खजुरामा सुरु भयो पहिलो सुरक्षित पुनस्र्थापना केन्द्र
Saturday, May 28th, 2022, 7:35 pm
Kalpristha
खजुरा गाउँपालिकामा पहिलोपटक पुनस्र्थापना केन्द्र संचालनमा आएको छ । शनिबार औपचारिकरुपमा खजुरा गाउँपालिका वडा नम्बर ३ खजुरा बजरामा सुरक्षित जीवन पुनस्र्थापना केन्द्रको उद्घाटन गरिएको हो ।
उक्त केन्द्रलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारी एवम् रिकभरी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष इन्द्रा कुमारी जिसी, डा. इन्द्रबहादुर भण्डारी, संस्थाका स्थापक अध्यक्ष मित्र हमाल ठकुरी (विक्रम) लगायत खजुराका समाजसेवीहरुले पानसमा दियो बालेर उद्घटन गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले वडास्तर र पालिकास्तरमा नै पहल गरेर सुरक्षित जीवन पुनस्र्थापना केन्द्रको निरन्तरताका लागि आफूले पहल कदमी गर्ने बताए । भण्डारीले गाउँपालिकामा पहिलोपटक स्थापना भएको उक्त केन्द्रले समाजका दुर्वेसनीलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
त्यस्तै रिकभरी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष जिसीले लागूऔषधको बिगबिगीले समाजलाई ठूलो क्षति भएको बताइन् । उनले अन्य बिरामी जस्तै लागूऔषधका प्रयोगकर्ता पनि एक किसिमको बिरामी भएका कारण उनीहरुलाई सुधार्न समाजका सबै वर्ग, व्यक्तिहरुको आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष विक्रमले खजुरालाई परिवर्तन गर्न आफूले सुरक्षित जीवन पुनस्र्थापनाको माध्यामबाट काम गर्न सुरु गरेको बताए । खजुराका स्थायी वासिन्दासमेत रहेका विक्रमले पुनस्र्थापना केन्द्र भन्ने वित्तीकै समाजमा नकारात्मक सोचको प्रविद्धि भएकाले त्यसको परिवर्तनका लागि आफू लागेको बताए । उनले आफ्नो यो अभियानमा सबैलाई सहयोग गर्ने समेत बताए ।
साथै कार्यक्रममा उपस्थित अन्य सहभागीले लागूऔषध दुव्र्यसनीले विश्वव्यापीरुपमै युवापुस्तालाई निस्कृय गर्दै लगेकाले यसको ढाकछोप गर्नु भन्दा सबै व्यक्तिले यसलाई समस्याका रुपमा उजागर गर्नु पर्ने बताएका छन् ।
सुरक्षित जीवन पुनस्र्थापना केन्द्रले लागूऔषध दुव्र्यसनीमा फसेका व्यक्तिहरुको उपचारमात्र नभएर समुदायस्तरमा नै लागूऔषध दुव्र्यसनीविरुद्ध विभिन्न क्रियाकलाप गर्ने जनाएको छ ।
अध्यक्ष विक्रमका अनुसार समाजको टोल टोल, पालिकामा रहेका सबै वडास्तर, विद्यालय तथा विद्यालयमा अध्यनतरत बालबालिकाका अभिभावक समक्ष पुगेर लागूऔषध दुव्र्यसनीविरुद्ध प्रचारप्रसार, अभिमुखीकरण गर्ने संस्थाको योजना रहेको छ ।
सुरक्षित जीवन पुनस्र्थापना केन्द्रले औपचारिकरुपमा शनिबारदेखि संस्थाको उद्घाटन गरे पनि अनौपचारिक रुपमा भने विगत ६ महिनादेखि लागूऔषध दुव्र्यसनिमा फसेका व्यक्तिहरुका उपचार गर्दै आएको छ ।
कार्यक्रम पश्चात विगत १ वर्षदेखि पुनस्र्थापना केन्द्रमा उपचार गराएर लागूऔषध प्रयोगबाट टाडा रहेका व्यक्तिहरुको वार्षिक उत्सव मनाइएको छ ।