निलसागरद्वारा उप–महानगरलाई वार्षिक योजना पेश
Thursday, May 26th, 2022, 8:40 pm
Kalpristha
हरेक वर्ष झै यो वर्ष पनि नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको निलसागर सेवा आश्रमले नेपालगन्ज उप–महानगरपालिकामा वार्षिक योजना पेस गरेको छ ।
नवनिर्वाचित मेयर प्रशान्त बिष्ट र उप–मेयर कमरुद्दीन राइलाई नीलसागरकी अध्यक्ष सरिता निलसागरले आगामी आर्थिक वर्षको योजना बुझाएकी हुन् ।
सो अवसरमा निलसागर सेवा आश्रमका उपाध्यक्ष नारायण सुवेदी, प्रमुख अभिभावक विजयकुमार गुप्ता, प्रमुख सल्लाहकार कृष्ण प्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
उनीहरुले नेपालगन्ज उप–महानगरपालिकाको कार्यालयमा पुगरे बुधबार योजना पेस गरेका हुन् ।
सो अवसरमा नेपालगन्ज उप–महानगरपालिकाले नीलसागरलाई सहयोग नगरेकाले आश्रममा आश्रीत बुवामुवा, बाबुनानीको व्यवस्थापन हुन नसकेको अध्यक्ष सरिताले बताइन् । उनले हालसम्म पनि भाडा कै घरमा बस्नु परेकाले संस्थालाई आर्थिक समस्या परेको बताइन् ।
सडकमा बेसहारा भेटिएका, परिवारबाट अलग्गिएका, आश्रममा आश्रित महिलाबाट जन्मिएका बालबालिका, विभिन्न संघ–संस्था तथा सरकारी निकायले संरक्षणका लागि नेपालगन्ज उप–महानगरपालिकामा मात्र १ सय ५४ बुवामुवाहरु र अभिभावक बिहिन बाबुनानीहरु ५४ जनाको रहेको र उनीको गास, बास, कपास र शिक्षा दिक्षामा नगरले सहयोग नगरेको उपाध्यक्ष सुवेदीले जानकारी दिएका थिए ।
कार्यक्रममा मेयर प्रशान्त विष्टले उतm योजनाको अध्ययन गरेर बैठकमा लाने बताएका छन् । उनले ठुलो रकम भएकाले बैठकबाट निर्णय भए आफूले सहयोग गर्ने बताए ।
उपमेयर राईले निलसागरले धेरै राम्रो काम गरेको भन्दै नेपालगन्ज आफूहरुले सक्दो सहयोग गर्ने बताए ।
निलसागरले वार्षिक १ करोड ८० लाख रुपैयाँको योजना पेस गरेको हो । अध्यक्ष सरिता भन्छिन्, ‘यो वर्ष पनि पेस गरेको योजना तोक लागेर हाकिम सरको मा गएको छ । खै के हुन्छ भन्न सकिन्न ।’
निल सागरले अघिल्ला वर्षमा योजना पेस गरेता पनि नगरपालिकाबाट भने सहयोग आएको थिएन । तर यो वर्ष केही सहयोग पाइने सरिताले विश्वास लिएकी छिन् ।
हाल बाँके, बर्दिया, दाङ, पोखरालगायतका स्थानमा निगसागरले १० वटा शाखा खोलेर सेवा दिई रहेको छ ।