कार्यपालिका गठनका लागि नेपालगन्जमा १६ मनोनयन
Wednesday, May 25th, 2022, 9:27 pm
Kalpristha
बाँकेको नेपालगन्ज उप–महानगरपालिकामा कार्यपालिका (बोर्ड) गठन गर्नका लागि १६ जनाको मनोनयन दर्ता भएको छ । जम्मा आठजनाका लागि विभिन्न दलबाट १६ जनाको नाम दर्ता भएको छ ।
कार्यपालिकाका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा मिलेर गठबन्धन गरेका छन् । उनीहरुले आठ र अन्य दलहरुले आठजनाको नाम दर्ता गरेका हुन् ।
यसअघि नेपालगन्जमा स्थानीय चुनावका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को सयुक्त गठबन्धन भएता पनि कार्यपालिकाको लागि भने गठबन्धन भएको छैन ।
मंगलबार कांग्रेस, माओवादी केन्द्र र राप्रपा मिलेर गठबन्धन गर्ने निर्णय गरेका थिए । सहमति अनुसार कांग्रेसले निर्वाचित महिला सदस्य मध्येबाट ३ जना र दलित र अल्पसंख्यकबाट १ जना, माओवादीले निर्वाचित महिला सदस्य र दलित र अल्पसंख्यकबाट १–१ जना तथा राप्रपाले निर्वाचित महिला सदस्य र दलित र अल्पसंख्यकबाट १–१ जना सदस्य पाउने सहमति भएको छ । नेपालगन्जमा निर्वाचित महिलाबाट ५ जना र दलित र अल्पसंख्यकबाट ३ जना गरी कुल ८ जना निर्वाचित हुने व्यवस्था छ ।
सोही सहमतिअनुसार कांग्रेस, माओवादी र राप्रपाले मनोनयन दर्ता गरेका हुन् ।
नेपालगन्जमा कार्यपालिका सदस्य निर्वाचनका लागि बुधबार मनोनयन दर्ता अन्तिम थियो भने जेठ १६ गते निर्वाचत मिति तय गरिएको थियो ।
नगरबाट निर्वाचित १ सय १७ जना मतदाता हुन्छन् । त्यसमा नेपालगन्ज नगरमा कांग्रेसका ४२, राप्रपाका १४ र माओवादीका ११ जना गरी कुल ६७ जना रहेका छन् ।
कार्यपालिका सदस्यमा वडामा निर्वाचित भएका महिला सदस्य मध्येबाट सिमान्तकृत, अल्पसंख्यक र दलित समुदायबाट निर्वाचित गर्ने व्यवस्था छ । कार्यपालिका सदस्यको निर्वाचनमा नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्यले मतदान गर्ने व्यवस्था छ । कार्यपालिका सदस्यहरु निर्वाचित भएपछि स्थानीय तहका सरकारले पुर्णता पाउनेछन् ।
त्यसैगरी जानकी गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा बुधवार मनोनयन दर्ता भएको छ । यि पालिकामा १६ गते निर्वाचन हुनेछ । खजुरामा १२ गते मनोनयन दर्ता हुने र निर्वाचन १७ गते हुनेछ । नरैनापुरमा १७ गते मनोनयन दर्ता हुने छ भने २० गते मतदानको कार्यतालिक सार्वजनिक भएको छ ।