अपांगमैत्री बन्न नसकेको स्थानीय निर्वाचन
Friday, May 13th, 2022, 4:58 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
खजुरा, ३० वैशाख
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३, खजुराका स्थानीय बालकृष्ण (बसन्त) सुवेदी पूर्णरुपमा असक्त छन् । उनी आफ्नो दिनचर्याका लागि पूर्णरुपमा आफ्नो परिवारका सदस्यमाथि निर्भर छन् ।
आज(शुक्रबार) सम्पन्न भएको स्थानीय चुनावका लागि उनले आफ्नो मतअधिकार प्रयोग गर्न आफ्नो परिवारको सहायताले खजुरामा रहको ज्ञानोदय नमूना माविमा आई पुगेँ र आफ्नो विवेकले मतदान पनि प्रदान गरे ।
तर यति भन्दै गर्दा उनी आफ्नो घरदेखि मतदान स्थालसम्म आईपुग्दा उनीसहित उनका परिवारले युद्ध लडेझै संघर्ष गर्नु पर्यो । त्यसमाथि मतदान स्थलमा पनि उनको परिवारले सहजता पाएनन् ।
सुवेदीको घरदेखि मतदान केन्द्र २ किलोमिटरको हाराहारीमा पर्छ । दूरीको हिसाबले नजिकै भएता पनि उनलाई मतदान स्थलसम्म पुर्याउन उनका परिवारका तीनजना सदस्यलाई हम्मे–हम्मे प¥यो । कारणको सहज बाटो नहुनु ।
खजुरा बजराको मुख्य नेपालगन्ज–गुलरिया सडकखण्डको अवस्था नाजुक रहेको छ । जहाँ सहजरुपमा साइकल, मोटरसाइकल तथा अन्य सवारी साधन गुडाउन परेसानी हुन्छ । सडकको निर्माण नभएका कारण धुलो धुवाले सडकयात्रीलाई उस्तै सास्ती दिई रहेको हुन्छ । त्यस्तो बाटोमा सुवेदीलाई उनकी पत्नी दुर्गा सुवेदीसहित उनका एक छोरा र आमाले मतदानस्थलसम्म पु¥याए । सो सर्घषको दुःख कालपृष्ठकर्मीलाई सुनाउँदै उनी अब मतदान गर्न नआउने बताउँछन् ।
‘खतम छ । मलाई घरदेखि यहाँ ल्याउँदासम्म कति गाह्रो भयो भन्ने कुरा भनेर सकिन्न । झन बाटोको हालत त खत्तम रहेछ । मेरो सरिर पुरै दुखेको छ,’ सुवेदीले भने । सुवेदी पाँचवर्ष अघि मदतान गर्न आउँदाको बाटोभन्दा अहिलेको बाटो झन खराब रहेको बताउँछन् ।
उनले थपे, ‘म पाँच वर्षपछि यो स्कुलमा आए । पाँच वर्ष अघि मलाई मेरो पिताजीले ल्याउँदा कति राम्रो बाटो थियो । झन अहिले त खत्तम भएको रहेछ । अब त फेरी मतदान गर्न आउन नपरोस् ।’
उनलाई मतदान केन्द्रमा ल्याइदिन विभिन्न व्यक्तिले नसोधेका भने होइनन् । तर उनी आफैंले अस्वुकार गरेको बताउँछन् ।
‘घाडी पठाइदिउ भन्ने पनि थिए । तर के गर्ने उनीहरुले आश मान्छन्,’ सुवेदीले भने ।
त्यतीमात्र नभए उनीसँग आएका उनका परिवारका तीनजनाले सहजरुपमा मतदान गर्न पाएनन् । उनी अपांग भएका कारण उनलाई सहजरुपमै मतदान गर्न दिइयो साथै सुवेदीको आमा ज्येष्ठ नागरिक भएकाले सहजै मतदान गरिन । तर उनको छोरा र श्रीमतिले सहजरुपमा मतदान गर्न नपाउँदा उनलाई विद्यालयको एकस्थानमा राखियो । पछि भनसुन गरेपछि मात्रै सुवेदीका छोरा र श्रीमतिले मतदान गरे र सुवेदीलाई पुनः चर्को घाममा युद्ध लडेझै घर लगेँ ।
सुवेदीकी श्रीमति दुर्गा अब मतदान गर्न नआउने बताउँछन् । ‘यस्तरी दुःख पाई पाई पनि के मतदान गर्न आउने । अब अर्कोपटक त आउन्न । जसले जिते पनि हामीलाई के नै हुने होर,’ दुर्गाले भनिन् ।
त्यस्तै सोही समयमा खजुराका अर्का एकजना आपांगले पनि सहजरुपमा मतदान गर्न नसकेको देखियो । उनले त आफूले कुन बुथमा मत हाल्ने भनेर खोज्दै घाममा यता उता गर्नु प¥यो ।
.
साथै अर्को घटना नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० मा देखिएको घटनाले पनि निर्वाचन प्रणाली अपांगमैत्री नभएको पुष्टि गर्छ ।
आज वडा २०, राझामा रहेको आदर्श माध्यामिक विद्यालयमा अपांग रहेका मतदाताले घिस्रिएर मदतान गरे । जुन लज्जास्पद देखियो । मतदान केन्द्रभित्र ह्विलचेयरसमेत लैजना नदिएपछि उनीहरुले घिस्रिएर मतदान गर्न मतदान केन्द्रभित्र गएका हुन् ।
यसरी माथि उल्लेखित घटना त केही पात्रमात्र हुन् । यस्ता घटना देशभरका अन्य स्थानमा घटेका छैनन् भन्न सकिन्न । यस्ता घटनाले लोकतन्त्र र आफ्नो अधिकारप्रति नेपाली जनता सजक रहेको देख्न सकिन्छ । तर निर्वाचित भएका जनप्रतिनिधिले देशलाई अपांगमैत्री बनाउन कत्तिको लागि पर्छन् ? यो आफैंमा प्रश्न हो ।
हामीलेहरुले यस्ता कुरा गरिरहँदा हाम्रा स्थानीय तहका जनप्रतिनिधि भने हामीले हरेक क्रियाकलाप अपांगमैत्री बनाएका छौं भन्न चाही छोडेका छैनन् ।