दयाहाङ र प्रियंका नम्बर वान
Saturday, April 15th, 2017, 8:30 am
amit
काठमाडौं – नम्बर वान नायकनायिकाको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने गर्छ । वर्ष २०७३ मा यो प्रतिस्पर्धामा धेरै सहभागी भए । अभिनीत चलचित्रको संख्या, सफलता, व्यस्तता र कलाकारको क्रेजका दृष्टिले यो वर्ष दयाहाङ राई र प्रियंका कार्की निःसन्देश नम्बर वान नायकनायिका साबित भए । वर्षको सुरुआततिर उनीबीच ‘अफेयर’ भएको चर्चा पनि चल्यो । कतिपय समारोहमा देखिएको उनीहरूबीचको आत्मीयता धेरैका लागि चासोको विषय बनेको थियो । तर, यो चर्चा वर्षान्तसम्ममा साम्य भइसकेको छ ।
समकक्षीहरूलाई धेरै पछाडि छाडेका दयाहाङ अभिनीत हाउ फन्नी, वीरविक्रम, झुम्की, सेतो सूर्य, पुरानो ढुंगा, लुट २ र लप्पनछप्पन गरी सातवटा चलचित्र रिलिज भए । लुट २, वीरविक्रमजस्ता चलचित्रले राम्रो व्यवसाय गर्यो भने सेतो सूर्यले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विभिन्न अवार्ड हात पार्यो । दया अभिनीत अन्य चलचित्रले पनि राम्रै हाइप पायो । वर्षभरि उनी कति व्यस्त रहे भने चाहेर पनि कतिपय राम्रा निर्देशक र ठूलो ब्यानरका चलचित्र छाड्नु पर्यो । वर्ष २०७३ दयाहाङका लागि सफलता र व्यस्तताका लागि मानक वर्ष साबित भयो ।
दयाहाङजस्तै अहिले चल्तीमा रहेकी नायिका हुन्, प्रियंका कार्की । आफूभन्दा सिनियर र प्रभावशाली एवं नयाँ आकर्षणका साथ चलचित्र क्षेत्रमा उदाएका नव नायिकाहरूलाई उछिन्दै उनी वर्ष २०७३ मा नम्बर वान बन्न सफल भइन् । यो वर्ष उनी अभिनीत चलचित्र छक्का पन्जाले इतिहासमै सर्वाधिक धेरै व्यवसाय गर्यो । रमाइलो पक्ष के छ भने सफल भएका अधिकांश चलचित्रको श्रेय नायकले पाउँछन् तर छक्का पन्जा सफल हुनुमा दर्शकले प्रियंकालाई पनि प्रमुख हकदार माने । नेपाली चलचित्रले प्रदर्शनको सुखद सय दिन नमनाएको वर्षौंपछि यस वर्ष त्यो अवसर छक्का पन्जाले पायो ।
देशका विभिन्न २१ हलमा ५१ दिन मनायो । नेपालभित्र १६ करोड र विदेशको समेत गर्दा २५ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्यो । यस वर्ष रिलिज भएका प्रियंका अभिनीत चलचित्र हाउ फन्नी र पुरानो डुंगाले अपेक्षाकृत व्यवसाय नगरे पनि चर्चा भने सफल चलचित्रकै दाँजोमा पायो । हाउ फन्नीमा समेटिएको शिरैमा शिरबन्दी र पुरानो डुंगामा समेटिएको कहिले रिसाउनी निर बोलको गीतलाई श्रोतादर्शकले रुचाए, युट्युबमा धेरै हेरिए ।