डुडुवामा आर्थिक खर्च घटाउने पहिलो निर्णय
Thursday, May 26th, 2022, 7:18 pm
Kalpristha
डुडुवा गाउँपालिकाले आर्थिक भार घटाउन खर्चको कटौती गर्न सुरु गरेको छ । गाउँपालिकाको आन्तरिक स्रोतले भार थेग्न नसकेपछि करार कर्मचारीहरुको कटौती गर्न सुरु गरिएको हो ।
प्रशासनिक खर्चमा मितव्यीता कायम गर्न आर्थिक खर्चमा कटौती गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए । उनका अनुसार करार कर्मचारीहरुमध्ये कार्य सम्पादन क्षमता कमजोर भएका कर्मचारीहरुको सम्झौता अन्त्य गर्ने नीतिगत निर्णय भएको छ ।
कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको आर्थिक भार कम गर्न खर्च कटौती गर्ने नीतिगत निर्णय गरेका हुन् ।
खर्च कटौतीसँगै गाउँपालिकाको आन्तरिक स्रोत वृद्धिका लागि आवश्यक पहल गर्ने भन्दै अध्यक्ष चौधरीले गाउँपालिकाका सम्पूर्ण नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्दै जनताको सेवामा सधै खट्ने प्रतिबद्धता व्यक्त गरे ।
दोस्रो कार्यकालका लागि पुनः निर्वाचित अध्यक्ष चौधरीले गाउँपालिकाले सेवाको गुणस्तरियता, तथा प्रभावकारी सेवा प्रवाहमा कुनै पनि कन्जुस्याई नगर्ने स्पष्ट पारे ।
डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार चौधरी र उपाध्यक्ष शाहिदा बानोले बुधबारदेखि कार्यभार सम्हालेका हुन् ।
गाउँपालिकामा आयोजित एक समारोहका बिच अध्यक्ष चौधरी र उपाध्यक्ष बानोले कार्यभारको जिम्मेवारी बहन गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, लेखा अधिकृत रामबहादुर केसी, प्राविधिक प्रमुखलगायतका कर्मचारीहरुले अध्यक्ष र उपाध्यक्षलाई फूलमाला र खादाले स्वागत गरेका थिए ।