जनताको सेवक बनेर काम गर्ने अठोट लिएको छु : डम्बर विक
Tuesday, May 10th, 2022, 6:20 am
Kalpristha
बाँकेमा रहेको खजुरा गाउँपालिका समृद्धिको संघारमा रहेको पालिका हो । विभिन्न जाती, धर्म, समुदायको बसोबास रहेको खजुरामा १० वर्षे युद्धकालिन माओवादी द्वन्द्वको पनि प्रभाव रह्यो । समाजिक भेद्भाव र समाज परिवर्तनका लागि गरिएको सो द्वन्द्वमा सक्रिय भूमिका निभाउने मध्येका डम्बर विक ‘तुफान’ को नाम अग्रपंक्तिमा आउँछ । विभिन्न आन्दोलनमा सरिक भई राजनीतिमा सक्रिय रहेका तुफानले खजुराको परिवर्तका लागि यति बेला गठबन्धनका तर्फबाट पालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् । पालिकाको अध्यक्ष पदका लागि हावी देखिएका तुफानसँग गरिएको कालपृष्ठ संवाद् …
गठबन्धनको चुनावी प्रचारप्रसार कस्तो भई रहेको छ ?
चुनावी माहोल निकै उर्जासिल छ । हामीले पहिलो चरणमा उम्मेदवारी दिइसकेपछि घरदैलो कार्यक्रम चलायौं र सबै वडामा वडा अध्यक्षहरुलगायतका सबै उम्मेदवारहरुले जनाताको घरदैलोमा पुगेर जनताका कुरा सुन्ने, जनताका समस्याहरु बुझ्ने अनि हामीले के गर्ने भन्ने प्रतिवद्धता गर्दे गयौं । यसमा खजुरावासीले राम्रो प्रतिक्रिया दिनु भयो । हामीलाई निकै उत्साहपूर्र्वक जनताले साथ दिए । सबै वडाहरुमा पाँच सयदेखि हजार जना वडावासीको सहभागितामा घरदैलो भएको छ । त्यसैले खजुरा चुनावमय बनाउन हाम्रो गठबन्धनले सहयोग गरेको मैले अनुभुती गरेको छु ।
गठबन्धनबाट तपाईलाई खजुरा गाउँपालिकाको अध्यक्षमा दिएको उम्मेदवारीलाई खजुरावासीले कसरी स्वीकारी रहेका छन् ?
पहिलो कुरा गठबन्धनबाट अध्यक्ष स्वीकार्ने भनेकै जनतामा घुलमिल भएको जनताको नेतृत्व गरेका, विभिन्न संठनबाट लोकतान्त्रिक आन्दोलनमा त्याग तपस्या गरेका, जेलनेल खाएका सबै कार्यकर्ता स्वीकार्ने भनेकै जनआधार र जनताले स्वीकार्ने पक्ष नै हो । र दोस्रो कुरा मैले पनि लामै समयसम्म यहि भूमिका टेकेर महान जनयुद्धको बाँके बर्दियाको सेकेरेटरी भएरै मैले चाही नेतृत्व प्रदान गरे । र मैले यो गणतन्त्र प्राप्तिका निम्ती खजुराका सबै दलहरुलाई एकजुट बनाउन र नेपालगन्जमा आन्दोलन गर्ने भूमिका खेलेँ । र पछिल्ला चरणहरुमा समाजिक विकास, सामाजिक न्याय र भौतिक पूर्वाधारका लागि विभिन्न ढंगबाट मैले जो पहलकदमी गरे त्यसलाई जनताले नजिकबाट बुझ्नु भएको छ र मेरो उम्मेदवारीप्रति उत्साहित हुनु हुन्छ ।
तपाईँलाई नै खजुरावासीले भोट दिएर जिताउने किन ?
अहिले व्यवस्थामा आफ्ना विचारहरु राखेर उम्मेदवारी दिनु सबैको कर्तव्य हो । त्यस्तै मेरो सन्दर्भमा लामो समयदेखि संघीय गणतन्त्र नेपाल ल्याउन मैले राजनीतिमा जे–जस्तो त्याग तपश्या, जे जस्तो जेलनेल खाएको छु, यो कुरा खजुराका जनतालाई प्रत्यक्ष थाहा छ । यो अहिलेको सरकार भनेको संघीय सरकारले एउटा स्थानीय तहको सरकार हो । जो जनताबाट प्रत्यक्षरुपमा निर्वाचित हुन्छ । यो हामीले नै ल्याएको र यसका लागि मैले जे जस्ता मेहेनतहरु गरे त्यसको नेतृत्व गर्न र सहि ढंगबाट कार्यान्वयन गर्नका लागि मेरो उम्मेदवारी अगाडि बढेको छ । र जनताले साथ दिनु भएको छ ।
तपाई निर्वाचित भईसकेपछि तपाईले प्राथमिकता दिएर गर्ने कामहरु के–के छन् ?
पहिलो कुरा भनेको खजुरा गाउँपालिकाको स्थानीय विशेषता आफ्नै छन् । जस्तै स्थानीय तह कहाँ टिकेको छ, उसको आर्थिक आधार के हो, उत्पादन सम्बन्ध के हो, त्यो पहिले बुझ्नु पर्छ । हाम्रो गाउँपालिका भनेको कृषिमा आधारित गाउँपालिका हो । त्यसैले कृषिलाई आधुनिकिकरण गर्दै, कृषिलाई वैज्ञानीकरण गर्दै, व्यवसायिकरण गर्ने र त्यसलाई कृषिमा आधारित उद्योगहरु खोल्ने साथै बाहिरबाट लगानी भित्र्याउनुका लागि मैले नेतृत्व प्रदान गर्नु पर्छ । त्यस्तै जनताका अतिआवश्यक भौतिक कुराहरुको पहुँचता बढाउने । निर्माण भएका सडकहरुमा खाल्डाखुल्डीले गर्दा जनताहरु भिड्न मिलिरहेको छैन । जहाँ बिजुली र खानेपानीको पहुँच पुगेको छैन । यी आधारभूत आवश्यकताका सम्बोधन गरिन्छ । अर्को कुरा शिक्षा, स्वास्थ्यका सन्र्दभमा पनि खजुरालाई कसरी लैजाने भन्ने मोडका रुपमा विकाश गर्नु पर्छ । कक्षा १२ सम्म कुनै न कुनै ढंगले निःशुल्क शिक्षा दिएर यहाँदेखि देशव्यापी रुपमा प्रतिस्पर्धा गराउने वातावरणको सृजना गर्नु पर्छ । खजुरामा कुनै पनि जनता स्वास्थ्यको समस्याबाट मृत्युु नहोस भनेर स्वास्थ्यको पहुँच पुर्याउने पनि प्रतिवद्धता गरेका छौं । खजुरावासी जनतामा जसको जहाँ पहिचान छ, संस्कृति छ, सोही रुपमा विकास गरेर पर्यटकीय सम्भावना बढाउने र जनताका जीवनमा परिवर्तन ल्याउन प्रतिवद्धतासहित अठोट गरेका छौं ।
तपाईको राजनीति यात्रा अरुको भन्दा अलि फरक छ । आफ्नो राजनीतिक जीवनलाई कसरी हेर्नु भएको छ ?
मैले विशेषगरी समाजमा देखिने अन्याय, अत्याचारहरुविरुद्ध आवाज उठाउनु पर्छ भनेर लागेको हो । हिजो समाजमा छुवाछुतका रुपमा देखिएका अपमान र विभेद्हरु, आर्थिकरुपमा धनीहरुले गरिबहरुलाई दमन गर्न तमसुल गराइ उठिबास गराएका कुराहरु, गाउँमा सरकारको पहुँच नपुगेर भएका अन्यायहरु कुराहरु मैले सानो बच्चामा देखे र मेरो दिमागमा पर्यो । त्यतिबेलैदेखि जनमोर्चा नेपालको तर्फबाट देशव्यापीरुपमा सुरु भएको आन्दोलनमा म राजनीतिक रुपमा सरिक भए । र मैले लामै समयदेखि समाज परिवर्तनमा होमिए । राजन्तत्रका विषयमा होस्, संघीयताका विषयमा लामै समयदेखि म सरिक भए । जनआन्दोलनबाट शान्ति प्रक्रिया भई यहाँसम्म आइपुग्दा मलाई लाग्छ २८ वर्ष मेरो राजनीतिमा जीवन बितेको छ । जहाकी मैले मेरो आफ्नो परिवार, आफ्नो निजी जीवन त्यति बिताउन पाइन् । जनताकै निम्ती, परिवर्तनकै निम्ती, राजनीतिमा लागिरहे । त्यसैले मेरो जीवननै राजनीतिक जीवन हो । जहाँकी जनताको म सेवक बन्न चाहान्छु । म सासक हैन सेवक बनेर सेवा गर्ने अठोट लिएको छु । र बाँकी जीवन पनि म जनताको सेवा र राजनीतिमै बिताउने छु ।