विष्टको निर्देशनमा ढलनालाको सरसफाइ सुरु
Monday, May 30th, 2022, 2:33 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकामा सोमबार (आज) देखि सरसफाइ अभियान सुरु गरिएको छ । नगरपालिकाले सडक छेउमा रहेको ढलनालाको सफाइ सुरु गरेको हो ।
नेपालगन्ज नगरमा रहेको अधिकांश ढलनालाहरुमा फोहोर थुर्पिएको छ भने ढल तथा पानीको निकासमा समस्या देखिएको छ । वर्षातको समयमा पानी निकास नहुनाले सडकमा पानी जम्मा हुने समस्या देखिने गरेको छ ।
नगरपालिकाले नालामा रहेका फोहोरलाई निकालेर सजहरुपमा पानी निकासिका लागि सफाइ अभियानको सुरुवात गरेको हो ।
नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट ढल निकासका लागि बनाइएका नालाहरुमा फोहोर जम्मा भएका कारण पानीको निकास बन्द भएको बताउँछन् । विष्टका अनुसार वर्षातको मौसम सुरु भएका कारण पानी निकासलाई सहज बनाउन नाला सफाइ अभियानलाई तीव्रता दिइएको छ ।
आसन्न वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित भएर आए लगतै प्रमुख विष्ट, उप-प्रमुख कमरुद्दीन राईलगायतको टिमले तत्कालै नाला सफाइ गर्ने निणर्य गरेको थियो । जसअनुसार आइतबार गणतन्त्र दिवशको अवसरमा प्रमुख विष्टको नेतृत्वमा बागेश्वरी मन्दिर क्षेत्रमा सरसफाइ गरिएको थियो ।
विष्ट नगरमा नाला बनाउने काम धेरै भएता पनि त्यसको सरसफाइ भने नभएको बताउँछन् । ‘हामीले सबैतिर नाला त बनायौं । तर त्यसको सरसफाइ नभएकाले सही ढंगले पानीको निकास भएको छैन । त्यसैले पानी पर्नासाथ सडकमा पानी जम्मा हुने समस्या देखिएको छ । सहरको सुन्दरता कायम राख्न सरसफाइ अति जरुरी पनि छ,’ विष्टले भने । विष्ट नेपालगन्जवासीलाई डुबानको समस्याबाट मुक्त गर्न ढलनाली सफा गरिएको बताउँछन् ।
.
सोमबार नेपालगन्जको पुष्पलाल चोक, भित्री ढल नालालगायतका क्षेत्रमा सफाइ गरिएको छ । सरसफाइ योजनाअनुसार नगरमा रहेका साना, ठूला सबै नालाको सफाइ गरिने छ ।