एन्फा केन्द्रीय सदस्यमा राठोरको उम्मेदवारी
Tuesday, May 24th, 2022, 11:10 am
Kalpristha
नेपालगन्जका प्रदेश सिंह राठौरले आसन्न अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले सोमबार उम्मेदवारी दिएका हुन् । बाँके जिल्ला फुटबल संघको पुर्व अध्यक्ष समेत रहेका राठोर एन्फाको वर्तमान केन्द्रीय सदस्य हुन् । राठोर यसअघि दुइ पटक एन्फाको केन्द्रीय सदस्य भैसकेका छन् । राठोरले वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको टिमबाट उम्मेदवारी दिएका हुन्् । यसअघि बाँकेबाट भोजराज शाहीले एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
एन्फा निर्वाचनमा यसपटक कर्मा र पंकज नेम्वाङले अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन । दुबै जनाले उम्मेदवारी दिइसकेका छन् । भोजराजले पंकज र प्रदेशसिंहले कर्मा टिमबाट चुनावमा प्रतिस्पर्धा गर्दैछन । एन्फाको आगामी असार ६ गते हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन ।
अध्यक्षका रुपमा चार वर्ष नेपाली फुटबलको सर्वोच्च निकायको नेतृत्व गर्दा सुरु गरेका बाँकी काम पूरा गर्नका लागि थप एक कार्यकाल निरन्तरता दिने बताउँदै शेर्पाले सोमबार उम्मेदवारी घोषणा गरेका हुन् ।
यसअघि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । काठमाडौंको एक बेङ्क्वेटमा उम्मेदवारी घोषणा गरेपछि शेर्पाले आजै निर्वाचन समितिसमक्ष आफ्नो उम्मेदवारी दर्ता गराउनेछन् ।
मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधर, कार्यसमितिका सदस्यहरु रत्नकुमार श्रेष्ठ, दीर्घबहादुर केसी, मदुसुदन उपाध्याय, पूणर्मान चित्रकार, प्रदेशसिंह राठोरलगायतको उपस्थिती थियो ।
यसैगरी पूर्व राष्ट्रिय खेलाडीहरु विष्णुगोपाल श्रेष्ठ, धिरेन्द्र प्रधान, राजेश मानन्धर, बालगोपाल महर्जन, राजेश मास्के, हरि खड्का, हरिओम श्रेष्ठ र एन्फाका केही कर्मचारीलगायत पनि कार्यक्रममा उपस्थित थिए । यसैगरी राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु इन्दिरा निरौला र रेणु श्रेष्ठ पनि कार्यक्रममा थिए ।
शेर्पा पक्ष र नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममा कतिपय अनुहार भने दोहोरिएका थिए । केही क्लब र जिल्ला संघका प्रतिनिधिहरु दुवै पक्षको कार्यक्रममा ऐक्यवद्धता जनाउन उपस्थित भएको देखिएको थियो ।
उम्मेदवारी घोषणा कार्यक्रममा शेर्पा पक्षले आफूहरुले विगतको चार वर्षमा गरेका कामहरुको उल्लेख गर्दै ‘नेपाली फुटबलमा, संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सवलिकरण र व्यावसायिकता हाम्रो अभियान’ नामको पुस्तिका सार्वजनिक गरेका थिए ।