रित्तो हात कक्षा कोठामा जाँदै विद्यार्थी
Wednesday, May 25th, 2022, 2:43 pm
Kalpristha
यतिबेला विद्यालयमा धमाधम पढाइ हुनुपर्ने हो । तर अहिले विद्यालय सञ्चालन भए पनि पढाइले गति लिन सकेको भने छैन् । यस प्रकारको समस्या यस वर्षमात्र नभई हरेक वर्ष हुने गरेको छ । तर यस प्रकारको समस्या समाधान हुन सकेको छैन् ।
दाङमा हरेक वर्ष झै यस वर्ष पनि विद्यार्थीहरु रित्तो हात कक्षा कोठामा पुगेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएता पनि अध्ययनका लागि विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।
जिल्लाका अधिकांश विद्यालयहरुमा विद्यार्थीहरु भर्ना भएर पढाइ सुरु भइसकेको छ ।
यतिबेला विद्यालयमा धमाधम पढाइ हुनुपर्ने हो । तर अहिले विद्यालय सञ्चालन भए पनि पढाइले गति लिन सकेको भने छैन् । यस प्रकारको समस्या यस वर्षमात्र नभई हरेक वर्ष हुने गरेको छ । तर यस प्रकारको समस्या समाधान हुन सकेको छैन् । अध्ययनका लागि पाठ्यपुस्तक पाउन नसक्दा विद्यार्थीहरुमा उत्साहसमेत नभएको पाइएको छ ।
अभिभावकहरु दैनिक पाठ्यपुस्तकको लागि पुस्तक पसल धाउने गरेका छन् । किताब खोज्न आउने विद्यार्थी तथा अभिभावकहरु रित्तो हात फर्किनुपर्ने बाध्यता रहेको छ ।
‘दैनिक जसो पुस्तक खोज्न आए पनि पुस्तक आएको छैन भनेर फर्काउने गरेका छन्,’ एक अभिभावकले भने । पढ्नका लागि बालबालिकाले समयमा नै पुस्तक पाउनुपर्ने उनको भनाइ रहेको छ ।
‘यस प्रकारको कार्य विद्यार्थीहरुको भविष्यमाथि नै खेलवाड हो,’ उनले भने ।
सरकारले यस वर्ष कक्षा ४,७ र ९ कक्षाको पाठ्यक्रम परिवर्तन गरेको छ । अहिले विद्यार्थीहरु खाली हात विद्यालय जाने गरेका छन् भने केहीले पुराना पुस्तक लिएर विद्यालय आउने गरेका छन् । पाठ्यपुस्तक नहुँदा शिक्षकहरुलाई समेत समस्या हुने गरेको शिक्षकहरुको भनाइ रहेको छ ।
पाठ्यक्रम परिवर्तन नभएका कक्षाहरुमा पुरानो पाठ्यक्रम तथा पुस्तकबाट कक्षा सञ्चालन भइरहेको घोराहीमा रहेको जयश्वर मावि रावत गाउँका प्रअ हुकुम वुढाथोकीले जानकारी दिए । ‘पाठ्यक्रम परिवर्तन नभएकाहरुमा धेरै समस्या छैन् । पाठ्यक्रम परिवर्तन भएका कक्षाहरुमा समस्या हुने गरेको छ,’ प्रअ बुढाथोकीले भने ।
पाठ्यक्रम परिवर्तन भएका कक्षाहरुको कक्षा सञ्चालन गर्नसमेत समस्या भएको उनी बताउँछन् ।
अहिले कक्षा १ देखि ३ कक्षा सम्मका मात्र पुस्तक आएको उनले बताए । अन्य कक्षाहरुको पाठ्यपुस्तक आउन नसकेको उनको भनाइ रहेको छ ।
‘पुस्तक ल्याउने जिम्मा पाएकासँग सोध्दा एक हप्तामा आउँछ भनेर भन्नुभएको छ,’ उनले भने । विद्यार्थीहरुले दैनिक पाठ्यपुस्तक कहिले पाइन्छ भनेर सोध्ने गरेको समेत उनले बताए । विद्यार्थीहरुलाई दैनिक जसो पुस्तक आएको छैन भनेर जवाफ दिनु पर्ने वाध्यता रहेको प्रअ वुढाथोकी बताउँछन् ।
यस विषयमा स्थानीय सरकारले पनि ध्यान दिन सकेका छैनन् । माध्यमिक तहसम्म सञ्चालन तथा व्यवस्थापनको जिम्मा रहेका स्थानीय तहहरु विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने विषयमा मौन रहेका छन् । समयमा नै पाठ्यपुस्तक नछापिएकाले यस प्रकारको समस्या भएको स्थानीय तह शिक्षाका एक अधिकारीले बताए । आफूहरुले पटक-पटक समस्याका बारेमा जानकारी गराएको उनको भनाइ रहेको छ । तर समस्याको समाधान हुन नसकेको उनले बताए ।
निर्वाचनका कारण समयमा पाठ्यपुस्तक छपाइ हुन नसक्दा यस प्रकारको समस्या भएको बताइएको छ । सरकारी पाठ्यपुस्तक छपाई गर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचनका लागि मतपत्र छाप्नुपरेको कारण पाठ्यपुस्तक छपाइ हुन नसकेको हो । सरकारले निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाई गर्नका लागि अनुमति दिएको छैन् । जनक शिक्षा सामग्रीले मात्र सरकारी पाठ्यपुस्तक छाप्ने गरेको छ । एउटालाई मात्र छपाइको जिम्मा दिँदा हरेक वर्ष बालबालिकाहरुले समयमा नै पाठ्यपुस्तक पाउने गरेका छैनन् ।
त्यस्तै नेपालगन्जमै जनक शिक्षा सामग्री भएता पनि बाँकेमा १ देखि ३ कक्षासम्मको मात्र पाठ्यपुस्तक उपलब्ध रहेको छ ।
खजुरा गाउँपालिका-३ मा रहेको ज्ञानोदय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ऋषिराम सापकोटा छपाई कार्यमा ढिलासुस्ती भएका कारण पुस्तक उपलब्ध नभएको बताउँछन् । उनले यो वर्ष निर्वाचन भएका कारण पनि पुस्तक पठाउनमा ढिलाई भएको हुन सक्ने बताए ।
जनक शिक्षा सामग्री केन्द्र नेपालगन्जले भने पहाडी जिल्लामा भने सोमबारदेखि पुस्तकहरु पठाउन सुरु गरिएको जनाएको छ । केन्द्रका अनुसार दाङमा भने बुधबारदेखि पुस्तक पठाइने तयारी रहेको छ । त्यस्तै सबै जिल्लामा पुस्तक पठाउने तयारी रहेको केन्द्रले जनाएको छ ।