मेडिकल कलेजका कर्मचारीको आन्दोलन ४ दिनदेखि जारी
Saturday, May 28th, 2022, 3:10 pm
Kalpristha
नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको आन्दोलन चार दिनदेखि जारी रहेको छ । तलब भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका चिकित्सक तथा कर्मचारी बिहीबारदेखि आन्दोलनरत रहेका छन् ।
पाँच महिनादेखिको तबलभत्ता नपाएपछि चिकित्सकहरु बिहीबारबाट आन्दोलनमा उत्रिएका हुन् ।
मेडिकल कलेजमा कार्यरत १ सय ५० भन्दा बढी चिकित्सक तत्काल तलबभत्ता निकासा गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले प्रत्येक दिन बिहान ९ बजेदेखि १० बजेसम्म मेडिकल कलेज प्रशासन अगाडि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।
माघदेखिको तलब र इन्सेन्टीभ नपाएपछि ११ जेठमा बसेको मेडिकल कलेजका सम्पूणर् फ्याकल्टीहरुको भेलाले ०७८ चैतसम्मको तलब १३ जेठसम्म भुक्तानी दिन अल्टीमेटम दिने निणर्य गरेको थियो ।
त्यसका लागि दबाब दिन १२ जेठ र १३ जेठमा अस्पताल प्रशासन अगाडि भेला भएर कालोपट्टी बाँधेर प्रदर्शन गर्ने निणर्य गरेको थियो । सोही निणर्यअनुसार बिहीबार चिकित्सकहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
प्रशासनले यसलाई गम्भीर रुपमा लिएर तलब भुक्तानी नगरे १६ र १७ जेठमा दिउँसो दुई बजेपछि सञ्चालन हुने ओपीडी सञ्चालनमा असहयोग गर्ने निणर्य पनि उनीहरुको भेलाले गरेको छ ।
नेपालगन्ज मेडिकल कलेजको फ्याकल्टी वेलफेयर काउन्सिल तदर्थ समितिका अध्यक्ष डा. विनोद महासेठकाअनुसार मेडिकल अधिकृतदेखि प्रोफेसरहरु गरी झण्डै १ सय ५० जना बढीले माघदेखि तलबभत्ता पाएका छैनन् ।
अस्पतालका चिकित्सक तथा कर्मचारीले मासिकरूपमा पाउनुपर्ने तलब सेवा माघ महिनादेखि नपाएको र प्रोत्साहन भत्तासमेत रोकिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष महासेठले बताए ।
‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गर्नु रहर हुँदै होइन परिषद्का अध्यक्ष महासेठले भने, ‘अस्पताल प्रशासनले तलब भत्ता नै नदिएपछि के गर्नु ?’
यस्तै, चिकित्सकहरुले ९—१० महिनादेखि इन्सेन्टीभ समेत पाएका छैनन् । डा. महासेठले यस विषयमा स्थानीय प्रशासनलाई पनि जानकारी गराएको बताए । ‘
उनले आफूहरु समाजको वौद्धिक वर्ग भएकाले यो समस्या साधान गर्न मेडिकल कलेज प्रशासनले नै बढी ध्यान दिनुपर्नेमा जोड दिए ।