पशुपालनमा आत्मनिर्भर बन्दै नेपालगन्जका किसान
Tuesday, May 31st, 2022, 11:25 am
Kalpristha
नगरले यो वर्षमात्रै ४६ गाई र ५३ भैसी गरी ९९ पशुहरुको कृतिम गर्भाधारण गरेको छ । त्यस्तै अघिल्लो वर्षमा ४० भैसी र ५० गाईमा कृतिम गर्भाधारण गरिएको थियो ।
विक्रम बुढाक्षेत्री
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २० मनिकापुरकी फूलमाया रोकाया (नाम परिवर्तन) जेठ ९ गते अपरान्ह १ बजे नेपालगन्ज उप-महानगरपालिकाको पशु विकास शाखामा आइपुगिन् । आफूले पालेका बाख्राहरुका लागि भिटामिन, जुकालगायतका औषधि लिन उनी आएकी थिइन् ।
६ वटा बाख्रा र पाठी पालेकी रोकायाले विगत देखिनै बाख्रा पालन गर्दै आएकी छन् । बाख्रा बिरामी हुने, मर्ने जस्ता मस्याले अहिले उनले कम बाख्रा पालेको बताइन् ।
नगरले पाशुपालकहरुका लागि नियमित खोप तथा औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । सोही अनुरुप उनले पनि आफ्ना बाख्राका लागि चाहिने औषधिसहितको निवेदन पशु विकास शाखामा दिन आएकी हुन् । तर रोकायाले माग गरेभन्दा धेरै औषधि पशु शाखाले उनलाई उपलब्ध गरायो ।
नेपालगन्ज उप-महानगरपालिकाको प्रशासनिक भवनदेखि लगभग ८/९ किलोमिटरको दूरीमा रोकायाको घर पर्दछ । उनलाई नगरमा औषधि तथा खोपहरु लिन आउन असहज हुने भएकाले पशु विकास शाखाले अतिरिक्त औषधि उपलब्ध गराएको हो ।
पशु शाखाका प्रमुख लक्ष्मी शाही टाढाबाट आउने पशुपालकका लागि उनीहरुले माग गरेबमोजिम वा केही महिनालाई पुग्ने गरी औषधि उपलब्ध गराइने गरेको बताउँछिन् । ॅनेपालगन्जका केही वडा हरु धेरै टाढा-टाढा छन् । विचरा पशुपालकहरु यस्तो घाम-घाममा आउनुहुन्छ । त्यसैले आएको बेला केही महिनालाई पुग्ने गरी उपलब्ध गराउँने गरेका छौं,’ शाखा प्रमुख शाहीले बताइन् ।
नेपालगन्जका वडा नम्बर १३, १५, १९, २०, २१, २२, २३ लगायतका वडाहरु अरु वडाको तुलनामा लामो दूरीमा रहेका छन् भने ती वडाहरुमा पशुपालकको संख्या धेरै रहेको छ । जसमा वडा नम्बर २० पशुपालन पकेट क्षेत्रका रुपमा सूचिकृत गरिएको छ । वडा नम्बर २० मा भैसी पालन गर्ने किसानहरुको संख्या धेरै रहेको छ ।
उप-महानगरपालिकाले आर्थि वर्ष २०७८/०७९ मा पशु उपचार सेवा औषधिका लागि ६ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसअनुसार नगरले औषधि खरिद गरेर पशुपालकलाई वितरण गर्ने गरेकोछ । नगरले किसानलाई जुका, भिटामिन, किराजुर्मालगायतका औषधि वितरण गर्दै आएको शाहीले बताइन् ।
नेपालगन्ज उप-महानगरपालिकाले नगरमा भएका पशुपालकलाई औषधिमा वितरणबाहेक पशु स्वस्थ्य शिविर पनि संचालन गर्दै आएको छ । जसका लागि यो वर्ष नगरले ३ लाख रुपैयाँ विनियोजन गरेको थियो । यो वर्षमात्रै शिविरबाट ७ सय ७६ पशु तथा पन्छीहरुको उपचार गरिएको छ ।
नगरले संचालन गर्ने शिविर किसानहरुको मागका आधारमा रहने गरेको शाहीले बताइन् ।
शिविरसँगै कृतिम गर्भाधारणको कार्यक्रम पनि नगरले संचालन गरेको छ । नगरले यो वर्षमात्रै ४६ गाई र ५३ भैसी गरी ९९ पशुहरुको कृतिम गर्भाधारण गरेको छ । त्यस्तै अघिल्लो वर्षमा ४० भैसी र ५० गाईमा कृतिम गर्भाधारण गरिएको थियो ।
नगरले पशुका क्षेत्रमा गरेको अर्को महत्वपूणर् काम भनेको रेविज नियन्त्रण पनि हो । शाहीकाअनुसार नेपालगन्ज उप-महानगरपालिकाले हरेक वर्ष छाडा कुकुरको व्यवस्थापन तथा नियन्त्रण गर्नका लागि कार्यक्रम नै संचालन गरेको छ । नगरपालिकाको सहयोगमा एनिमल नेपालको टिमले नेपालगन्जमा रहेका छाडा कुकुरहरुलाई रेविजको भ्याक्सिन लगाउने तथा बन्ध्याकण गर्ने काम गरी रहेको छ ।
‘नेपालगन्जका समुदायमा धेरै छाडा कुकुरहरु रहेका छन् । ती कुकुरहरुमा न कुनै भ्याक्सिन लगाएको हुन्छ न कसैले रेखदेख गरेको हुन्छ । उनीहरु अन्य जंगली जनावरको पनि सम्पर्कमा आउने गर्छन् ।
जसको कारण सहजै समुदायमा रेविज फैलन सक्छ । त्यसैले हरेक वर्ष हामीले कुकुर बन्ध्याकरण शिविर संचालन गर्दै आएका छौं,’ प्रमुख शाहीले भनिन् ।
नेपालगन्जले हरेक वर्ष संचालन गर्ने कुकुर बन्ध्याकरण शिविरबाट २ सय कुकुरहरुको उपचार गरिन्छ । यो वर्षमात्रै नेपालगन्जले भाले कुकुर ६८ र पोथी कुकुर १ सय ३६ वटा गरी २ सय ४ कुकुरको उपचार गरेको छ ।
शाही कुकुर बन्ध्याकरण शिविर समुदायले गर्दा नै सफल भएको बताउँछिन् । उनी समुदायका मानिसहरु नै आफैं यस शिविरका लागि आकर्षण हुने र समुदायमा भएका कुकुरका बारेमा उनीहरुले नै जानकारी दिने बताउँछिन् ।
यो शिविर संचालन गर्न नेपालगन्ज उप-महानगरपालिकाका निवर्तमान मेयर डा. धवल शमशेर राणा र उप-मेयर उमा थापामगरले पनि जोड दिएका थिए । छाडा कुकुरको टोकाइका घटना मेयर र उप-मेयर समक्ष पुगेपछि यसको समाधानको उपाय खोजिएको हो ।
नेपालगन्जमा उक्त शिविर संचालन भएपछि रेविजको जोखिममा नियन्त्रण आएको मगर बताउँछिन् ।
उप-महानगरपालिकाले कुकुर बन्ध्याकरण शिविर संचालन गर्न ५ लाख रुपैयाँ बजेट छुट्याउने गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्जमा विगत २ वर्षदेखि रेविज शून्य रहेको छ । सम्बन्धित संघ-संस्थाले जिल्ला स्वास्थ्य कार्यालयलाई दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाभरी १४ वटा रेविजका बिरामी अस्पतालमा भर्ना भएका थिए । जसमा १ जनामात्र नेपालगन्ज उप-महानगरपालिकाको रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत विकल्प चौधरीले जनाएका छन् ।
उनका अनुसार तथ्यांकमा आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ , २०७८/०७९ मा नेपालगन्ज उप-महानगरपालिकामा शून्य रेविजका बिरामी रहेका छन् ।
त्यस्तै नगरले छाडा पशुचौपायको व्यवस्थापनका लागि काञ्जी हाउसको पनि स्थापना गरेर पशुचौपायाको व्यवस्थापन गर्दै आएको सर्ववित्तितै छ । नगरले यो वर्ष काञ्जी हाउसका लागि ३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
काञ्जी हाउसका प्रमुख पवनकुमार कनौैजियाका अनुसार लगभग ४ विघा क्षेत्रफलमा रहको काञ्जी हाउसमा गाई, गोरु, बहर, कोरेली गरी ८४ वटा, बाच्छाबाच्छि १० वटा र १ वटा घोडाको बछेडो रहेको छ ।
नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उप-प्रमुख कमरुद्दीन राईले पनि गत सोमबार काञ्जी हाउसको अवलोकन गरेर काञ्जीको स्थरउन्नती गर्ने बताएका छन् ।
नगरले माछापालनका लागि पनि नेपालगन्जमा रहेको वाटरपार्कमा ९० हजार ३० वटा माछाका भुराहरु हालेको छ । जसमा सिल्भर ३५ हजार, रहुनैनी २५ हजार, कमल २५ हजारलगायतका माछाहरु रहेको छन् ।
रानी तलाउँमा पनि प्रसस्तमात्रामा माछा पालन गरिएको छ । र कान्तितालमा पनि माछा पालन गर्ने नेपालगन्जको योजना रहेको छ ।
यसका अलवा नगरले महामारीमा रोग व्यवस्थापन गर्न १ लाख २० हजार रुपैयाँको आपतकालिन कोष पनि खडा गरेको छ । साथै १ लाख रुपैयाँको भ्याक्सिनेशन कार्यक्रम पनि वार्षिकरुपमा संचालन गर्दै आई रहेको छ ।