पालिकामा कांग्रेस, वडामा एमाले पहिलो
Wednesday, May 25th, 2022, 5:31 pm
Kalpristha
दाङमा स्थानीय तह निर्वाचनको ९ पालिका र ९७ वडाहरुको नतिजा सार्वजनिक भएको छ । जसमा पालिकातर्फ नेपाली कांग्रेसको अग्रता छ भने वडा तहमा नेकपा एमालेको अग्रता देखिएको छ । माओवादीले हालसम्म पालिकामा एमालेसँग समान ३ जितेपनि वडामा तेश्रो स्थानमा बनाउन सफल भएको हो ।
जिल्लाका दश पालिकाहरु मध्य नौ पालिकाको मतपरिणाम सार्वजनिक हुँदा पाँच पालिकाहरुमा प्रमुख-उपप्रमुख कांग्रेसले जितेको छ भने अन्य दुई पालिकाहरुमा उपप्रमुख जितेको छ । कांग्रेसले एकल रूपमै लमही नगरपालिका प्रमुख र उपप्रमुखसँगै बबई गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, शान्तिनगर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, दंगीशरण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, राजपुर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र बंगलाचुली गाउँपालिका र गढवा गाउँपालिकामा १/१ जना उपाध्यक्ष जितेर जिल्लामा बहुमत आफ्नो पक्षमा लगेको छ ।
पालिका प्रमुख र उपप्रमुख जित्नेमा हालसम्म नेकपा एमाले र माओवादीले समान ३/३ जना जितेका छन् । जसमा एमाले घोराही उपमहानगरपालिका प्रमुख, उपप्रमुख र राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले बंगलाचुली गाउँपालिकामा अध्यक्ष, राप्ती गाउँपालिकामा अध्यक्ष र गढवा गाउँपालिकामा अध्यक्षमा जितेको छ । पालिका जित्नेमा कांग्रेस पहिलो भएपनि वडामा जित हासिल गर्नेमा भने कांग्रेस दोश्रो स्थानमा छ । ९७ वडाहरुको मत सार्वजनिक हुँदा ३८ वटाहरु एमालेले जितेको छ भने कांग्रेसले हालसम्म ३६ वडाहरुमा जित हासिल गरेको छ । त्यसैगरी माओवादीले १९, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १/१ र २ स्वतन्त्र उम्मेदवारले वडा अध्यक्षमा जितेका छन् ।
तुलसीपुर उपमहानगर-पालिकामा भने मतगणना जारी रहेको छ । तुलसीपुरका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार अगाडि रहेका छन् । प्राप्त नजिता अनुसार तुलसीपुरमा एमालेका उम्मेदवार बिजयी हुने सम्भावना रहेको छ । मतपरिणाम जारी रहदा सत्तागठबन्धनबाट प्रमुखमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरी पछि पर्नुभएको छ । ६२ हजार ३६८ मत गणना गर्दा तुलसीपुरमा एमालेका उम्मेदवार टिकाराम खड्काले २५ हजार ९६० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार गिरीले २४ हजार १९ मत छ । तुलसीपुरमा ७४ हजार ४१२ मत खसेको लुम्विनी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।