कारागारको व्यवस्थापन कमजोर : छानविन समिति
Tuesday, May 31st, 2022, 6:49 pm
Kalpristha
कालपृष्ठ
रोल्पा कारागारमा मृत अवस्थामा भेटिएका नेपालगन्ज उप–महानगरपालिका–२, दैलेखी बंगलाका २० वर्षीय मृतक सुन्दर हरिजनले कारागार प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण अर्कैको सजाय काट्दै आएको छानविन समितिले जनाएको छ ।
हरिजनको मृत्युपछि गठित छानविन समितिको अध्ययन प्रतिवेदनमा कारागारको व्यवस्थापन कमजोर रहेका कारण हरिजनले अर्कैका नाममा सजाय काटिरहेको उल्लेख गरिएको छ ।
त्यस्तै पाँच सदस्यीय समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा मृत्यु र अर्कैको सजाय भुक्तान गरिरहेको घटनामा कर्मचारीको भने संलग्नता नभेटिएको उल्लेख गरिएको छ । सुन्दर हरिजनको मृत्यु र अर्कैको सजाय काट्न जेल बसेको घटनामा अहिलेसम्म उनीहरूको आपसी मिलेमतो मात्र देखिएको छानबिन समितिले जनाएको छ ।
उता पीडित पक्षले भने छानविन पूरा नभएको गुनासो गरेका छन् ।
सुर्खेत जिल्लाको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाहको नामबाट कैद भुक्तान गरिरहेका हरिजनको रोल्पा कारागारमा जेठ ४ गते बुलेकी पौने सात बजे कारागारको शौचालयमा झुन्डिएको अवस्थामा रहेका थिए । सो घटना बाहिर आएपछि कारागार प्रशासन भित्रको लापरबाही पनि बाहिर आएको थियो ।
हरिजनको घटना छानविन गर्न कारागार व्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईंको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाका एक–एक जना सदस्य छन् ।
समितिले नेपालगन्ज र रोल्पा पुगेर आवश्यक अनुसन्धान तथा छानविन गरेको थियो ।
सुन्दर हरिजनलाई चोरी मुद्दामा १६ वर्षकै उमेरमा काराबास सजायको फैसला गर्ने जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीशले पनि कानुनको बर्खिलाप हुनेगरी निर्णय गरेको भन्दै आलोचना हुन थालेको छ । अधिकारकर्मीहरूले उनीहरूमाथि पनि छानबिन हुनुपर्ने माग राखेका छन् ।
सुर्खेतका विजयविक्रम शाहलाई आपराधिक लाभ मुद्दामा जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो । त्यस्तै सुन्दर हरिजन एउटा ‘चोरी’ र अर्को ‘नकदजनी’ (मोबाइललगायत सामग्री चोरी) मुद्दामा दोषी ठहर गरेर उनलाई सजाय तोकिएको थियो ।