केहीबेर ई गाउँ मतदान केन्द्र तनावग्रस्त
Friday, May 13th, 2022, 11:51 am
Kalpristha
खजुरा गाउँपालिकाको वडा नम्बर ४ ई गाउँमा मतदानको विषयलाई लिएर तनाव सृजना भएको छ । मतदानका समयमा आफ्ना व्यक्तिलाई बढी प्राथमिकता दिएको र अपांग व्यक्तिलाई पनि बेवास्ता गरेको भन्दै विभिन्न पार्टीका उम्मेदवार तथा कार्यक्रताले एकअर्कालाई आरोप लगाएका हुन् ।
सो तनावका कारण केही बेर मतदान प्रक्रियामा पनि केही प्रभाव परेको खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जनाकारी दिए ।
सुनारका अनुसार एक पक्ष र अर्को पक्षले आफ्ना व्यक्तिहरुलाई प्राथमिकता दिएको आरोप लगाउँदै झडपको अवस्था समेत सृजना हुन लागेको थियो । ‘त्यती ठूलो समस्या त होइन् । सामान्य धकलधाकल मात्रै भएको हो,’ सुनारले भने ।
सुनारका अनुसार अवस्था प्रभावित हुन थालेपछि केही बेर बाहिरबाट मतदान केन्द्र भित्र मतदातालाई भित्रिन बन्द गरिएको थियो । तर मतदानभित्र भएका व्यक्तिहरुले चाही मतदान गरिरहेको सुनारले बताए ।
हाल ई गाउँ मतदान केन्द्रमा प्रहरीले कडाई गरेको जिल्ला प्रहरीले जनाएको छ र सामान्य अवस्थामा नै मतदान भई रहेको जनाकारी आएको छ ।
त्यस्तै आज खजुरा गाउँपालिकाका अन्य वडामा भने सामान्य रुपम नै मतदान भई रहेको छ । सबै स्थानमा प्रहरी, म्यादी प्रहरी, कर्मचारी खटिएका छन् ।

.