पहिलोपटक डोल्पामा ट्राफिक व्यवस्थापनसम्बन्धि सम्मेलन
Wednesday, May 25th, 2022, 5:29 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ११ जेठ
हिमाली जिल्ला डोल्पामा पहिलोपटक सवारी दुर्घटना न्यूनीकरणका लागि सडक सरक्षा तथा टा्रफिक व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय सम्मेलन गरिएको छ । जिल्ला ट्र्राफिक कार्यालयको आयोजना तथा प्रदेश ट्राफिक कार्यालय सुर्खेतको सहयोगमा एक दिने सम्मेलन भएको हो ।
सम्मेलनमा जिल्लाको सडक अवस्था स्तरउन्नती तथा सवारी साधन अवस्था, सुविधा र चुनौतीलगायत विषयमा सरोकारवालाबीच छलफल गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले संस्थागत सुदृढिकरण प्रकृयागत सरलीकरणलाई ध्यान दिनुपर्ने उल्लेख गरे । अधिकारीले सार्वजनिक तथा निजी सवारी चालक यातायात व्यवसायीले सर्वप्रथम म ठीक छु भन्ने विश्वासका साथ सवारी चलाउनु पर्ने बताए ।
सवारी चालकको सानो गल्तीले भयानक दुर्घटना निम्त्याउने भएकाले मानसिक शारीरिक र भौतिकरुपमा ठीक भएमा सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अधिकारीको भनाइ थियो ।
.
प्रदेश ट्राफिक कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सडक दुर्घटना हुनुमा चालकको लापरबाही प्रमुख कारण भएको बताए । उनले सडक दुर्घटना न्यूनीकरणको लागि स्थानीय सरकारले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनको लागि महत्वपूणर् भूमिका खेल्नु पर्ने उल्लेख गरे । तिवारीले दुर्घटना कम गर्न सडकको स्तरउन्नती, सडक बत्तिको व्यवस्था, सवारीसाधनको गुणस्तरलगायत सडक पहिचान संकेतको व्यवस्था गर्न सुझाएका छन् ।
जिल्ला ट्राफिक कार्यालय स्थापना भएर सडक दुर्घटना न्यूनीकरणको लागि सवारी चेकजाँच तथा कारबाही प्रकृयालाई प्राथमिकतामा राखेर काम गरिरहेकोले स्थानीय स्तरबाट पनि सकारात्मक रुपले सहयोग गर्नु पर्नेमा तिवारीले जोड दिएका छन् ।
सम्मेलेनको नाम दिइएको छलफल कार्यक्रममा पत्रकार टेंक शाही र नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले डोल्पाको सडक अवस्था दर्दनाक रहेको बताउँदै यातायात व्यवसायीले मनपरी ट्र्रफिक मापदण्ड विपरित यात्रु बोक्ने गरेको बताए । उनीहरुले रुकुम पश्चिमको आठवीसकोट नगरपालिका ४ मा पर्ने छहरेवगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने कान्छिबजार सम्मको सडकमा ट्राफिक व्यवस्थापन नहुँदा सवारीचालकले मापदण्ड विपरित यात्रुहरु बोक्ने गरेकाले मानवीय क्षति हुने गरेको बताए ।
कार्यक्रममा डोल्पामा सडक दुर्घटना न्युनीकरणको लागि सरोकारवालाले २५ बुँदे प्रतिवद्धता जाहेर गरेका छन् ।