिरहेका छन् ।”
“जोसुकैलाई पर्खोस्, म मरिकाटे त्योसँग बिहे गर्दै गर्दिनँ ।”
“हामीलाई के घुर्क्याउँछस् त ? भन् गएर उसैलाई । भन् उसैका आमाबालाई । तेरो खुशी नै हाम्रो खुशी हो बाबै ।”
मलाई खाना खान मन लागेन । काम गर्न जाँगर चलेन । आफन्तहरु कसैलाई भेट्न पनि गइनँ । म बिरामी भएर ओछ्यान पर्ने अवस्थामा पुगेँ । म यतिविधि चिन्तित हुनुको कारण आमाबालाई थाहा नहुने कुरै थिएन । अतः उहाँहरुले वैकल्पिक प्रस्तावको बारेमा छलफल गर्न थाल्नुभयो । ती प्रस्तावहरु आफ्नै गाउ ँदेखि शहर बजारसम्मका थिए । तीमध्ये राम ्रो कुलघरानका, राम्रो चालचलन भएका शिक्षित केटीका प्रस्तावहरु पनि आधा दर्जनजति थिए। छनोटमा परेका ती केटीहरुमध्ये कुनै एकजनालाई छान्न मलाई आमाबाले सुझाउनुभयो । मैले छान्न सकिनँ । मेरो लागि यो केटी ठीक छ भनी भन्नै सकिनँ ।
म अलमलिएको देखी बाले सोध्नुभयो, ‘के भयो ? किन छान्न डराइस् ?”
मेरो जवाफ आमाले दिनुभयो, ‘जसलाई हेर्नै पर्दैन, जसलाई जुराउन आवश्यक नै छैन, जसको चालचलन दाहो¥याएर हेर्न पर्दैन, त्यसको विकल्पमा अरु छान्न खोज्नु त जोखिम मोल्नु मात्र हो । जसलाई पहिल्यै वचन दिइसकिएको छ उसको प्रस्तावलाई पहिले अस्वीकार नगरी कसरी अर्को छनोट गर्न सकिएला र ? तँलाई त्यो बचपनकी साथी मन पर्दैन भने उसको घरमा गएर खुलस्त भन् ।’
मैले त्यसको घरमा पनि जाँदै नजाने अड्डी कसेँ । आमाबाले पनि मेरो यो आकस्मिक निर्णय केटीका आमाबालाई कुनै हालतमा सुनाउन नसक्ने अड्डी कसे । आखिर ऊसँगको बिहेको अस्वीकृतिको निर्णय उनीहरुलाई मैले नै सुनाउनुपर्ने भयो । म स्वयम् उसको घरमा नगई सुख्खै पाइनँ ।
०००
डाहा, घृणा र क्षोभको खिँचडी मनभरि भकभकी उमाल्दै म उसको घरसम्म पुगेँ । म कठिन निर्णय सुनाउने त्रास, संकोच र छटपटीले असिनपसिन थिएँ। मेरो बेसरी खजमजिएको अनुहार देखेर उसका ठूल्दाइले एक गिलास ठण्डा मोही ल्याएर मेरो हातमा थमाइदिए । मैले एकै सासमा घटघटी पिइदिएँ । त्यो मीठो मोहीमा घोलिएको सौहाद्रताले म धेरै हदसम्म चिसिइसकेको थिएँ । मेरो आतिथ्यग्रहणको लागि घरको दलिन तथा आँगन बढारकुँढार गरियो । खाटमा परालको गुन्द्री फैलाएर बाक्लो जुम्ली काम्लो ओछ्याइयो । चुलोचौको र मैरो गोबरमाटोले लिपपोत गरियो । मलाई आसनग्रहण गराइसकेपछि मेरोअगाडि थालीमा एक हातो मालभोग केरा र एक बटुका दही राखियो । चुलोमा मिष्ठान्न भोजन तयारीको लागि परिवारका हरेक सदस्यको सराकसुरुक बढेर गयो। त्यो सबै मेरै आतिथ्यको लागि थियो भनी बुझ्न मलाई कुनै गाह्रो भएन ।
म अरु चिसिँदै गएँ र सम्हालिँदै गएँ । मैले ऊसँग विवाह नगर्ने बनीबनाऊ ताततातो निर्णय सुनाउन अब भने हम्मेहम्मे पर्न थाल्यो ।
भोजनग्रहण गराइसकेपछि उसको परिवारका सबै सदस्यहरु मलाई चौतर्फी घेरा हालेर बसे । प्रसङ्ग निकालियो उनकी चेलीको विवाह गर्न ढिला भैसकेको बारे । उनकी चेलीसँग म बिहे गर्न मञ्जुर भए नभएको सम्बन्धमा मैले छिटो निर्णय सुनाउनुपर्ने भयो । म धेरै बेरसम्म मौन रहेँ । चौतर्फी प्रश्नका झटाराहरु ओइरिइरहेको बखत मलाई मौन बसिरहनु कहाँ सम्भव थियो र?उनीहरुलाई टार्न मैले, ’यसबारेमा तपाईँहरुकै चेलीसँग प्रत्यक्ष कुरा गर्न चाहन्छु!” मात्र भन्नसकेँ ।
मेरो अड्डी सुनेकी हुनुपर्छ, ऊ पनि बुइँगलबाट पाइतालाको दरो दमदम स्वरसँगै तल झरी । त्यो दमदमको ताल मेरो मुटुमा सारिदिई । ऊ पछ्यौरीले मुख छोपेर शरमले डल्लो पर्दै आफ्नी आमा र भाउजूहरुको बीचमा आएर टुक्रुक्क बसी । केही बेरपछि पछ्यौरी एकातिर सारेर मलाई पुलुक्क द्दज्ञड । यालमाया हेरी । मैले उसलाई उसरी नै पुलुक्क हेरेँ । अठाह्र महिनापछि हाम्रो देखादेख भयो । ऊ त एक झुसिलकिराबाट असाध्यै राम्री पुतलीमा परिवर्तित भइसकिछ। उसको फेरिएको रुपले मेरा नजरहरु स्थिर गराई छाड्यो ।
केहीबेरपछि मेरा नजरहरु उसको जीउभरि नाच्न थाले । उसको पहिलेको पातलो जीउमा टम्मै मासु भरिइसकेछ । ख्याउटे अनुहार थेप्चे भैसकेछ। सिकुटे थिई, डल्ली न डल्ली जवानीले भर्भराउँदी देखिई । एकबित्ते ब्लाउज लाउँथी, त्यो उन्नत वक्षस्थल ढाक्ने लम्बाउले चोलीमा परिवर्तन भैसकेछ । नलीखुट्टे तल्लो जीउसँग बेपरवाह नाचिरहने छोटो गुन्यू लाउँथी, पुष्ट पिँडौला ढाकेर भुइँ बढार्ने गह्रुँगो छिटको धोतीमा परिवर्तन भैसकेछ । ऊ सेतोगुराँसबाट लालीगुराँसमा परिवर्तित भैसकिछ । नजरले उसको जीउ जम्मै छामिसकेपछि म रापिन थालेँ । शरीरमा खनिएको ज्वरोले मेरो होसहवास गुम भयो । मेरो ईष्र्या, डाहा, अभिमान, घृणा त्यही रापमा भष्म हुन पुगे ।
म मुसुक्क मुस्कुराइदिएँ, उसले त्यही सरोवर मुस्कानले मलाई पैँचो तिरी ।
मैले सम्हालिँदै भनेँ, “के गर्ने ? तिम्रो घरपट्टि र मेरो घरपट्टिले मलाई बसीखान दिएनन् ! मेरो घर गरी खान सक्छ्यौ ?”
उसले मलाई जवाफ दिनुको सट्टा ऊही पुरानो प्रश्न गरी, “किन र ?”
म उसको ’किन’ मा अल्झिनुपर्ने अवस्थामा थिइनँ । अतः मैले स्पष्ट पार्न खोजेँ, “अब तिम्रो र मेरो झ्याँइँकुटी पार्न ढिला भैसक्यो रे ! मेरो पोइल आएर घर सम्हाल्न सक्छ्यौ, भनेको ?मैले मेरी कुशल जीवनसंगिनी बन्न उसले के–के योग्यताहरु हासिल गरेकी छे भनी बुझ्न चाहेँ । ऊ केहीबेर वक फुट्न गाह्रो भएझैँ अलमलमा परी । अनि, गम्भीरतापूर्वक निर्धक्क रुपमा जवाफ दिँदै गई “किन सक्दिनँ ? के कमजोरी छ ममा ? घाँस काट्न सक्छु, दाउरा चिर्न सक्छु, रुख चढ्न सक्छु, रोटी थेच्न सक्छु । बच्चा जन्माउन र हुर्काउन पनि सक्छु । अरु आईमाईले जसरी घर खाएका छन्, त्यसरी नै म पनि घर गरी खान मजाले सक्छु । सबैभन्दा ठूलो कुरा तपाईँलाई कसैले दिन नसक्ने मस्तै माया दिन सक्छु । भन्नुस्, अरु के चाहियो तपाईँलाई ?”
म उसको जवाफले मन्त्रमुग्ध भएँ । अरुलाई नै दिएर रित्याइसकेकी होली भनेको त आजपर्यन्त मेरै लागि एक डबका माया जोगाएर राखेकै रहिछ। माया शब्दले म द्रविभूत हुन थालेँ । भित्रभित्रै पग्लिएर गल्न थालेँ । प्रकटमा भने अझ कठोर बनेको नाटक गर्दै पुनः सोधेँ, “आजको जमानामा घर सम्हाल्न त्यतिले मात्र पुग्छ र?मेरो सोधाइको तात्पर्य थियो, ’पढाइ चाहिएन?’
मेरो प्रश्नले ऊ बेसरी हडबडाई । लाललाल अनुहारभरि चिटचिट पसिना उम्रिएका प्रस्ट देखिए । लालीगुराँसबाट पहेँलोगुराँसमा परिवर्तित हुँदै गई । उसको तमासा हेर्न लायक हुँदै गयो । उसको यो हडबडाहटले मलाई नै पछुतो गराइदियो, मैले यो प्रश्न नसोधेको भए पनि हुने !
उता म अन्तर्वार्ता लिँदै थिएँ, यता मलजल नगरेको कारणले हामीभित्र मुर्झाएको सम्बन्धको कलिलो बेर्ना दुवैका नजरबाट पोखिएको मलजलले हलक्कै बढ्दै थियो । तै, त्यो बेर्ना मरिसकेको रहेनछ ! उसले जवाफ दिन खोजी, ’मसँग पढाइको कमी भयो र त तपाईँजस्ता पढेलेखेकालाई रोजेर पूर्ण हुन खोजेकी नि !”
उसको प्रत्यक्ष एवम् परोक्ष प्रतिउत्तरले म यसरी मर्माहत भएँ कि मैले ऊसँग हार्न पुगेँ । मेरो अभिमानले अग्लिएको शिर उसको अगाडि निहुरमुन्टी ’न’ को अवस्थामा पुग्यो । बिहे गर्दिनँ भनी सुनाउन आएको मेरो बनीबनाउ निर्णयलाई उसकै अगाडि च्यातुचत पारिदिएँ । म अवाक्को अवस्थामा धेरै बेरसम्म रहेँ ।
मेरो मौनताले उसको मात्र होइन, समस्त परिवारको अनुहारमा शंका र चिन्ताको तुवाँलोले घेर्न थाल्यो । उनीहरु कसैले सास थुनिदिएझैँ उकुसमुकुसको अवस्थामा पुगे । मैले मौनता तोड्नैपर्ने भयो । म फैसलाको लागि तत्पर न्यायधीश हुन पुगेँ । र, मेरो वरिपरि फैसला सुन्न आतुर जनसमूहको एक प्रकारको उभार थियो ।
मैले फैसला सुनाइदिएँ, ’उसले ’मसँगसँगै जाने’ निधो गरेकीले बाँकी जीवनमार्गमा म पनि ’ऊ सँगसँगै पाइला चाल्न तत्पर छु ।’
हाम्रो पहिलो बोलचालमा उसलाई मैले सोधेको थिएँ, “सँगसँगै गए हुँदैन?” उसले उल्टै मलाई सोधेकी थिई, “किन र ?”
उसको पहिलो प्रश्न ’किन र?’को मुखभरिको जवाफ पाई उसले आज। अब मैले ’सँगसँगै जाउँ !’ पनि भन्नु परेन र उसले पनि मसँग ’किन र?’भनी सोध्ने आवश्यकता पनि बाँकी रहेन । उसले मलाई र मैले उसलाई सम्पूर्ण रुपमा प्राप्त गर्ने भयौँ । यसले ऊ औधी खुशी देखिई । उसको खुशीको झिल्का उसको सपरिवारमा सल्कियो र ज्वाज्वल्यमान भयो । त्यतिविधि खुशीको माहोलमा म खुशी नहुन कहाँ सम्भव थियो र ?
म भोलिपल्ट कोसेलीस्वरुप सुन्दर सपना बोकेर आफ्नो घरमा फर्किएँ। मनमा उम्लिएको घृणा र क्षोभ हिजै बिलाइसकेको थियो । मनको धुलोमैलो त्यही गलफनले पखालिसकेकी थिई । मलाई फर्किएको देखेर आमाले हतार हतार सोध्नुभयो, “भन्न सकिस् त बिहे गर्दिन भनेर ? के भनिस्?”
आमाको नजरमा सिधा हेर्न म असमर्थ थिएँ, उहाँको अघि मैले शिर निहुराएँ । बिस्तारै नकारात्मक टाउको हल्लाउँदै भनेँ, “बिहे गर्दिनँ भन्न सकिनँ। उसैलाई बिहे गर्छु भनेर आएँ ।” आमाले मेरो निर्णय सुनेर अँगालोमा बेर्दै भन्नुभयो, “मलाई पहिल्यै थाहा थियो कि तैँले यही निर्णय गर्नेछस् भनेर । आमा हुँ, छोराको दिल किन चिन्दिनथेँ !”
मैले घुगुतीमा झुण्ड्याएको गलफन् तानेर गलामा बेरेँ । न्यानो मात्र होइन रोमाञ्चक अनुभूति भयो । गलफनले भित्रभित्रै कतै काउकुति लगाइदियो । गलफनले मलाई तान्दै ऊसँगको सुरुको भेटघाटको दिनसम्म लगी पु¥यायो । हाम्रो प्रेमिल विगत रिलझैँ नजरमा फनफनी घुम्न थाल्यो । म त्यतैकतै हराएँ ।
०००
त्यही दिनको बेलुका दहीको ठेकी बोकेर बा लगायत केही आफन्तहरु उसको घरमा पुगे । मैले पहिल्यै मागिसकेकी केटीलाई परिवारको तर्फबाट मागेर औपचारिकता पूरा गरियो । बिहेको लगन हेराइयो । लगन जु¥योः जेठको एघार गते । त्यो जेठ एघार धेरै टाढा थिएन, एकहप्ता पर मात्र थियो ।
आखिर मेरी जन्मजात गलफनसँगै मेरो बिहे धुमधामसाथ पञ्चेबाजा बजाउँदै सम्पन्न भयो । बिहेकै दिन मात्र थाहा पाएँ कि उसको नाम ’देवी’ नभएर ’देवकुमारी’ पो रहेछ !
त्यो निर्णायक दिनको मेरो प्रश्नले ऊ मर्माहत भइरहेको बुझिसकेको थिएँ। मेरो अडबाङ्गे प्रश्नले उसको मनमा चिथोरिएको घाउ पुरिएको थिएन। घाइते तुल्याइएको मेरी प्यारी ’गलफन’ को दिलमा मलहम लगाइदिनु नै थियो मैले। बिहेको केही वर्षपछि उसलाई मैले स्कूल भर्ना गरिदिएँ । उसले प्राथमिक कक्षादेखि सुरु गरेर दश कक्षासम्म पढी सिध्याई । उसले एसइई पनि ’बि प्लस’ ग्रेड ल्याएर पास गरी । अहिले ऊ कलेज जाने तर्खरमा छे ।
०००
रुकुमपश्चिम