दुर्घटनाले तनावग्रस्त बनेको कोहलपुर र गुलरिया
Thursday, May 26th, 2022, 7:13 pm
Kalpristha
सडक दुर्घटनाका कारण बाँकेको कोहलपुर र बर्दियाको गुलरिया तनावग्रस्त बनेको छ ।
कोहलपुरमा बुधबार ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त बनेको छ । त्यस्तै बिहीबार गुलरियामा नेपाल विद्युत् प्राधिकरण गुलरिया वितरण केन्द्रको गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि त्यहा पनि तनाव सृजना भएको हो ।
बिहीबार पनि दिनभर कोहलपुर तनावग्रस्ते नै रह्यो । उचित न्यायको माग गर्दै स्थानीयवासीले कोहलपुरमा प्रदर्शन गरिरहेका छन् ।
पीडित परिवारले उचित न्यायको माग गर्दै कोहलपुरमा बुधबारदेखि प्रदर्शन गरिरहेका छन् ।
घटनाको विषयलाई लिएर कारबाही र क्षतिपुर्तिको माग गर्दै स्थानीयबासीले सडक अवरुद्धका साथै ईलाका प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका छन् ।
बुधबार कोहलपुरको पिपल चौतारा नजिकै यूपी ३२ डी एन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोरिक्सालाई पछाडीबाट ठक्कर दिँदा कोहलपुर वडा नं.१३ सिम्रीका अटोरिक्सा चालक २९ वर्षीय राम सेवक थारुको मृत्यु भएको थियो ।
त्यस्तै गुलरिया वितरण केन्द्रको गाडीले ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीय वासीले प्रदर्शन गरेका छन् ।
गुलरिया नगरपालिका–११ ढल्लापुरस्थित विद्युत्को गाडीले ठक्कर दिदा ११ वर्षीय लवकुश यादवको घटनास्थलमै मृत्यु भएको हो ।
विद्युत् प्राधिकरण गुलरिया वितरण केन्द्रको गाडीले ठक्कर दिँदा बालकको मृत्यु भएको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
बालकको शव घटनास्थलमै रहेको स्थानीय पप्पु यादवले बताए ।
गाडी चालकको लापरबाहीका रकाण दुर्घटना हुन पुगेको स्थानीयको आरोप रहेको छ ।
यो समाचार तयार पार्दा सम्म बालकको शव घटनास्थलमै रहेको छ ।