भारतीय सैनिक अधिकारीको टोली लुम्बिनीमा
Wednesday, May 11th, 2022, 2:44 pm
Kalpristha
बुधबार भारतीय सैनिक अधिकारीको टोली लुम्बिनीमा आइपुगेको छ । २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि सैनिक टोली लुम्बिनीमा आएको हो ।
भारतीय प्रधानमन्त्री मोदीको सोही आगमनको पूर्वतयारीका लागि आज बिहान भारतीय वायु सेनाको विमानमार्फत् भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको छ ।
मोदी जेठ २ गते परेको बुद्ध जयन्तीका लागि नेपाल आउने भएका हुन् । जसका लागि भारतीय एयरफोर्सको आइएल ७६ इलुसिन विमानमार्फत् ३० जना भारतीय सैनिक टोली लुम्बिनी आइपुगेका छन् ।
उक्त टोली जेठ २ गतेसम्म लुम्बिनी मै रहने छन् । गत वैशाख १५ गते नेपाली वायुसेवा निगमको जहाजले परीक्षण उडान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पहिलो अन्तर्राष्ट्रिय विमान समेत यही भएको छ ।
बिहान १० बजेतिर विमानस्थलमा अवतरण गरेका भारतीय सैनिक अधिकारीहरूलाई विमानस्थलका कर्मचारीहरूले स्वागत गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन् । मोदी हेलिकप्टरबाट लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम छ ।
लुम्बिनीमा पूजाअर्चनापछि मोदीले भारतीय लगानीमा बन्न लागेको गुम्बाको शिलान्यास गर्ने छन् । मोदीसँग परराष्ट्र मन्त्री नारायण खड्काले शिष्टाचार भेट गर्नेछन् । मोदी र प्रधानमन्त्री देउवाबीच सोही दिन दुई पक्षीय औपचारिक वार्ता पनि हुनेछ । वार्ताका क्रममा केही सम्झौता हुन सक्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । मोदी सोही दिन भारत फर्कने कार्यक्रम छ ।