जहाज खोज्न मौसम बाधक
Sunday, May 29th, 2022, 12:44 pm
Kalpristha
पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीमा मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहानैदेखि मुस्ताङसहितका उच्च पहाडी र हिमाली भागमा बदलीको अवस्था छ । अपराह्नदेखि मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको छ ।
घाँसाका स्थानीयका अनुसार त्यहाँ बादल अहिले लागिरहेको छ र पानी पनि परिरहेको छ । हिमाली र उच्च पहाडी धेरै भागमा मौसमबारे सूचना दिने स्टेशनहरु प्रयाप्त छैनन् । त्यसैले सूचना संकलनमा समस्या हुने गरेको मौसमविदहरु बताउँछन् ।
पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ । तर मोसम खराबका कारण हेलिकोप्टर परिचालन हुन नसकेको नागरिक उड्ययन प्राधिरणले जनाएको छ ।
जहाज खोजी कार्यका लागि पोखरामा प्रभु एयरलाइन्सको विमान स्ट्याण्डबाइ रहेको छ भने मुस्ताङमा पनि अर्को हेलिकप्टर स्ट्याण्डबाइ रहेको छ ।
मुस्ताङको लेते, टिटी, नाउरीकोटलगायतका स्थानमा विमान दुर्घटना भएको आशंका गरिएको छ ।
आइतबार विमान १० बजेर १५ मिनेटमा पोखराबाट जोमसोमका लागि टेकअफ भएको थियो । तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएपछि सम्पर्कबिहीन भएको थियो । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
यस्तै विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।