तारा विमान दुर्घटना : सबै यात्रुको मृत्यु
Monday, May 30th, 2022, 12:41 pm
Kalpristha
आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको तारा एयर विमानका सबै यात्रुको मुत्यृ भएको छ । विमानमा यात्रा गरेका चालक दल ३ जनासहित २१ जनाको मृत्यु भएको हो । उक्त विमानमा २ जना जर्मनी, ४ जना भारतीय र १३ जना नेपाली रहेका थिए ।
मृत्यु हुनेमा विमान क्याप्टेन प्रभाकर घिमिरे, सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा रहेकी छिन् । यात्रुहरुमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेका छन् ।
उक्त तारा एअरको ९ एन एईटी विमान सोमबार बिहान थासाङ गाउँपालिका-२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको थियो ।

मृतक क्याप्टेन प्रभाकर घिमिरे
आइतबार बिहान पोखराबाट जोमसोमका लागि टेकअफ गरेको तारा एयरको ९ एनएइटी ट्विनअटर जहाज जोमसोम नपुग्दै सम्पर्कविहीन भएको थियो । बिमान १० बजेर १५ मिनेटमा जोमसोममा अवतरण हुनु पर्ने विमान मुस्ताङ जिल्ला छिरेपछि सम्पर्कविहीन भएको हो ।
आइतबार बिहान समिट एयरको विमान ९ बजेर ५३ मिनेट र तारा एयर विमान ९ बजेर ५५ मिनेट अर्थात ३ मिनेटको फरकमा पोखराबाट जोमसोमका लागि उडेका थिए । जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार दुईटै विमानले मुस्ताङको आकाशमा पुगेपछि विमानस्थलमा सम्पर्क गरेका थिए । समिटको विमान जोमसोम विमानस्थलमा अवतरण गरेपछि तारा विमानसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
फ्लाइटराडारको तथ्यांकअनुसार विमान हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो । जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको थियो ।

मृतक सहचालक उत्सव पोखरेल
विमान सम्पर्कविहीन भएपछि नेपली सेनाको र निजी कम्पनीको हेलिकप्टर गरी दुईवटा हेलिकप्टरलाई परिचालन गरिएको थियो । जसमा नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको थियो भने मुस्ताङमा रहेको फिस्टेल एअरको हेलिकप्टरलाई खोजीका लागि परिचालन गरियो ।
निजीस्तरको हेलिकप्टरलाई मुस्ताङमै भएका कारण पहिला फिस्टेल एअरको हेलिकप्टरलाई खोजी कार्यमा परिचालन गरियो । तर उक्त हेलिकप्टरलाई मौसमी खराबका कारण मुस्ताङ नै फर्किन पर्यो ।
बादल र पानी परेका कारण हेलिकप्टरले हराएको विमान खोज्न असमर्थ रह्यो ।
त्यसपछि विमान खोजी कार्यक्रममा नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरदेखि पैदल टोली परिचालन गरियो । सम्पर्कविहीन भएको तारा एअरको नाइन एन-एइटी जहाज खोज्न गएको हेलिकोप्टर मौसम खरापका काराण फर्किए पछि नेपाली सेनाको हेलिकोप्टरदेखि पैदल टोली परिचालन गरिएको थियो ।
स्थलमार्गबाट पनि सुरक्षाकर्मी र हेलिकोप्टरमा मध्यकमाण्ड पोखराका जर्नेलसहितको टिम घटनास्थलतर्फ परिचालन गरियो । मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरिएको हो ।
ताराको विमान सम्पर्कविहीन भएता पनि विमान क्याप्टेन प्रभाकर घिमिरेको मोबाइल भने सम्पर्कमा भएका कारण सोही फोनलाई ट्राक गर्दै मुस्ताङको धौलागिरि हिमाल रेन्ज आसपासका क्षेत्रमा खोजी कार्य जारी राखिएको थियो ।
सम्पर्कविहीन भएको ६ घण्टा पछि मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेकोस्थानीयले खबर गरेपछि जमिनबाट सैनिक टोली त्यतातिर लागेको छ । तर टोली त्यहाँसम्म पुग्न सकेको थिएन् ।
योबाहेक अन्य ठाउँहरु न्याउरेकोट, कोवाङ, लेते, धोडेपानी र टिटितालमा पनि विमानको खोजी कार्य जारी रहेको छ ।
आइतबार बेलुकी ७ बजेसम्म पनि विमान नभेटिएपछि सोमबार बिहानदेखि खोजी कार्य गर्ने गरी स्थागीत भएको थियो ।

मृतक एयर होस्टेस किस्मी थापा