नेपालगन्जको कार्यपालिकामा ५ महिला र ३ पुरुष निर्वाचित
Monday, May 30th, 2022, 6:18 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाको कार्यपालिका सदस्यमा ५ महिला र ३ पुरुष निर्वाचित भएका छन् । सोमबार ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनबाट नेपाली कांग्रेसका ३ जना, जनता समाजवादी पार्टी (जसपा) का ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना निर्वाचित भएका हुन् ।
महिला सदस्यहरुमा कांग्रेसबाट अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र संगिता रेग्मी, जसपाकी शोभा खटिक र राप्रपाकी विना थापा विजयी भएका छन् । यस्तै ३ जना निर्वाचित हुने दलित वा अल्पसंख्यक सदस्यमा जसपाका बसन्त कनोजिया, मोहम्मद मुजम्मिल हुसैन हलवाई र राप्रपाका विक्रम चिडिमार विजयी भएका छन् ।
कार्यपालिका सदस्य निर्वाचनमा एकातिर कांग्रेस, माओवादी, राप्रपा र नेकपा एकीकृत समाजवादी (एस) बीच तालमेल भएको थियो भने अर्कोतिर जसपा र नेकपा एमालेबीच गठबन्धन थियो । यता कांग्रेसका ४२, माओवादीका ११ र राप्रपाका १४ जना गरी ६७ मतदाता थिए भने उता एमालेका २५ जना र जसपाका २५ जना जनप्रतिनिधि गरी ५० जना मतदाता थिए ।
कांग्रेस, माओवादी, राप्रपा र नेकपा एस गठबन्धनको स्पष्ट जित्ने संख्या हुँदाहुँदै पनि जसपा ३ जना सदस्य जित्न सफल भएको छ । उनीहरुले कांग्रेस-माओवादी-राप्रपा र नेकपा एस गठबन्धनबाट जसपाका उम्मेदवारहरुले मत तानेका हुन् ।
नेपालगन्जमा नगर प्रमुख र उपप्रमुख सहित २३ वटा वडाबाट ११७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । यिनै जनप्रतिनिधिहरुले कार्यपालिका सदस्य निर्वाचनमा मतदान गरेका हुन् । नेपालगञ्जको नगर कार्यपालिकाले अब पूणर्ता पाएको छ । ३३ सदस्यीय कार्यपालिकामा जसपाका १०, कांग्रेसका ९, एमाले ५, माओवादी ४ र राप्रपाका ५ जना भएका छन् । नगर कार्यपालिका वोर्डमा कसैको पनि स्पष्ट बहुमत पुगेको छैन ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस र सजपाको गठबन्धन रहेको थियो । प्रमुखमा कांग्रेसका प्रशान्त विष्ट र उप-प्रमुखमा कमरुद्दीन राई निर्वाचित भएका हुन् ।