नेप्सेमा उच्च अंकको वृद्धि
Tuesday, May 10th, 2022, 8:28 pm
Kalpristha
मंगलबार नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । नौ दिनपछि नेप्सेमा उच्च अंकको वृद्धि देखिएको हो ।
मंगलबार नेप्से ४४.१६ अंकले २,३१३ विन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि देखिएपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ प्रतिशतले घटेको छ ।
जम्मा ३३ लाख ३० हजार १५० सेयर किनबेच हुँदा एक अर्ब ३५ लाख ६६ हजार रूपैयाँ कारोबार भएको छ । अघिल्लो दिन कारोबार रकम एक अर्ब ३९ करोड ६ लाख रूपैयाँ पुगेको थियो ।
मंगलबार २२६ धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा १९५ वटाको सेयर बढेको छ भने जम्मा २० वटाको मूल्य घटेको हो । कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको सकारात्मक देखिएको छ । सबैभन्दा धेरै फाइनान्सको ३.२७ प्रतिशत, विकास बैंकको २.६५ प्रतिशत र इनभेस्टमेन्टको २.२९ प्रतिशतले बढेको हो ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको पनि सकारात्मक सर्किट ब्रेक लागेको छ । लघुवित्तको अघिल्लो दिन पनि सकारात्मक सर्किट ब्रेक लागेको थियो । यसको लागातार मूल्य वृद्धि भइरहेको छ ।
जाल्पासँगै मंगलबार ङादी ग्रुप पावर लिमिटेड र बरुण हाइड्रोपावरको मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
कम्पनीहरूले हकप्रद सेयर निस्कासनको लागि विद्युत् नियमन आयोगबाट स्वीकृति पाएसँगै कम्पनीहरूको मूल्य बढेको हो ।
बरुण हाइड्रो पावरको प्रति सेयर कारोबार मूल्य चार सय ४७ रूपैयाँ र ङादी ग्रुप पावरको ६ सय ३३ रूपैयाँ पुगेर सर्किट ब्रेक लागेको हो ।
त्यस्तै युनिभर्सल पावर कम्पनीको ९.९७ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९.१७ प्रतिशत र नेसनल हाइड्रोपावर कम्पनीको ९.०८ प्रतिशतले सेयर मूल्य बढेको हो ।
कारोबार रकमको आधारमा पनि ङादी ग्रुप पावरको सबैभन्दा धेरै रकम कारोबार भएको छ । कम्पनीको ९ करोड ९८ लाख ३ हजार रूपैयाँ कारोबार भएको हो ।
यसपछि अरूण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख २३ हजार रूपैयाँ, नेपाल टेलिकमको ३ करोड ८२ लाख ८९ हजार रूपैयाँ, बरुण हाइड्रो पावरको ३ करोड ७४ लाख २६ हजार रूपैयाँ र नबिल बैंकको ३ करोड ६८ लाख ८७ रूपैयाँको कारोबार भएको हो ।