क्रिकेट मैदान तयार पार्दै क्रिकेट संघ
Tuesday, April 12th, 2022, 9:37 pm
Kalpristha
नेपालगन्ज क्रिकेट कप लिग प्रतियोगिता–२०७९ को तयारी तिव्र गतिमा बढिरहेको छ । आयोजक बाँके जिल्ला क्रिकेट संघका अनुसार अहिले प्रतियोगिता हुने स्थल कोहलपुर क्रिकेट मैदानलाई तयार पार्ने काम भैरहेको छ । क्रिकेट मैदानमा पानी हालेर थोरै भएपनि घाँस उमार्ने र पिच बनाउने काम भैरहेको संघले जनाएको छ । मैदान नजिकै रहेको नालाबाट पानी तानेर हरेक दिन मैदानमा पानी हाल्ने काम भैरहेको संघले जनाएको छ ।
बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईका अनुसार अहिले क्रिकेट मैदानलाई तयारी गर्ने काम भैरहेको छ । उनले भने, ‘समय निकै कम छ । छोटो समयको तयारीले हामीले लिग प्रतियोगिता गर्नु पर्ने अवस्था छ । क्रिकेट प्रतियोगिताको तालिका निकै व्यवस्थ छ । त्यसलाई मिलाएर प्रतियोगिता आयोजना गरिरहेका छौं । क्लब लिग क्रिकेटको लागि कोहलपुरमा अहिले पिच राम्रो बनाउने र मैदानमा पानी हाल्ने काम भैरहेको छ ।’
अध्यक्ष प्रसाईले पहिलो पटक क्लब लिग गर्न लागेकोले धेरै टिमलाई सहभागी गराउन नसकिने बताए । उनले थपे,‘लिग क्रिकेट भएकोले प्रतियोगिता आयोजना गर्न धेरै समय र प्राविधिक टिम चाहिन्छ । सुरुआतमा दर्ता गर्न आउने ८ टिमलाई हामीले प्राथमिकतामा राख्नेछौं ।’
यसैगरी कोहलपुर क्रिकेट मैदानलाई थप व्यवस्थित बनाउने काममा लागेको बताउँछन अध्यक्ष प्रसाई । कोहलपुर नगरपालिकाको सहयोगमा मैदानको वरीपरी तारबार गर्ने काम सकिएको उनले बताए । मैदानलाई थप व्यवस्थित गर्ने काममा संघ लागिरहेको उनले बताए ।
बाँके जिल्ला क्रिकेट संघले बैशाखको १७ देखि कोहलपुर स्थित कोहलपुर क्रिकेट मैदानमा नेपालगन्ज क्रिकेट कप लिग प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ ।
ट्वान्टी–२० फरम्याटमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बाँके जिल्ला रहेका क्लबलाई सक्रिय बनाउनको लागि प्रतियोगिता गर्न लागेको संघले जनाएको छ । प्रतियोगितामा सहभागी हुने क्लबले वैशाख १० गते सम्म बाँके जिल्ला क्रिकेट संघमा टिम दर्ता गर्नु पर्ने संघले बताएको छ ।