हिरासतमा भएका एकजना मृत अवस्थामा फेला
Wednesday, May 25th, 2022, 9:38 pm
Kalpristha
ईलाका प्रहरी कार्यालय कोहलपुरमा एक जना थुनुवा मृत अवस्थामा फेला परेका छन् । जबर्जस्ती कारणीको मुद्दामा ईलाका प्रहरी कोहलपुरको हिरासतमा रहेका कोहलपुर १४ का ४६ बर्षीय कृष्णलाल कुँवर शौचालयमा झुन्डिएको अवस्थामामृत अवस्थामा फेला परेका हुन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले आज बिहान करिब ५ बजेतिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिएका छन् ।
हिरासत कक्षबाट शौचालय गएका कुँवर भेन्टिलेटरमा टिसर्टको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
कुँवरलाई गत बैशाख १९ गते ७ वर्षे नावालिकालाई जबरजस्ती करणी गरेको प्रयासमा ‘जबरजस्ती करणी उद्योग’ को अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको मल्लले बताए ।
स्थानीय र आफन्तको रोहबरमा मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिएका छन् ।
यो समाचार तयार पार्दासम्म पीडितले उचित क्षतिपूर्ति र न्याय पाउनु पर्ने भन्दै स्थानीयले कोहलपुरमा चक्का जाम गरेका छन् ।