भौतिक पुर्वाधारमा फड्को मार्दै खजुरा
Tuesday, April 12th, 2022, 5:05 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
संघीयताको पहिलो अभ्यास धेरै स्थानीय तहका लागि नयाँ थियो । थुपै्र चुनौतिका बिच स्थानीय तहले आफनो स्रोत साधन र बजेटलाई सहि ढंगले परिचालन गर्दै विकास निर्माणका काम गरे । यस्तै पर्छ बाँकेको खजुरा गाउँपालिका । जसले पछिल्लो पाँच वर्षमा भौतिक पुर्वाधारका क्षेत्रमा निकै उत्कृष्ट ढंगले फड्को मारेको छ । नगरपालिका उन्मुख खजुरा बाँकेमा अन्य पालिका भन्दा शिक्षा र पुर्वाधारमा धनी छ । तर पछिल्लो समयको प्रगतिले भने खजुराका जनतामा थप उत्साह थपिदिएको छ ।
‘जनताले सबैभन्दा बढी पूर्वाधार विकासको चाहना राखेका थिए । सोही अनुरुप हामीले त्यसको अपनत्व लिएर पहिलो वर्षदेखि पूर्वाधार विकासलाई जोड दिँदै आएका छौं । पूर्वाधार विकासमा पालिकाको अरुभन्दा धेरै बजेट खर्च गरेको छ,’ गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति भन्छन् ।
खजुरा गाउँपालिकाले पूर्वाधार विकासअन्तर्गत पालिकामा सडक निर्माणदेखि भवन निर्माणका धेरै काम गरेको छ । जुन उपलब्धीमूलक रहेको छन् ।
सामुहिक आवास घर निर्माण
खजुरा गाउँपालिकाले पूर्वाधार निर्माणअन्तर्गत गरेको राम्रो काममध्ये सामुहिक आवास घर निर्माण हो । खजुरा गाउँपालिकाले हालसम्म पालिकाका विभिन्न स्थानमा ४० बढी सामुहिक आवास घर निर्माण गरिसकेको छ ।
पालिकाले विभिन्न विपन्न परिवारका लागि सो घर निर्माण गरेको हो । जसमा खजुरा गाउँपालिका–३, क गाउँमा निर्माण गरिएको आवास घरको उद्घाटन गरेका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले सामुहिक आवास निर्माण गरी विभिन्न परिवारलाई हस्तान्तरण गर्नु खजुरा गाउँपालिकाको नमूना काम भएको बताउँदै खजुरालाई बधाई दिएका थिए ।
पालिका अध्यक्ष कक्षपतिले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सामुहिक आवस घर निर्माण गरिएको बताउँछन् ।
पालिकाका योजना शाखा प्रमुख दिलबहादुर पौडेल सामुहिक आवास योजनाअन्तर्गत ८८ लाखको लागतमा आर्थिक वर्ष २०७५÷०७६ मा खजुरा गाउँपालिका–७ को गुनाहना, बठवालगायत विभिन्न स्थानमा २२ घर निर्माण भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा वडा नम्बर ३ मा ७४ लाखमा १६ घर निर्माण गरिएको थियो ।
आर्थिक वर्ष २०७६÷०७७ मा पुरै काम सम्पन्न गर्न नसकिएपछि आर्थिक वर्ष २०७७÷०७८ मा आवास घरमा शौचालय निर्माणको काम सम्पन्न गरिएको थियो ।
साथै आर्थिक वर्ष २०७८÷०७९ मा पनि सामुहिक आवास घर निर्माण गरिएका छन् ।
प्रशासनिक भवन निर्माण
खजुरा गाउँपालिकाले पालिकाको वडा नम्बर ३ बी गाउँमा आफ्नै प्रशासनिक भवन निर्माण गर्दै छ । ५ करोड ३६ लाख लागतमा पालिकाले आधुनिक भवनको निर्माण प्रक्रिया सुरु गरिसकेको छ । जसको भौतिक निर्माणको काम तीव्र गतिमा चलिरहेको छ ।
योसँगै पालिकाले हालसम्म पालिकाका ७ वटा वडालाई आफ्नो भवनमा संचालन गरिसकेको छ । जसमा वडा नम्बर १, २, ५, ६, ७ र ८ वडाहरुको आफ्नै भवन निर्माण भई संचालनमा रहेको छन् । भने वडा नम्बर ३ खजुरा बजारमा रहेको कृषि भवनमा संचालित छ । जुन भवन पालिकाको स्वमित्वमा आइसकेको छ । साथै वडा नम्बर ४ का लागि ई गाउँमा रहेको स्वास्थ्य कार्यालय नजिक भवन निर्माणका लागि पालिकाले वडासँग सहकार्य गरेता पनि केही प्राविधिक कारणले सो काम सम्पन्न हुन सकेको छैन् ।
अस्पताल निर्माण
भरतपुर क्यान्सर अस्पताल पछिको ठूलो सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रहेको सर्ववित्तितै छ । जसले क्यान्सरलगायत ओपिडिको पनि सेवा दिँदै आएको छ ।
योसँगै खजुराले थप १५ शै्ययाको अस्पताल निर्माण गरिरहेको छ । खजुरा गाउँपालिका–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्ति गर्दै १५ शै्याको अस्पताल निर्माण सुरु गरेको हो । जुन शिलान्यास २०७७ मंसिर १५ गते गरिएको थियो ।
नेपाल सरकार संघको १८ करोड ६ लाख रुपैयाँ लागतमा उक्त अस्पतालको भौतिक निर्माणको काम संचालनमा रहेको छ ।
अध्यक्ष कक्षपतिले खजुरामा निर्माण हुने अस्पताल स्वास्थ्य हब बनाउने लक्ष्यमा कोशेढुंगा सावित भएको बताउँछन् । गाउँपालिका उप–प्रमुख एकमाया विक जनतालाई सर्वसुलभरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले पालिकास्तरमै अस्पताल निर्माण भएको बताउँछिन् ।
यसका अलवा पालिकाले सबै वडामा स्वास्थ्यको पहुँच दिन आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीका भवन निर्माण गरिसकेको छ ।
त्यस्तै खजुराले पूर्वाधार निर्माणमा पहिलो आर्थिक वर्षदेखि नै सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको थियो । पालिकाले हालसम्म सबै वडामा गरी ४४ किलोमिटर कालोपत्रे गरिसकेको योजना शाखा पौडेलले बताए । साथै एक सय ५० किलोमिटर ग्राभेल पनि गरेको उनले बताए ।
योसँगै वर्षौदेखि पुल नहुँदा सास्ती भोगिरहेको वडा नम्बर ७, करेलीबाख्राका जनताका लागि पालिकाले ट्रस पुलको पनि निर्माण गरिसकेको छ । तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत ३१ लाखमा उक्त पुल निर्माण गरिएको हो ।
खजुराका अर्को ठूला उपलब्धी निर्माणाधीन आधुनिक सभाहल हो । जुन वडा नम्बर ३, खजुरामा निर्माण भई रहेको छ । ५ करोड ४८ लाखमा उक्त सभाहलको निर्माण सुरु गरिएको हो । सात कट्ठामा निर्माण भई रहेको उक्त सभाहलको भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै खजुराले किसानका उत्पादनलाई भण्डारण गर्न शितभण्डारको पनि निर्माण गरिरहेको छ । जसको निर्माण कार्य अन्तिम चरणमा पुगेको योजना प्रमुख पौडेलले बताए ।
खजुरा गाउँपालिका वडा नम्बर ५ मा १५ कट्ठा जमिनमा ६ करोड १४ लाख रुपैयाँको लागतमा शितभण्डार निर्माणको काम सुरु भएको हो । जसमा हालसम्म तीन करोड रुपैयाँ खर्चेर गाउँपालिकाले भौतिक निर्माण सम्पन्न गरिसकेको छ ।
पालिका अध्यक्ष कक्षपति आफूले जनताका सामु गरेका बाचा भन्दा धेरै भौतिक निर्माणका काम सम्पन्न भएको बताउँछन् । पाँच वर्षको अवधिमा खजुराले भौतिक निर्माणका क्षेत्रमा निकै फड्को मारेको कक्षपतिले बताए ।