कार्यालय सहयोगीबाट वडा अध्यक्ष बनेका चन्द्रबहादुर
Wednesday, May 25th, 2022, 5:37 pm
Kalpristha
लिलाधर वली
घोराही, ११ जेठ
करिब दुई महिना अघिसम्म चन्द्रबहादुर गुरुङ राप्ती गाउँपालिका-८ को कार्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थिए । हरेक दिन विहान ९ बजे कार्यालय आउने, कार्यालय सरसफाई गर्ने, जनप्रतिनिधि र कर्मचारीहरुलाई चिया-पानीको व्यवस्था गर्नेदेखि बचेको समयमा सेवाग्राहीका लागिसमेत काम गर्दथे ।
वडा कार्यालय आउने सेवाग्राहीलाई कुन काममा आउनु भएको छ त्यो सोध्ने र त्यहीअनुसार कर्मचारीलाई काममा सहयोग गर्ने चन्द्रबहादुर अहिले भने त्यही वडामा वडा अध्यक्षका रुपमा निर्वाचित भएपछि उनको भूमिका फेरिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभएका चन्द्रबहादुरले जनताको चाहना अनुसार वडाको विकासको काम गर्ने बताउछन् । ‘वडाको विकासका लागि कुन आवश्यकता छ । त्यो पहिचान गरेर विकास निर्माणका काम गर्नेछु’, उनले भने, ‘पाँच वर्षको अवधिलाई गर्व गर्र्न लायक बनाउने प्रयास गर्नेछु ।’
त्यसको प्रयास आफैबाट सुरु गर्नुपर्छ भनेर दोश्रो तलमा भएको वडा अध्यक्षको कार्यकक्ष आफू निर्वाचित भएपछि पहिलो तलमा झारेको बताए । ‘वडा जनताको घरदैलोको सरकार हो । यहाँ सवै प्रकारका सेवाग्राही आउनुहुन्छ’, वडा अध्यक्ष गुरुङले भने,‘माथिल्लो तलामा कार्यकक्ष हुँदा अपांगता भएका व्यक्तिहरु र ज्येष्ठ नागरिक माथिल्लो तलासम्म जान सक्ने अवस्था थिएन । त्यसलाई हटाउनका लागि कार्यकक्ष तल्लो तलामा सारेका छौ ।’ जसले गर्दा वडामा आउने सवै सेवाग्राहीले वडा अध्यक्षलाई भेट्न सकिन भन्ने उनको अपेक्षा छ ।
३२ वर्षीय गुरूङ वडाध्यक्ष जित्नुभन्दा अघि करिब पाँच वर्ष करार सेवामा कार्यालय सहयोगीको रूपमा काम गरेका थिए । राजनीतिदेखि परिवारसमेत टाढा रहेको बताउने गुरुङले कार्यालय सहयोगीका रुपमा काम गर्दागर्दै आफूलाई राजनीतिले तानेको बताउँछन् ।
‘समाज सेवामा सानैदेखि रूची थियो । तर राजनीति गर्ने मन थिएन’,वडा अध्यक्ष गुरुङले भने, ‘त्यही भएर अहिलेसम्म पार्टीमा लागेको पनि थिएन । तर एमाले निकट कर्मचारी संगठनमा आवद्ध थिए । जसले गर्दा उम्मेदवार हुँदै वडा अध्यक्ष बन्न मद्दत गर्यो ।’ स्थानीय तहको निर्वाचनको चर्चा सुरू भैसकेको थियो तर चुनाव लड्ने सोच थिएन । तर कार्यालय आउने सेवाग्राहीदेखि घरदेखि वडा कार्यालयसम्म आउँदा-जादा धेरैले चुनाव लड्न सुझाव दिनथालेपछि मन बदलिँदै गयो । सबै काम जानेको र युवा उठ्नुपर्छ भनेर हौसल्ला दिन थालेपछि चैत महिना कार्यालय सहयोगीबाट राजिनामा दिएर चुनावी तयारीमा लागेको गुरुङ बताउँछन् ।
तर वडाअध्यक्षका लागि चन्द्रबहादुरलगायत पाँच जनाको नाम सिफारिस थियो । जसमा निर्वतमान अध्यक्ष गोकणर्बहादुर रानामगरसहितका नाम थिए । जसले गर्दा टिकट पाउनै मुस्किल थियो । तर अन्तिममा पार्टीले विश्वास गरेर उनलाई उम्मेदवार बनाउने निणर्य गर्यो । पाँच वर्ष कार्यालय सहयोगीका रुपमा काम गरेका गुरुङको नाम वडावासीको मनमा थियो । त्यसैको परिणाम वडाध्यक्षमा गुरुङले ९ सय ५० मत प्राप्त गरेर बिजयी भए ।
२०६२ सालमा एसएलसी उत्तिणर् गरेका गुरुङ गरिबीका कारण तीन वर्ष बैदेशिक रोजगारीका क्रममा साउदी अरव र मलेसिया बसेका थिए । ‘पढ्न मन थियो । तर सानैमा बुबा वितेपछि आर्थिक अभावका कारण पढ्न सकिन’, उनले भने, ‘पढ्न छोडेपछि कामका लागि विदेश गएर घर फर्किएको थिए ।’ घर फर्किएर पुनः विदेश जाने तयारीमा रहेका बेला निवर्तमान वडा अध्यक्ष गोकणर्ले वडामा करार सेवामा कार्यालय सहयोगीको रुपमा काममा चन्द्रबहादुरलाई राखेपछि विदेश जाने योजना त्यागेर वडाको काममा लागेका थिए ।
‘घरमा काम नभएर फेरी विदेश जाने तयारीमा थिए । त्यही समयमा निवर्तमान वडा अध्यक्षले कार्यालय सहयोगीका रुपमा मलाई राख्नुभएको थियो’, उनल भने, ‘म बिहान नौ बजेतिर कार्यालय खोल्न पुगिसक्थे र बेलुका कार्यालय समयपछि मात्रै घर फर्किन्थे । तीन वडामा काम गर्दथे ।’ उनका अनुसार कार्यालयको सरसफाइदेखि चिया, पानी पुर्याउनु, हाकिमको आदेशमा मागेको फाइल पुर्याएर सहयोग गर्नु, कार्यालय सरसफाइदेखि सबै कर्मचारीलाई सहयोग गर्ने काम गर्दथे ।
त्यस्तै जनप्रतिनिधिदेखि कर्मचारीहरूले कार्यालयको हितभन्दा पनि व्यक्तिगत लाभ लिन चाहने हुँदा त्यो रोक्न कदम चाल्ने गुरुङको अठोट छ । कार्यालयहरूमा तल्लो तहका कर्मचारीलाई गरिने व्यवहार थप सम्मानजनक बनाउन पहल गर्ने, हरेक नागरिकलाई समान व्यवहार गर्ने योजना उनको छ ।
‘ठूलो होस् वा सानो सेवाग्राही सबैलाई समान र सम्मानजनक व्यवहार गर्नुपर्छ’, उनले भने, ‘कसैलाई कार्यालयमा विभेद् गर्नु हँुदैन ।’ उनले वडाको विकासका लागि जनताको आवश्यकता अनुसार विकास गर्ने र त्यसका लागि निर्वतमान वडाध्यक्षले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए ।
‘पहिला कार्यालय सहयोगीको रूपमा जहाँ काम गरे आज म त्यही कार्यालयको प्रमुख पदमा पुगेको छु’, वडा अध्यक्ष गुरुङले भने,‘मैले हिजोका दिनहरुमा तल्लो तहबाट काम गर्दा धेरै कुरा महशुस गरेको छु । अवको कार्यकाल त्यही तथ्यलाई आत्मसात् गरी जनताको काम गर्नेछु ।’ उहाँले प्रचारप्रसारका क्रममा पिउनले के काम गर्ला ? कसरी चुनाव जित्ला भन्नुहुन्थ्यो ? चुनाव जितेर देखाईसके अव काम गरेर देखाउने चुनौती छ उनी भन्छन ।