खजुरामा पहिलोपटक राष्ट्रियस्तरको ब्याडमिन्टन हुँदै
Saturday, April 9th, 2022, 6:08 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकामा पहिलोपटक राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । खजुरामा रहेको खजुरा ब्याडमिन्टन क्लबले ‘बी’ तहको प्रथम राष्ट्रिय ब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७९ आयोजना गर्न लागेको हो ।
क्बले शनिबार खजुरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जनकारी दिएको छ । कार्यक्रममा क्लबका अध्यक्ष भक्तबहादुर गोदार क्षेत्रीले खजुरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको बताए । अध्यक्ष क्षेत्रीले भने, ‘हामीले खजुरालाई चिनाउन र यो क्षेत्रमा ब्याडमिन्टनको क्रेजलाई बढाउन प्रतियोगिताको आयोजना गर्न लागेका हौं । र खजुरामा क्लबले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलोपटक हो ।’
नयाँ वर्ष २०७९ को अवसरमा आयोजना हुने प्रतियोगिता बैशाख १ गतेदेखि ३ गतेसम्म संचालन हुने क्लबका सचिब लक्ष्मण कार्कीले बताए । प्रतियोगिता खजुरा गाउँपालिका–३, क गाउँमा निर्माणाधीन खजुरा ब्याडमिन्टन कवर्ड हलमा हुने उनले बताए ।
प्रतियोगितामा मेन्स डवल्स र भेट्रान्स डवल्स गरी दुई विधामा प्रतियोगिता खेलाइने छ । प्रतियोगितामा देशभरका ६० टिमले भाग लिने अनुमान आयोजकको रहेको छ । तर हालसम्म २४ वटा टिमले नाम दर्ता गराइसकेको अध्यक्ष क्षेत्रीले बताए । जसमा बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलालीका टिम रहेका छन् ।
प्रतियोगितामा भेन्ट्रान्स डबल्सतर्फ ४५ वर्षभन्दा माथि उमेर समूहलाई खेलाइने छ । साथै प्रतियोगितामा कुनै पनि राष्ट्रिय, प्रदेश वा क्षेत्रीयस्तरका खेलाडीले खेल्न नपाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मेन्स डवल्सतर्फको विजेता टिमले ३० हजार, दोस्रोले २० र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैगरी भेट्रान्स डवल्सतर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने टिमले १० हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा एक टिमबाट दुई जनाले खेल्न पाइने नियम बनाइएको छ । प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको छ । शुल्क तिरेबापत उनीहरुलाई आयोजकले आकर्षक टि–शर्ट प्रदान गर्ने भएको छ । ‘खेलाडीले केबिसी लेखेको टि–शर्टमात्र लगाउन पाउने छन् । अन्य प्रायोजकको टि–शर्ट लगाउन बन्देज गरिएको छ,’ अध्यक्ष गोदारले भने ।
प्रतियोगिता संचालन गर्न ६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि खजुरा गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष क्षेत्रीले बताए ।
त्यस्तैगरी क्लबले यो प्रतियोगितालाई वार्षिक क्यालेण्डरमा राख्नेसमेत जनाएको छ । साथै खजुरामा ब्याडमिन्टको आकर्षण र खेलाडी उत्पादन गर्न क्लबले विद्यालयस्तरबाट ब्याडमिन्टन प्रशिक्षण सुरु गर्ने जनाएको छ ।
४० प्रतिशत निर्माण सम्पन्न
बाँकेको खजुरामा रहेको खजुरा ब्याडमिन्टन क्लबको निर्माणाधीन भवनको काम ४० प्रतिशत सम्पन्न भएको छ । तीन वर्षदेखि निर्माण थालनी गरिएको भवन बजेट अभावका कारण हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको हो ।
क्लबले आगामी बैशाख १ गतेदेखि सोही निर्माणाधीन भवनमा प्रथम राष्ट्रिय व्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७९ संचालन गर्दैछ । जसका लागि खेल मैदान बनाउन क्लबले जोड गरिरहेको छ ।
शनिबार प्रतियोगिताका बारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा भवनका विषयमा जानकारी गराइएको छ । क्लबका अध्यक्ष भक्त बहादुर गोदार क्षेत्रीले भवन निर्माणका लागि क्बल, खजुरा गाउँपालिका र प्रदेश सांसद कोषबाट आएको रकमले भवनको निर्माणको काम भई रहेको बताए ।
हालसम्म भवन निर्माणका लाग खजुरा गाउँपालिकाले ४० लाख रुपैयाँ विनियोजन गरी सकेको छ । भने प्रदेश सांसद कोषबाट पाँच लाख रुपैयाँ प्राप्त भएको छ । साथै क्लबमा भएका सदस्यहरुले पनि रकम उठाएका थिए ।
भवन निर्माणमा महंगीले गर्दा धेरै प्रभाव पारेको अध्यक्ष क्षेत्रीले बताए । उनले भने, ‘अहिल निर्माण गर्ने हरेक सामानको मूल्य बढेको छ । हामी बजेट आए पनि लिन नसक्ने अवस्थामा अहिल छौं । किनभने सरकारले पुरानो मूल्यमा बजेट विनियोजन गर्छ । तर मूल्य बढेका कारणले सो रकम लिन सक्ने अवस्था पनि छैन ।’
२०७६÷०७७ सालमा निर्माणाधीन भवनमा ९० लाख रुपैयाँको रकम अनुमानित गरिएको थियो । तर निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले कूल लागत दुई करोड रुपैयाँ पुगेको अध्यक्ष क्षेत्रीले बताए ।