मतगणना स्थलमा सिसी क्यामेरा
Thursday, May 12th, 2022, 7:29 pm
Kalpristha
दाङमा स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएकोे छ । जिल्लाका दश पालिका र ९९ वटा वडामा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको हो ।
मतदानका लागि कर्मचारीहरुको टोली पुगेसँगै नयाँ मतदातालाई मतदाता परिचयपत्र वितरण गर्नेदेखि मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक सामग्री पुराउने काम भइसकेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । मतदान केन्द्रमा निर्वाचनका लागि मतदानस्थललाई व्यवस्थित गर्नका लागि तारवार गर्नेदेखि महिला, पुरुष र अशक्त, ज्येष्ठ नागरिकलगायतका फरक क्षमता भएका मतदाताका लागि मतदानको फरकफरक व्यवस्था गरिएको बताए ।
जिल्लाका दश पालिका प्रमुख र उपप्रमुखसहित ९९ वटा वडामा सरकार चुन्नका लागि मतदाताले मत खसाल्ने छन् । तर जिल्लाका एक सय वडाहरु मध्य तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएपछि उक्त वडामा जेठ ३ गते निर्वाचन हुने भएको नर्वाचन कार्यालयले जानकारी दिएको छ ।
निर्वाचनमा सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् । उनले निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरीको सुरक्षा परिचालन रहनेछ । त्यसैगरी दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेनाले बाहिरी सुरक्षा दिने व्यवस्था मिलाईएको छ ।
दाङमा निर्वाचनका लागि एक सय ५३ मतदानस्थलमा चार सय ६१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा तीन हजार ६ सय ८८ कर्मचारी र ३५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा सवैभन्दा ठुलो मतदान केन्द्रका रुपमा घोराही उपमहानगरपालिका–१५ मा रहेको काठेकोहल स्कुलमा रहेको केन्द्र रहेको छ । जहाँ करिव १० हजार मतदाता रहेका छन भने १० वटा मतदान केन्द्र तोकिएको छ ।
मतगणना स्थलमा सिसी क्यामेरा जडान
यसैविच दाङमा पहिलो पटक मतगणना स्थलहरुमा सिसी क्यामेरा जडान गरिएको छ । स्थानीय तह निर्वाचनका लागि जिल्लाका दश वटै पालिकाहरुमा सिसी क्यामेराको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार मतगणना स्थलमा सिसी क्यामेरा जडानसँगै फलामको जालीको बार व्यवस्था गरिएको छ । ‘निर्वाचनको तयारी स्वरुप मतदान स्थल निर्माणदेखि मतगणना स्थल निर्माणको काम पुरा भएको छ’,प्रमुख जिल्ला अधिकारी रेग्मीले भने,‘मतगणनालाई सुरक्षित र पारदर्शी बनाउनलाई गणना स्थलमा फलामको तारजालीसँगै सिसी क्यामेराको व्यवस्था गरेका छौं ।’ सिसी क्यामेरा पालिकाहरुमा आवश्यकता अनुसार राखिएको व्यवस्था छ ।
मतगणना स्थलमा फलामको जालीससँगै सिसी क्यामेरा जडान गरिएकाले मतगणनालाई पारदर्शी बनाउनेसँगै उक्त स्थानमा भीडभाड कम हुने विश्वास व्यक्त गरिएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहहरुमा निर्वाचन सकिएपछि विहीवारदेखि नै मतगणना हुने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
‘तुलसीपुर उपमहानगरपालिकाको १७ नम्वर वडामा जेठ ३ गते निर्वाचन हुने भएकाले तुलसीपुर उपमहानगरपालिकामा ३ गतेपछि नै मतगणना हुन्छ’,प्रमुख जिल्ला अधिकारी रेग्मीले भने,‘तर अन्य पालिकाहरुमा मतदान सकिएपछि दलहरुको सर्वदलिय बैठकबाट निर्वाचन सकिएपछि साँझवाट पनि हुन सक्छ । त्यो बैठकले टुंगो लगाउने छ ।’
दाङमा पाँच सय १५ जना जनप्रतिनिधिहरु चुन्नका लागि आज मतदाताहरुले मतदान गर्दैछन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुनसार जिल्लामा ४ लाख ९ हजार ९ सय २ जना मतदाता संख्या रहेका छन् । जसमा २ लाख ७ सय ९९ पुरुष, २ लाख ९ हजार ९९ जना महिला र अन्य २ जना मतदाता रहेका छन् ।
बर्षादका कारण मतदान केन्द्र सारियो
यसैबीच बर्षादका कारण मतदान स्थलम हिलाम्मे भएपछि दाङमा एक निर्वाचन केन्द्र सारिएको छ । निरन्तरको बर्षाले तुलसीपुर उपमहानगरपालिका–५ अरनिको मैदान रहेको मतदान केन्द्र हिलाम्मे भएपछि मतदान केन्द्र वडा नम्वर ५ कै तुलसी बोर्डिङ स्कुलमा सार्ने निर्णय गरिएको हो ।
निरन्तरको बर्षाका कारण खसेको मत जोगाउन समस्या हुने भएपछि जिल्ला निर्वाचन ब्यबस्थापन समितिले अरनीको मैदानको मतदान केन्द्र स्थान्तरण गर्ने निर्णय गरेको हो । मतदान केन्द्र स्थान्तरण पूर्व प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत जिल्ला निर्वाचन ब्यबस्थापन समितिका पदाधिकारीहरु अबलोकन गर्न गरेका थिए ।