अर्को ‘सप्राइज’ अपुरो रह्यो सन्जुको
Tuesday, May 10th, 2022, 8:29 pm
Kalpristha
मंगलबार सदाका लागि भारोत्तोलनकी उदयमान खेलाडी सन्जु चौधरी निदायकी छिन् । छोरीले अर्को ‘सरप्राइज’ दिने आशामा रेको सन्जुका बुबाको सपना तुहिएको छ ।
२०७६ को मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारोत्तोलनमा जितेको पहिलो स्वर्ण विशेष थियो।सागको ३५ वर्षको इतिहासमा नेपालका लागि सन्जुले भारोत्तोलनमा पहिलो स्वर्ण जित्दै इतिहास रचेकी थिइन् ।
बाँकेकी सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन् । पोखरामा भएको प्रतिस्पर्धामा ऐतिहासिक स्वर्ण जितेपछि उनले सबैभन्दा पहिला भेरी अस्पतालमा काम गर्ने आफ्ना बुबालाई फोन गरेर खुसी साटेकी थिइन्, सन्जुले । सुरूमा उनका बुबाले छोरीले स्वर्ण जितेको पत्याएका थिएनन्। तर सन्जुले दोहोर्याउँदै भनेपछि उनका बुबा दंग परेको थिए । र अब फेरी अर्को ‘सरप्राइज’ को आशा गरेको सन्जुको बुबाको सपना अधुरै रहने भयो ।
सञ्जुले सागपछि पटक–पटक राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। नेपाली भारोत्तोलनमा उत्कृष्ट खेलाडीको उपमा पाएकी उनीबाट एसियाली खेलकुदमा पदकको आसा गरिएको थियो।
उनी चीनमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएकी थिइन्। त्यसकै तयारीमा रहेकी सञ्जु एसियाली खेलकुदमा पदक जित्दै बुबालाई अर्को ‘सरप्राइज’ दिने योजनामा थिइन्।
तर मंगलबार त्यो सपना तुहिएको छ । स्वर्णधारी सन्जुको रहस्यमय मृत्यु भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा घर भएकी सन्जु मंगलबार बिहानमृत भेटिएकी थिइन् । उनी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा मृत भेटिएको थिइन् । प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी सन्जु बिहान बन्द कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
प्रशिक्षक महर्जनको घरमा आयोजित जात्राको भोजमा सामान्य अवस्थामा सामेल भएकी सन्जु बिहान मृत भेटिएकी हुन् ।भोजमा संघका अध्यक्ष श्रेष्ठसहित अन्य खेलाडी उपस्थित रहेका थिए ।
२३ वर्षीय सन्जु एसियन गेम्सका लागि १६ जनामध्येबाट प्रारम्भिक छनोटमा परेकी थिइन् ।
भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको थियो । भारोत्तोलनका प्रशिक्षक पार्थ सारथिसेन गुप्ताले अन्त्यष्टिका लागि गृहनगर नेपालगन्ज लैजानु अघि उनको पार्थिव शरीरलाई रंगशालामा राखिएको जानकारी गराए ।
पाटन अस्पतालमा सन्जुको पार्थिव शरीरको पोस्टमाटम गरिएको थियो ।
भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको थियो । तस्बिर साभार : खेलपाटी
सन्जुले ‘सुसाइड’ गर्छु भन्ने गर्थिन : श्रेष्ठ
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले साथीहरूलाई भने सन्जुले ख्याल ठट्टामा ‘सुसाइड गर्छु’ भन्ने गरेको आफूले थाहा पाएको बताए।
‘साथीहरूलाई ख्याल–ठट्टा गरेरै सुइसाइड गर्छु भनेकी रहिछन्। त्यसरी पहिला पनि ठट्टा गरेको थियो रे। तर अब मजाक मात्रै गरेको जस्तो लागेको थियो,’ श्रेष्ठले भने, ‘साँच्चै नै समस्या नै भएको भनेको भए त हामी गाइडेन्स दिने थियौं।’
सञ्जुको मृत्युले नेपाली खेलकुदमा ठूलो क्षति पुगेको श्रेष्ठले बताए।
सञ्जुका साथी तथा खेलाडी प्रकाश केसीले पनि सञ्जुले कहिले पनि समस्या देखाउने नगरेको बताए।
छोटो समयमा गोल्ड मेडल ल्याएकी सन्जु
प्रशिक्षक सञ्जय महर्जनसञ्जुले भारोत्तोलन खेल्न थालेको भने धेरै नभएको बताउँछन् । पाँच वर्षअघि उनी क्रिकेट र एथ्लेटिक्स छाड्दै भारोत्तोलनमा प्रवेश गरेको उनले बताए ।
स्कुलमै पढ्दा २०६८ मा क्रिकेट र एथलेटिक्समा राष्ट्रिय प्रतियोगिता खेलिसकेकी उनले त्यतिबेलै स्वर्ण पदक जितिसकेकी थिइन्।
एसईई पास भएपछि उनको स्कुलमात्र बदलिएन खेल पनि परिवर्तन भयो। नेपालगञ्जमा क्याम्पस पढ्न थालेपछि उनी जिम जान थालिन्। जिममा फलामका डल्ला उचाल्दाउचाल्दै उनलाई आफू बलियो हुँदै गएको महशुस भयो। राम्ररी जिम गर्ने सञ्जुलाई नेपालगन्जका भारोत्तोलन प्रशिक्षक सकिल अमद हलवाईले भारोत्तोलनमा ल्याए।
भेरी अञ्चल अस्पतालका कर्मचारी उनका बुबा क्वार्टरमै बस्थे। छोरीले पढ्न छोडेर खेलमा मन डुलाएको उनलाई त्यति मन पर्दैनथ्यो।पछि उनी काठमाडौं आइन् । नेपालगन्ज हुँदा त कम खर्च भए नि हुन्थ्यो। काठमाडौंमा खानादेखि कोठा भाडा सबै व्यहोर्नुपथ्र्यो ।
राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि घर परिवारबाट उनलाई पूर्ण समर्थन आउन थालेको थियो।
भारोत्तोलन खेल्न थालेको तीन वर्षमै उनले नेपाललाई सागमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्।
तीन वर्षअघि पुलिसमा आबद्ध हुँदै भारोत्तोलन खेल्ने गरेकी सञ्जु पछिल्लो समय भने बाँके जिल्लाबाट खेल्ने गरेकी थिइन्।
.