निर्वाचनका लागि प्रहरीद्वारा सतर्कता अपनाउँदै
Thursday, May 12th, 2022, 6:56 pm
Kalpristha
स्थानीय तहको निर्वाचनका लागि बाँके प्रहरीले विशेष सुरक्षा सर्तकता अपनाएको छ । जिल्लामा सुरक्षा सतर्कताकै लागि करिब चार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी मधुसुदन न्यौपानेले निर्वाचनका लागि चारहजार बढी सुरक्षाकर्मी खटाइएको बताए । जसमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोली खटेको न्यौपानेले बताए ।
निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लामा १ सय ३६ मतदान स्थलमा ३ सय ७९ मतदान केन्द्र रहेका छन् । बाँकेका ८ वटै स्थानीय तहमा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना जनशक्ति परिचालित भएका छन् ।
न्यौपानेका अनुसार मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालित भएका छन्, भने मतदान केन्द्र बाहिर सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित भएका छन् । उनले भन्छन्, ‘मतदान केन्द्रलाई प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिनेछन्, बाहिरतिर सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी रहनेछन् ।’
प्रवक्ता न्यौपानले एउटा मतदान केन्द्रमा कमाण्डरसहित ३ जना नेपाल प्रहरी र ६ देखी ७ जनासम्म म्यादी प्रहरी खटाइएको बताउँछन् ।
जिल्लाभर शान्ति, सुरक्षा कायम गर्न १७ वटा नेपाल प्रहरीको मोबाइल टोली पनि परिचालन गरिएको छ । साथै नेपाल भारत सीमा नाका पनि कडाई गरिएको छ । सिमा क्षेत्रलाई सशस्त्र प्रहरीले विशेष निगरानीमा राखेको प्रवक्ता न्यौपानेले बताए ।
जिल्लामा कुल ३ लाख २९ हजार ४ सय ७३ जना मतदाता छन् । यि मध्ये एक लाख ६७ हजार ३ सय ४९ पुरुष, एक लाख ६२ हजार १ सय १७ महिला र ७ जना अन्य मतदाता रहेका छन् ।