फिस्टुलासम्बन्धी जानकारी दिन सडक नाटक
Monday, May 23rd, 2022, 7:50 pm
Kalpristha
महिलाहरुमा हुने प्रसव फिस्टुलासम्बन्धी जानकारी दिन बाँकेका विभिन्न स्थानमा सडक नाटक आयोजना गरिएको छ । साइनिङ अस्पताल आइएनएफ, सुर्खेत फिस्टुला सेन्टरको आयोजनामा फिस्टुला रोगथामका लागि जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका, नेपालगन्ज उप-महानगरपालिकाका विभिन्न स्थानमा सडक नाटक गरिएको हो ।
फिस्टुला आउटरिच कोडिनेटर कान्ति शर्माका अनुसार महिलामा हुने फिस्टुला रोगका बारेमा जानकारी कम भएकाले जनचेतना बढाउँन सडक नाटकको आयोजना गरिएको छ ।
फिस्टुला दिवशका अवसरमा बाँकेमा दुईदिने सडक नाटक गरिएको छ । आइतबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६, वडा नम्बर ५ र सोमबार नरैनापुर गाउँपालिका वडा नम्बर १, ४ र नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १२ वीपी चोकमा सडक नाटक प्रस्तुत गरिएको छ ।
सडक नाटक बागेश्वरी असलसासन क्लबका ७ जना कलाकारहरुले प्रस्तुत गरेको छन् ।

.
के हो प्रसव फिस्टुला ?
प्रसव फिस्टुला भनेको लामो र कठिन सुत्केरी ब्यथाका कारण पिसाव थैली वा पिसाव नली वा आन्द्रामा प्वाल पर्न जानु हो । प्रसव फिस्टुला भएपछि महिलाहरु पिसाव नियन्त्रण गर्न नसक्ने भएका कारण लगातार रुपमा पिसाव वा दिसा योनीमार्गबाट बग्दछ ।
प्रसव फिस्टुला हुनुमा लामो र कठिन सुत्केरी व्यथासँगै योनीद्वारमा चोटपटक लाग्नु, पिसाव थैलीमा पत्थरी तथा पाठेघरको मुखको क्यान्सरको सेकाई एवम् जबरजस्तीकरणी कारणहरु रहेका छन् । त्यस्तै अपवादको रुपमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा पनि फिस्टुला हुन सक्ने आइएनएफले जनाएको छ ।
हाल प्रसव फिस्टुलाको उपचार फिस्टुला उपचार केन्द्र, प्रदेश अस्पताल, कणर्ाली प्रदेश र सुर्खेतमा निःशुल्क रुपमा उपचार गरिने गरिएको छ ।

.