एमपी स्कुलले भत्कायो क्रिकेटका संरचना
Saturday, May 7th, 2022, 8:39 pm
Kalpristha
नेपालगन्जको मंगलप्रसाद उच्च माविले विद्यालयको पर्खाल निर्माण गर्ने क्रममा विद्यालयमा रहेको क्रिकेट संरचना भत्काएको छ । विद्यालयले क्रिकेटका संरचना भत्काएपछि खेलाडीलाई दैनिक अभ्यासको लागि समस्या पर्ने देखिएको छ । नेपालगन्जमा क्रिकेट खेलाडीलाई अभ्यासका लागि एक मात्र मैदानका रुपमा चिनिन्छ मंगलप्रसाद क्रिकेट मैदान ।
नेपालगन्जको मंगलप्रसाद उच्च माविमा रहेको क्रिकेट मैदान यस क्षेत्रको निकै पुरानो क्रिकेट मैदान हो । जहाँबाट यस क्षेत्रका हजारौं खेलाडीले आफनो क्रिकेट खेल करियरको सुरुआत गरेका थिए ।
महिला क्रिकेटको उद्गम स्थलका रुपमा लिइन्छ मंगलप्रसाद उच्च माविको क्रिकेट मैदान । तर पछिल्ला केहि वर्ष देखी विद्यालय व्यवस्थापन समिति र क्रिकेट संघबिच मैदानको विषयलाई लिएर केहि मतभिन्नता उत्पन्न भएको थियो । विद्यालयले दैनिक पठन पाठनमा असर गरेको भन्दैं क्रिकेटका गतिविधिलाई आफनो मैदानमा रोक लगाउने प्रयास गरिरहेको थियो ।
बाँके जिल्ला क्रिकेट संघको पहलमा विद्यालयको शैक्षिक क्रियाकलापलाई प्रभावित नगर्ने गरी प्रतियोगिता र अभ्यास गर्ने सहमति भएको थियो । तर विद्यालय व्यवस्थापनले क्रिकेट खेलाडीको भावनालाई वेवास्ता गर्दै संघले निर्माण गरेका संरचना पुर्व जानकारी बिना भत्काएको छ । विद्यालयको त्यस्तो कार्यले खेलाडीलाई निकै असर पर्ने बताउँछन् क्रिकेटका पुर्व खेलाडी मेराज अन्सारी ।
अन्सारी भन्छन,‘विद्यालय नेपाल सरकारको हो । समुदायको पनि हो । यस समुदायमा अधिकांस विद्यार्थीले क्रिकेट खेल्छन । खेलाडीले खेल्न पाउनु पनि अधिकारको विषय हो । शिक्षासँग खेलकुद पनि जोडिएको छ । क्रिकेट संघले त्यत्रो दुःख गरेर बनाएको संरचना जानकारी बिना भत्काउनु गलत कार्य हो । यसका विषयमा हामी बिरोध गछौं ।’
बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोबर प्रसाईले विद्यालय व्यवस्थापनले गरेको कार्य दुखदपुर्ण कार्य भएको बताए । कुनै जानकारी बिना क्रिकेटका संरचना भत्काउनु गैरजिम्मेवारी पुर्ण कार्य भएको अध्यक्ष प्रसाईले बताए ।
उनले भने,‘मंगल प्रसाद क्रिकेट मैदान हाम्रो लागि निकै महत्वपुर्ण स्थान हो । यसले बाँकेको क्रिकेटलाई जोगाएको छ । हामी मंगलप्रसाद माविको विकल्पको खोजि गरिरहेका छौं । त्यसको व्यवस्थापन हुँदैछ । तर आज आएर हामीले बनाएका संरचना विद्यालयले जानकारी बिना भत्काउनु भनेको गैरजिम्मेवारी पुर्ण काम हो । यसले समाजमा नकारात्मक असर गर्छ ।’
मंगलप्रसाद उच्च मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष ब्रिजेश सिंहले क्रिकेट खेल र खेलाडीसँग आफनो कुनै दुस्मनी नभएको बताए । विद्यालयले भौतिक पुर्वाधार विस्तार गर्ने क्रममा क्रिकेटका संरचना भत्काउनु परेको कालपृष्ठ दैनिकसँग बताए ।
सामाजिक विकास मन्त्रालयको ९ लाख आर्थिक सहयोगमा विद्यालयले अहिले दक्षिण तर्फको पर्खाल निर्माण गर्ने काम गरिरहेको छ । त्यसमा २० प्रतिसत विद्यालयले खर्च गर्नेछ । यसैगरी विद्यार्थीको लागि पानी पिउने व्यवस्था गर्नको लागि १ लाख ५० हजार सहयोग प्राप्त भएको छ । त्यसबाट पिउने पानीको विद्यालयले व्यवस्था गरिरहेको अध्यक्ष सिंहले बताए ।
सिंहले क्रिकेटका वास्तविक खेलाडीलाई दैनिक अभ्यास गर्न विद्यालयले कहिलैं पनि रोक नलगाउने बताए । तर खेलाडीको नाममा विद्यालयमा गैरसामाजिक क्रियाकलाप हुने भएकोले त्यसलाई रोक्ने प्रयास विद्यालयले गरेको बताउँछन सिंह ।
उनले भने,‘क्रिकेटसंग हामीहरुको कुनै रिसिबी छैन । हामीले विद्यालयले संरचना निमार्ण गर्न पाउने कि नपाउने । विद्यालयमा २४ सय विद्यार्थी छन । उनीहरुलाई पिउने पानीको अभाव छ । दक्षिण तर्फको पर्खालबाट गैरविद्यार्थी प्रवेश गरेर मैदानमा अभद्र कार्य गर्छन । यसलाई मात्र हामीले रोक्न खोजेको छौं । क्रिकेटका लागि मैदान हामी दिन्छौं ।’
पुर्व क्रिकेटर अन्सारीले भने विद्यालयले संरचना भत्काउँदा सहकार्य गर्नु पर्ने बताउँछन । उनले थपे,‘विद्यालयले भौतिक पुर्वाधार विस्तार गर्नु पर्छ । यदि त्यस्तो योजना थियो भने हामीले संरचनालाई केहि जोगाउन प्रयास गर्न सक्थ्यौं । तर जानकारी बिना लाखौं रकम खर्च गरेर निर्माण गरिएका संरचना बिग्रियो । यसले खेलाडी र संघलाई धेरै क्षति भएको छ ।’