त्रिपुराकोटबगरमा पहिलोपटक पुगे मालवाहक ट्रक
Friday, May 6th, 2022, 4:41 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २३ वैशाख
त्रिपुरासुन्दरी नगरपालिका केन्द्र कोटवगरमा पहिलोपटक मालवाहक ट्रक पुगेका छन् । रुकुम पश्चिमसँग जोडिएको करबगाड खोला र खदाङ्गको हरियापानीमा बेलिब्रिज बनेपछि रुकुमपश्चिमको छहरेबगरदेखि त्रिपुराकोट बगरमा मालवाहक ट्रक संचालनमा आएका छन् ।
आफ्नै घरआगनमा मालवाहक ट्रक गुडेदेखि स्थानीय भक्तसिं कठायतले अब भने आफुहरुको जीवनशैलीमा सुधार आउने बताए । उनले भने, ‘सिधा यातायातको अभावमा धेरै ठाउँमा दैकिउपभोग्यबस्तु लगायत निर्माण सामाग्री मानिसद्वारा पल्टी गर्दा महँगो पर्न गइरहेको थियो, मालवाहक सवारी नै घरआगनमा आएपछि अवको केहि समयपछि सस्तो मुल्यमा पाइने छ ।
त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करबगाड र खदाङ्गमा पर्ने ठूलीभेरी नदीमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएपछि मालवाहक ट्रक संचालनसंगै रुकुम पश्चिमको आठविसकोट नगरपालिका ४ मा पर्ने छहरेवगर देखि डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायातमा जोडिएको छ । बेलिब्रिज बनेपछि पहिलोपटक सवारीसाधनले ठूलीभेरी नदी तर्न पाएका छन् । एकोइन्फ्रा बिल्डर्स कम्पनीले करबगाड र खदाङ्गमा बेलिब्रिज निर्माण गरेको हो ।
जाजरकोट डोल्पा सडकखण्ड अन्र्तगत भेरीनदी र अन्य २ खोलामा पर्ने ४ ठाउँमा बेलिब्रिज निर्माण कार्यको जिम्मेवारी पाएको बिल्डर्सले पहिलो चरणमा करबगाड र खदाङ्गमा बेलिब्रिज निर्माण गरेको छ ।
यसअघि बिल्डर्स कम्पनीले जाजरकोट रुकुमपश्चिम जोड्ने तल्लुवगरमा पर्ने भेरीनदीमाथि झण्डै १७ लाखको लागतमा अस्थाई बेलिब्रिज निर्माण गरेर बेलिब्रिज निर्माण सामाग्रीहरुको ढुवानी कार्य सम्पन्न गरेको थियो ।
.
करबगाड र खदाङ्गमा बेलिब्रिज निर्माण सम्पन्न भएसंगै त्रिपुराकोट र सुँपानीमा पर्ने भेरीनदी ठूलीभेरीनगरपालिका ७ मा पर्ने रुपगाड खोलामा निमार्णाधिन अवस्थामा रहेका बेलिब्रिजका सामाग्रीहरु त्रिपुराकोटबगरमा ढुवानी भइरहेको कम्पनीका प्रतिनिधि पुर्ण थापाले जानकारी दिए । उनका अनुसार रुपगाडखोला र त्रिपुराकोटमा पुल निर्माणको लागि आवश्यक पर्ने आधारभूत निर्माणको काम सम्पन्न भइसकेको र निर्माण सामाग्री ढुवानी भइसकेपछि पुल जडान कार्य शुरु गरिने छ ।
त्रिपुराकोटमा पर्ने भेरीनदीमा लगाईने बेलिब्रिजको पुल जडानस्थल साँघुरो भएकाकारण आवश्यक पर्ने जग्गाको लागि जग्गाधनीहरुसंग छलफल भइरहेकोले समस्या समाधान हुनेवित्तिकै कामले तीब्रता पाउने कम्पनीका प्रतिनिधि थापाको भनाइ छ ।
सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुरेश बस्यालले बेलिब्रिज निर्माणको ७० प्रतिशत काम सकिएको बताए ।
जाजरकोटको तल्लुवगर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने छलगाड भेरीनदी र रुपगाडखोलामा बेलिब्रिज पुल नहुँदा यात्रुहरुले पिठयुँमै बोकेर सामाग्री वारपार गराउदै आएका छन् भने निर्माण सामाग्री र दैनिक उपभोग्यबस्तुहरु पनि मानिसहरुले नै बोकेर ओसार्ने गरेका छन् । भर्खरै मात्र करबगाड खोला र खदाङ्गमा बेलिब्रिज बनेपछि सामाग्री ढुवानी गर्न सहज भएको ब्यापारी जनक भण्डारीले बताए ।
निर्माणधिन त्रिपुराकोट सुँपानी जोड्ने भेरीनदी माथिको पुल र रुपगाडखोलामाथिको पुल निर्माण भएपछि डोल्पालीको हालको महँगो जीवनशैलीमा ७० प्रतिशतले सुधार आउने ठूलीभेरीनगरपालिका ९ मोतिपुरका अमरसिं कठायतले बताउनु भयो ।सरकारले डोल्पालीको महँगो र कस्टपुर्ण जीवनशैलीमा सुधार ल्याउन त्रिपुराकोटमा पर्ने छलगाडखोला चुँगाड र जाजरकोट तल्लुबगरमाथिको पुल निर्माण गर्न आवश्यक रहेको कठायतको भनाइ छ ।