उम्मेदवारको मृत्यु भएपछि छोराले पाए टिकट
Wednesday, May 11th, 2022, 7:34 pm
Kalpristha
दाङको तुलसीपुर उप–महानगरपालिका १७ मा नेकपा एमोलेको तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका लबरु चौधरीको मृत्यु भएपछि एमालेले उनका छोरालाई टिकट दिएको छ । एमालेले चौधरीका २८ वर्षीय कान्छा छोरा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको हो ।
चौधरीले बुधबार दिउसो साढे १२ बजेतिर उम्मेदवारी दर्ता गराएका हुन् ।
वडाध्यक्षका उम्मेदवार चौधरीको मृत्यु भएपछि बुधबार १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । तुलसीपुर उप–महानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालका अनुसार भोलि बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।
सोही वडाको हकमा बैशाख ३१ गतेदेखि मौन अबधी सुरु हुने छ, भने बैशाख ३१ गते राति १२ बजेसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ ।
वडा नं ७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे, एमाले दाङका अध्यक्ष हुकुम बस्नेतसहित पार्टीका नेता तथा कार्यकर्ताहरुसहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि उनले आफूले वुबाको सपना पूरा गर्ने प्रदिपले बताए । उनले भने, ‘बुबाले आफ्नो रोग लुकाएर भए पनि जनताको सेवामा खटिनु भयो । अहिले पार्टीले मलाई बुबाको सपना पूरा गर्ने जिम्मेवारी दिएको छ, मैले बुबाको सपना पूरा गर्नेछु ।’