मौन अवधिमा पनि तनाव ग्रस्त
Thursday, May 12th, 2022, 6:48 pm
Kalpristha
चैत २७ गतेदेखि मौन अवधि सुरु भएता पनि दुई दिनको अवधि पनि तनाव ग्रस्त नै रह्यो । मौन अवधिमा कतै झडव त कतै पैसा तथा अन्य वस्तुहरु वितरण गरेका घटनाहरु आएका छन् ।
मौन अवधिअघि पनि निर्वाचन आयोगले लागू गरेको आचारसंहितविपरित प्रचारप्रसार काम भएका थिए भने मौन अवधि पनि नियम विपरित विभिन्न दलहरुले काम गरेको पाइएको छ ।
मौन अवधिमै बुधबार चुनाव प्रचार प्रसार गरेको भन्दै सुर्खेतको सिम्ता गाउँपालिकामा झडप भएको थियो जसमा चारजना प्रहरी घाइतसहित दुई जना नेकपा एमालेका कार्यक्रता घाइते भएका थिए ।
त्यस्तै बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ बाट प्रहरीले मतदातालाई प्रलोभनमा पार्ने गरी वितरण गरेको हयान्डपम्प (धारा) नियन्त्रणमा लियो ।
चुनावको दिन नजिकिँदै गर्दा उम्मेदवारले मतदातालाई प्रलोभनमा पार्ने उद्देश्यले हयान्ड पम्प र मोटर वितरण गरेको खबर प्राप्त भएपछि प्रहरीले खजुरा गाउँपालिकाको २ नम्बर वडामा अनुसन्धान सुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राधापुर प्रहरी चौकीलाई स्थानीयले दिएको सूचनाको आधारमा खजुरा गाउँपालिका २ नम्बर वडाको एल गाउँबाट उक्त धारा नियन्त्रणमा लिएको हो । तर धारा कसले वितरण गरेको हो भन्ने बारेमा यकिन नभएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार खजुरा गाउँपालिकाको २ नम्बर वडामा हयान्ड पम्प र मोटर दिएको सुचना प्राप्त भएपछि प्रहरी गाउँमा पुग्दा एक स्थानीयको घरबाट एउटा मात्र धारा फेला पारेको थियो । घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
मौन अवधिमा निर्वाचन आचारसंहितामा विपरीत सुर्खेतमा पैसा बाँड्दै गरेको अवस्थामा नेकपा एमालेका उम्मेदवार पनि पक्राउ परेका छन् ।
मतदाताहरूलाई पैसा बाँड्दै गरेको अवस्थामा एमाले वडाध्यक्षका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्षका उम्मेदवार राजन विसीलाई सुर्खेतको गुर्भाकोट नगरपालिका ११ मा बुधबार मध्यरातमा प्रहरीले पक्राउ गरेको हो । विसीले पक्राउ पर्नु अघि केही घरमा पैसा बाँडिसकेका थिए ।
उम्मेदवार विसी १ लाख १२ हजार रुपैयाँ नगदसहित पक्राउ परेको जिल्ला प्रहरी सुर्खेतले जनाएको छ । उम्मेदवार विसीलाई बुधबार प्रहरी चौकी मेहलकुनामा राखिएको थियो भने अहिले प्रहरीले निर्वाचन कार्यालयको जिम्मा लगाएको छ ।
यी यस्ता त केही बाहिर आएका घटनामात्र हुन मौन अवधि भर पैसाको धेरै चलखेल गर्ने गरिएको नेपालगन्ज, खजुरालगायतका स्थानीयको गुनासो सुन्न सकिन्छ । कतिपय स्थानमा त स्थानीय युवाहरु नै यस्त घटनालाई रोक्न आफैं खटिने गरिएको पनि पाइएको छ ।