कैदी हरिजन मृत्यु प्रकरण : छानविन सुस्त भएको पीडित परिवारको गुनासो
Monday, May 23rd, 2022, 5:11 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ९ जेठ
रोल्पा कारागारमा मृत भेटिएका बाँकेका सुन्दर हरिजनका परिवारले छानविन सुस्त भएको गुनासो गरेका छन् । उनीहरुले छानबिन गर्न समिति गठन भएता पनि आफूहरुको सम्पर्कमा नआएको पीडित परिवारले बताएका छन् ।
सोमबार नेपालगन्जमा प्रत्रकार सम्मेलन गरेर मृतक हरिजनका परिवारले घटनाको छानबिन समितिले सस्त गतिमा काम गरेको बताएका हुन् ।
मृतक हरिजनका दाई राजकुमार हरिजनले सम्मेलनमा बोल्दै आफूहरुलाई न्याय दिन सरकारी पक्षबाट ढिलासुस्ती भएको गुनासो गरे । उनले गटनाको छानबिन गर्न गठित समितिले आफूहरुलाई सम्पर्क नगरेको उनले बताए ।
ॅहामीलाई सरकारले वास्तै गरेन । अहिले दाईको घटनाको छनबिन गर्न समिति बनेको छ भन्छन् । अहिलेसम्म हामीहरुले उहाँहरुलाई भेटेको पनि छैन । उहाँहरु हामीसँग भेट्न आउनु भएको पनि छैन,’ राजकुमारले भने ।
सम्मेलनमा पीडित परिवारले छिटोभन्दा छिटो आफूहरुले न्याय पाउन पहल गर्दिन्, सबैमा आग्रह गरेका छन् ।
सम्मेलनमा उपस्थित नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ अध्यक्ष मनोज श्रेष्ठले पीडित परिवारले छिटो न्याय पाउनु पर्नेमा जोड दिए । उनले यस घटनाका आरोपितहरुलाई सजाए दिन छानबिन समितिले निश्पक्ष काम गर्नु पर्ने बताए ।
उनीहरुले यसअघि आइतबार न्यायका लागि जिल्ला प्रशासन आगाडि धर्ना पनि दिएक थिए । उनीहरुले न्यायको माग गर्दै नेपालगन्ज उप-महानगरपालिकाको गेटदेखि गणेशमान चोक हुँदै जिल्ला प्रशासनसम्म पुगेका हुन् ।
सुन्दर हरिजन बुधबार राति रोल्पा कारागारमा मृत भेटिएका थिए । मोबाइल चोरीको आरोप लगाएका सुन्दरलाई विविध कामजोरीका कारण लामो समय विजयविक्रम शाह भनिने व्यक्तिको नाममा जेलमा राखिएको थियो । तर शाह भन्ने व्यक्ति जेलबाट छुटेर विदेश गइसकेको खुलेपछि प्रहरी अधिकारी आफैं रनभुल्लमा परेको छ ।
सो घटनाका बारेमा सुन्दरको मृत्यु पश्चात थप बुझदा कारागारमा विजयविक्रम शाहको नाममा अर्कै व्यक्ति बस्दै आएको खुलेको हो । शाहको सट्टा ‘खेताला कैदी’का रूपमा बाँकेका सुन्दर हरिजनलाई कारागारमा रहेको खुलेको हो ।
अपराधिक लाभ मुद्दामा जेल परेका सुर्खेत बराहताल गाउँपालिका- १ घोडाआँखेका २७ वर्षीय शाह दुई वर्षअघि नै जेलमुक्त भइसकेका थिए भने उनको कैद भुक्तानी भने हरिजनले गर्दै आएका थिए । कारागार प्रशासन र प्रहरीकै मिलेमतोमा यस्तो घटना भएको आशंकामा कारागार व्यवस्थापन विभागले छानबिन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा हरिजनको शव भेटिएको थियो ।
शाहका नाममा जेल सजाय भुक्तान गरिरहेका हरिजनले आत्महत्या गरेपछि कारागार व्यवस्थापन विभागले शुक्रबार छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानमा कारागार स्थानान्तरणका क्रममा दुई कैदी एक-अर्काको नाममा बस्न थालेका हुन् । हरिजनलाई थोरै कैद सजाय भएकाले उनको नाममा बसेका शाह भने दुई वर्षअघि नै छुटेका थिए । गृह मन्त्रालयले पाएको सूचनाअनुसार शाह पछि भारत पुगेकामा त्यहाँ पनि अपराध गरेर उनी जेलमै छन् ।
घटनाको विषयमा सत्य-तथ्य पत्ता लगाउन निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गरिएको विभागका महानिर्देशक वासुदेव घिमिरेले बताए । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
हरिजनको कैद सजाय सकिन तीन महिना बाँकी हुँदा रोल्पा कारागारमा स्थानान्तरण गरिएको थियो । जसले घटना योजनाबद्ध देखिन्छ । ८ मंसिर ०७७ मा बाँकेबाट दुवैजनालाई एकैपटक रोल्पा कारागारमा स्थानान्तरण गरिएको थियो । एक महिनापछि छुट्नुपर्नेलाई किन रोल्पा स्थानान्तरण गरियो, रहस्यमय छ । यसमा जेल प्रशासनको मिलेमतो हुन सक्ने देखिन्छ ।
सरुवालगत्तै बाँकेको कारागार प्रशासन प्रमुख पनि फेरिएका थिए ।
रोल्पा कारागारमा स्थानान्तरण भएपछि शाह र हरिजनको परिचय फेरियो । विजयविक्रम शाह सुन्दर हरिजन भए भने सुन्दर हरिजन विजयविक्रम शाहको पहिचानमा जेलभित्र बसे । यसमा प्रहरी तथा कारागार प्रशासनको मिलेमतोको आशंका गरिएको थियो । रोल्पा गएपछि साह फरार भए भने उनको नाममा हरिजन जेलमा बसिरहे । उनी रोल्पामा जेल बसेको डेढ वर्ष भइसक्यो ।
भाइ रोल्पा स्थानान्तरण भएको कुरा थाहा भए पनि अर्कैको नाममा जेल बसेको थाहा नभएको दाइ राजकुमार बताउँछन् । तर, कारागार प्रहरी स्रोतका अनुसार यसमा आर्थिक लेनदेन छ । यो कुरामा हरिजनको परिवार पनि जानकार छ ।
गत आइतबार मात्रै भाइलाई ६ हजार रुपैयाँ पठाएको उनी बताउँछन् । राजकुमारले भाइले आत्महत्या गरेको भन्ने कारागार र प्रहरीको दाबी पत्याएका छैनन् । सुन्दर आत्महत्या गर्ने खालको मान्छे नभएको उनी बताउँछन् ।
दाई सुन्दर हरिजनका अदालतको फैसला नै आफूहरुलाई थाहा नभएको बताउँछन् । उनले भने, ॅअदालतले मागेको धरौटीको विषयमा थाहै छैन, थाहा भएको भए ऋणधन गरेर भए पनि तिर्थेँ । ऊ सानै उमेरमा सानोतिनो मुद्दामा जेल गएको हो । जेल बसेको पनि चार वर्ष भइसक्यो । पहिला कुरा हुन्थ्यो, बोलिरहेकै हुन्थ्यो ।’
कसरी भयो घटना ?
शाह र हरिजन एकैचोटि जेल परेका व्यक्ति हुन् । दुवैजना ०७५ मा एकै दिन जेल परेका हुन् । प्रहरी स्रोतका अनुसार शाह अपराधिक लाभ मुद्दामा जेल परेका हुन् भने हरिजन भने मोबाइल चोरीको मुद्दामा जेल परेका थिए । हरिजन फरक-फरक दुई मुद्दामा जेल परेका हुन् । उनी १९ भदौ ०७६ देखि हिरासत हुँदै कारागार पुगेका थिए । जिल्ला अदालतको २१ माघ ०७६ को फैसालाले उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना नतिर्दा पनि उनी २३ असोज ०७७ मा जेलमुक्त भइसक्थे ।
पहिलो मुद्दा खेपेलगत्तै उनलाई तीन महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको अर्को मुद्दा चल्यो । १० र ५० हजार रुपैयाँ धरौटी र एउटा मुद्दामा एक वर्ष र अर्कोमा तीन महिना कैदको फैसला तोकेको थियो । उनी ०७६ भदौ १९ देखि हिरासत हुँदै कारागार पुगेका थिए । पहिलो मुद्दाको फैसला २१ माघ ०७६ मा भएको थियो- एक वर्ष कैद र १० हजार जरिवाना हुने गरी । यसअनुसार जरिवाना नतिर्दा पनि उनी २३ असोज ०७७ मा जेलमुक्त हुन्थे । तर, लगत्तै उनमाथि दोस्रो मुद्दा चल्यो ।
१२ फागुन ०७५ को फैसलाबमोजिम उनले तीन महिना कैद र ५० हजार जरिवाना तिर्नुपर्थ्यो । पहिलो मुद्दाबाट निस्केपछि उनलाई २३ असोज ०७७ देखि दोस्रो मुद्दामा राखियो । २३ पुसमा उनको दोस्रो मुद्दाको पनि कैद सजाय भुक्तान भइसक्थ्यो । जरिवाना नतिर्दा पनि उनी १० असार ०७८ मै छुटिसक्थे । तर, चोरी कमजोर मुद्दा हो । यस्ता मुद्दामा ५० प्रतिशत कैद भुक्तानी गरे असल चालचलनका आधारमा बाँकी सजाय छुट पनि हुन्छ ।
तर, जरिवानासमेत गर्दा पनि गत वर्ष नै भुक्तान भइसकेको सजायमा उनी निरन्तर जेलमा थिए । किनकि आफ्नो नाममा नभई उनी शाहको नाममा जेल बसेका थिए । शाहलाई पाँच वर्ष कैद सजाय भएको थियो । शाह भने हरिजन बनेर दुई वर्षअघि नै जेलमुक्त भए ।