स्वर्णधारी सन्जु चौधरीको रहस्यमय मृत्यु
Tuesday, May 10th, 2022, 3:05 pm
Kalpristha
रहस्यमय ढंगले सागकी स्वर्ण पदक विजेता सन्जु चौधरीको मृत्यु भएको छ । उनले काठमाडौं स्थित भाडामा बस्दै आएको कोठामा आत्महत्या गरेकी हुन । उनको आत्महत्याको बारेमा अझै विस्तृत विवरण सार्वजनिक नभएपनि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । नेपाली खेलकुदको उच्च स्थानमा पुगीसकेकी खेलाडीले किन आत्महत्या गरिन भन्ने कुरा अनुसन्धानको विषयका रुपमा देखिएको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला ५९ केजी तौल समूहमा नेपालका लागि सन्जुले स्वर्ण पदक जितेकी थिइन ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा घर भएकी सन्जु मंगलबार बिहान मृत भेटिएकी थिइन् । उनी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा मृत भेटिएको थिइन् । प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी सन्जु बिहान बन्द कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रशिक्षक महर्जनको घरमा आयोजित जात्राको भोजमा सामान्य अवस्थामा सामेल भएकी सन्जु बिहान मृत भेटिएकी हुन् । भोजमा श्रेष्ठसहित अन्य खेलाडी उपस्थित रहेका थिए ।
१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन नेपालगन्जदेखि सन्जु काठमाडौं आएकी थिइन् । २३ वर्षीय सन्जु एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् । उनी छनोटमा सहभागी १६ जनामध्येबाट छानिएकी थिइन् ।
भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको छ । भारोत्तोलनका प्रशिक्षक पार्थ सारथिसेन गुप्ताले अन्त्यष्टिका लागि गृहनगर नेपालगन्ज लैजानु अघि उनको पार्थिव शरीरलाई रंगशालामा राखिएको जानकारी गराए । त्यसपछि अन्तिम अन्त्यष्टिका लागि सन्जुको पार्थिव शरीरलाई बाँके ल्याइने छ ।
पाटन अस्पतालमा सन्जुको पोस्टमाटम गरिएको थियो ।